विद्यार्थीका 'बाबा सर' जो मितले दिएको मादलले रंगमञ्चका गुरु बने
सुर्खेत : सेतै फुलेका दारी, लट्टा परेको कपाल, पातलो जिउ, मिलनसार र हँसिलो स्वभावका ६८ वर्षीय प्रेमदेव गिरी सानै उमेरदेखि संगीतमा रुचि राख्थे।
२०१६ सालमा १ कक्षा भर्ना भएका प्रेमदेवले कक्षा १० सम्मको अध्ययन गरे। त्यसपछि विभिन्न समस्याका कारण बीचमै पढाइ रोक्नुपर्ने अवस्था आयो। तर, कहाँ र कसरी सांगीतिक रुचि पूरा गर्ने भन्ने केही उपाय नै फुरेन उनलाई।
त्यो समयमा विभिन्न रोग र अकालबाट ज्यान जोगाउनका लागि आफूभन्दा 'तल्लो' जातिसँग मितेरी साइनो जोड्ने चलन थियो।
सोही अनुसार उनले बादी समुदायसँग मित लगाए। प्रेमदेवलाई मितले उपहार स्वरुप मादल दिए। त्यही मादल नै उनको सांगीतिक क्षेत्रको महत्वपूर्ण सारथी बन्यो।
आठ वर्षको उमेरदेखि नै प्रेमदेवलाई गीत-संगीतमा रुचि थियो। मादल पाएपछि त रात-दिन बजाउन थाले। त्यसबाट नै उनले बाद्यवादनमा आफूलाई निखारे।
‘त्यो बेलामा विभिन्न रोग र अकालमा ज्यान नजाओस् भनेर तल्लो भनिने जातिसँग मित लगाउने चलन थियो। सोही अनुसार मैले पनि बादी समुदायका एक जनासँग मित लगाएँ,’ उनले भने, ‘मितज्यूले मलाई राम्रो आवाज आउने मादल उपहार दिनुभयो। मेरा लागि त्यही मादल नै सांगीतिक क्षेत्रको महत्वपूर्ण सारथी बन्यो।’
प्रेमदेवको जीवनमा पढाइ र संगीत एक खोलाका दुई किनार जस्तै भएर जोडिएका छन्। २०४९ साल चैत २० गते एसएलसी थियो। चैत २४ गतेबाट १४ अञ्चलको नृत्य प्रतियोगिता काठमाडौंमा थियो। भेरी अञ्चलको टिम लिडर भएर उनी सुर्खेतबाट काठमाडौं जानुपर्ने भयो।
उनलाई समस्या पर्यो, नृत्य प्रतियोगितामा जाने कि परीक्षा दिने। अन्तत: नृत्य प्रतियोगितामा जाने निर्णय गरे।
‘सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको अञ्चलस्तरीय लोक नृत्य प्रतियोगितामा भेरी अञ्चलको नेतृत्व गर्दै भाग लिएको हाम्रो टिम प्रथम भयो। त्यो प्रतियोगितामा प्रथम भएपछि मेरो जागिर पनि राष्ट्रिय नाचघरमा सुरु भयो,’ प्रेमदेवले सुनाए, ‘त्योसँगै रेडियो नेपाल तथा विभिन्न समूह र व्यक्तिसँग सहकार्य गरेर काम गर्ने अवसर पाएँ।’
त्यसपछि उनको सांगीतिक सफलताको बाटो अगाडि बढ्यो। प्रेमदेवले १६ वर्षसम्म राष्ट्रिय नाचघर र रेडियो नेपालसँगै काठमाडौंमा रहेका विभिन्न ठूला स्कुलदेखि क्याम्पससम्म सांस्कृतिक कार्यक्रममा भाग लिए।
नाचघरमा काम गर्दा मासिक दुई सय रुपैयाँबाट सुरु गरेका थिए भने जागिर छोड्दा ९ हजार ५ सय रुपैयाँ तलब पुगेको थियो।
घर-व्यवहार र छोराछोरीलाई पढाउन २०४५ सालमा सुर्खेत फर्किए प्रेमदेव।
सुर्खेतमा संगीतको राम्रो माहोल थिएन। तर, २०४६ सालमा उनी इगरब्रिज बोर्डिङ स्कुलमा संगीत सिकाउने अतिरिक्त शिक्षकका रुपमा नियुक्त भए। त्यहाँ पनि १२ वर्षसम्म प्रेमदेवले विद्यार्थीलाई संगीत मात्र सिकाएनन् व्यfवहारिक ज्ञान र संस्कृतिका बारेमा समेत बुझाए।
२०५८ सालबाट उनको अगुवाइमा लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले बागिना समूह दर्ता गरेर संगीत सिक्ने थलोका रुपमा विकसित गरे। त्योसँग २०५८ सालबाटै वीरेन्द्रनगर- ३, कालागाउँमा रहेको इन्टरनेसनल कोअपरेटिभ एकेडेमीमा संगीत शिक्षकका रुपमा काम गरिरहेका छन्।
बाहिर गीत गाएर, मादल बजाएर मात्र संस्कृतिको जगेर्ना नहुने हुँदा विद्यालयमै संगीत सिकाउन थालिएको उनी बताउँछन्।
प्रेमदेव प्रत्येक विद्यार्थीलाई संगीत कक्षा अन्तर्गत मादल, हार्मोनियम, नृत्यकला, गायन सिकाउँछन्। स्कुलमा पढ्ने सानादेखि ठूलासम्म सबैले उनलाई ‘बाबा सर’ भनेर बोलाउँछन्।
उनले नाचघरमा छँदा दर्जनौं नाटक र गीति-नाटकमा वाद्यवादकका रुपमा काम गरे। मुकुन्द इन्दिरा अमरसिंह (बालकृष्ण सम), मसान (गोपालप्रसाद रिमाल) हरिशचन्द्र, अन्धवेग, हाँस्तै जल्नुपर्छ, बादलले छोपेको घाम, हाम्रो पनि कथा छ, यमपुरीमा जिउँदो मान्छे, लगायतका नाटकमा अभिनय गरे प्रेमदेवले।
कतै बटुवाको भूमिकामा देखा परे त कतै सैनिकका रुपमा। कतै सारंगी रेट्ने गन्धर्वदेखि घरेलु कतै नोकरसम्मको भूमिका निर्वाह गरे। टेलिसिरियल ‘सनै रोइरहेछ’ र चलचित्र ‘बन्धकी’ मा नायिकाको बाबुको अभिनय गरे। उनले नखेलेका नाटक सायदै बाँकी होलान्।
लोकबाजा त्यसमा पनि मुल रूपमा उनी मादल बादक हुन्। मादलका ओस्तादको उपमा पाएका उनी विभिन्न रङ्गमा घण्टौंसम्म मादल बजाउँदा पनि थाक्दैनन्। बाँसुरीमा पनि उनी उत्तिकै सक्रिय छन्।
प्रेमदेवले सयौं लोकगीत संकलन गरेर रेकर्ड गरेका छन्। ‘सरर्र मलेवा...घुम्छ बादलमुनि मायालै, छ्याम्म छ्याम्म कट्टीका उकालो लाग्या परालका बिटा, सुर्खेतमै सालिना बुलबुले ताल, जाम माया बुलबुले। ४० को दशकसम्म उनले संकलन गरेका केही चर्चित गीत हुन् यी।
जीवनका विभिन्न उकाली-ओराली पार गर्दै उनले सांगीतिक क्षेत्रमा ५५ वर्ष कटाइसकेका छन्।
केही वर्षअघि प्रेमदेवलाई संगीत नाट्य प्रज्ञा राष्ट्रिय पुरस्कारबाट लोक संगीततर्फ वरिष्ठ कलाकारको रुपमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठान १ लाख रुपैयाँ सहित राष्ट्रपतिबाट सम्मान समेत गरिएको थियो।
उनले सिकाएका सयौं विद्यार्थी सांगीतिक क्षेत्रमा अगाडि बढी चर्चित समेत बनेका छन्।
‘आफ्नो गाउँ-ठाउँमा भएका भाषा, कला-संस्कृति, लोक बाजा, लोक संगीतको संरक्षण गर्न प्रवर्द्धन गर्नको लागि संगीतले ठूलो योगदान दिन्छ,’ प्रेमदेवले भने, ‘आफ्नो भेगका चलन-चल्तीका गीत-संगीत विशेषगरी स्थान चिनारी, लय चिनारी, भूगोल चिनारीका साथै पहिचानलाई प्राथमिता दिनु कालाकारको दायित्व हो।’
राज्यले लोक-संगीतको संरक्षण गर्न नीति-नियम बनाए पनि कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ।
जेठ १२, २०७९ बिहीबार ०६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।