फिल्म चलाउन बालेन र मिदीभाइको प्रयोग
काठमाडौँ : बालेन साह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुनुमा कलाकारहरूको पनि राम्रो भूमिका छ। मतदाताहरूलाई बालेनको पक्षमा मत हाल्न उनीहरूले मौन अवधिमा निर्वाचन संहिता समेत उलङ्घन गरेर भोट मागिदिएका थिए। त्यसमा स्वस्तिमा खड्का पर्ने नै भइन्।
अहिले बालेन सर्वाधिक चासो र चर्चामा छन्। अब फिल्म चलाउन बलात्कारको आरोपमा जेलमा रहेकालाई त 'तिमी मेरो मुटुमा छौँ' भन्दै नौटङ्की गर्ने फिल्मी समाज हो हाम्रो। यस्तोमा बालेनै सहभागी गराउन पाए कसले गराउँदैन र।
अहिले बालेन स्वस्तिमाको त्यो गुन उनको फिल्मको प्रचारमा सहभागी भएर तिरिरहेका छन्। उनी स्वस्तिमाको अभिनय गरेको फिल्म 'चिसो मान्छेको' टेलर लन्च कार्यक्रममा सहभागी भए। अब अहिलेको हटकेक मेयर बालेनै कार्यक्रममा सहभागी भएपछि फिल्मको प्रचारले हल्का हाइप क्रियट त पक्कै गर्ला नै।
ओहो बालेनले टेलर हेरेको फिल्म भनेर भोट बर्साएझैँ दर्शक पनि हलमा बर्सिने पो हो कि भन्ने लोभ त हुने नै भयो नि। तर नेपाली दर्शक कतिसम्म क्रूर छन् भन्ने त यस अगाडिका धेरै घटनाले पुष्टि गरिसकेकाले बालेन टेलर लन्चमा आएकै भरमा चिसो एस्ट्रेको व्यापार तातो त के होला र।
कार्यक्रममा सहभागी भएर बालेनले स्वस्तिमाको गुन तिर्दै उनको प्रशंसा त गरे नै फिल्ममा लाग्दै आएको ट्याक्स हटाउन के गर्न सकिन्छ भनेर विचार गर्ने आश्वासन समेत दिएर आए। बालेनले प्रशंसा गरिरहँदा स्वस्तिमा भने मोवाइलमै घोत्लिरहेकी थिइन्।
फिल्म राम्रो बनेको छ भने दर्शकका लागि न बालेन चाहिन्छ न अन्य फन्डा नै। फिल्म निर्माण टिम कतिसम्म फण्डामा उत्रिएको छ भन्ने अर्को उदाहरण त आफ्नो आफन्तको म्यादी पोसाकको दुरुपयोग गरेर प्रहरी हिरासतमा बसेर आएका 'मिदीभाई'को प्रयोग पनि देखाउँछ नै।
म्यादी पोसाक लगाएर साथीहरूलाई सम्बोधन गर्दै' तँ नडरा न केटाहरू तेरो दाइ मिदी भइसक्यो' भन्ने भिडियो टिकटकमा राखेर भाइरल भएसँगै हिरासतको चिसो हावा समेत भेटेका उनी हिरासतमुक्त भएपछि तीनै साथीहरू भेट्न नआएको भन्दै गरेको गुनासो पनि भाइरल भयो।
ती भाइरल'मिदीभाई' अहिले काठमाडौँमा छन्। स्वस्तिमा पनि उनको फ्यान। त्यसमा अब दयाहाङ किन पछि पर्थे र उनले ती मिदीभाईलाई भाइरल भिडियोकै शैलीमा दर्शकहरूलाई ' कबड्डी-४' हेर्न हलसम्म आउन आग्रह गर्न लगाए अनि आफू पछाडि उभिएर खिस्स हाँसे।
मिदीभाइले म सुध्रिसके भन्दै थिए। अब यी फिल्मकर्मीको फन्दामा परे भने के सुध्रन देलान् र !
जेठ ११, २०७९ बुधबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।