निर्वाचन आयोगले अदुरदर्शीतका कारण ठूलो संख्यामा मत बदर : नवनिर्वाचित मेयर आचार्य
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगले अदुरदर्शीतका कारण ठूलो संख्यामा मत बदर भएको बताएका छन्। आचार्यले बुधबार पोखरामा आयोजित विजय उत्सव समारोहमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपत्रका चुनाव चिन्हलाई सही तरिकाले राख्ने काम नगरेकाले धेरै मत बदर भएको आरोप लगाए।
उनले भने,‘निर्वाचन आयुक्तले निर्वाचनमा जनतालाई मतदान गर्न सहज हुने प्रक्रियालाई अपनाएन। आयोगका प्रमुख थपलियाले सार्वजनिक कार्यक्रममा एउटा प्रतिबद्धता जनाउने र मतपत्रको नमुना बनाउने बेला जनतालाई अलमल पार्ने अमूर्त खालको मतपत्र तयार गरियो। त्यसकै कारणले ठूलोमात्रमा मत बदर भयो।’
उनले आयोजले योजनाबद्ध षड्यन्त्र रचेर योजना बनाएको बताउँदै ठूलो संख्यामा मत बदर भएपछि आयुक्त थपिलियाले नैतिक जिम्मेवारी लिन पर्छ कि पर्दैन भनेर प्रश्न उठाए। उनले भने,‘जनतालाई अलमल हुने र द्विविधामा पार्ने गरी योजनाबद्ध रूपमा षड्यन्त्र रचियो। प्रमुख आयुक्तले यही खालको रवैया, गतिविधि र भाइबन्दी गर्ने हो भने पदमा बसिरहन नैतिक अधिकार छैन।’
नवनिर्वाचित मेयर आचार्यले तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको बताउँदै प्रमुख आयुक्त थपलियाको कार्यक्षमता माथि प्रश्न उठेको बताए। उनले निर्वाचन आयोगकै रवैयाका कारण ठूलो संख्यामा मत बदर हुँदा पोखरामा गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी कोपिला रानाभाट पराजय हुन परेको उल्लेख गरे। उनले भने,‘ आयोगको रवैया नभएको भए पोखरामा मै ले २७ हजार बढी मतान्तरले चुनाव जित्ने अवस्था थियो। गठबन्धनका उपमेयरको पनि १६ हजार मतान्तर हुने थियो। पोखरामा मात्र २० हजार भन्दा बढी मत हाम्रो नै बदर भएको छ। आयोगले मतदातालाई आवश्यक शिक्षा दिएको भए पनि यो अवस्था आउने थिएन।’
आचार्यले बिहिबारदेखि आफूहरुको समयसीमा सुरु हुने बताउँदै पोखराको विकास र समृद्धिका लागि निर्वाचित जनप्रतिनिधिहरूले दिन गनेर काम गर्नु पर्ने बताए। उनले बधाई र फेद गादामा महिनौँ बिताउने पक्षमा आफू नरहेको बताउँदै अब, महानगरमा जनअपेक्षा अनुसारका कामलाई छिटोछरितो बनाउनका लागि योजना बनाएर तत्कालै काम गर्ने उनको भनाइ छ।
आचार्यले महानगरका ३३ वटा वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुख लगायतको तीन दिन क्लोज क्याम्प राखेर छलफल गर्ने बताए। पोखराको सभागृहबाट सुरु भएको विजयी र्याली महेन्द्रपुल हुँदै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेको सभामा परिणत भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, माओवादीका प्रदेश सांसद दीपक कोइराला लगायतको उपस्थिति रहेको थियो।
जेठ ११, २०७९ बुधबार १९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।