मनोज पाण्डे विरुद्ध प्रमाण जुटाउँदै प्रहरी : घटनाका २ साक्षीको बयान पीडितको पक्षमा

मनोज पाण्डे विरुद्ध प्रमाण जुटाउँदै प्रहरी : घटनाका २ साक्षीको बयान पीडितको पक्षमा

काठमाडौँ : सौन्दर्य प्रतियोगितामा संलग्न प्रतियोगीलाई पार्टीमा सहभागी गराउन होटल एभरेस्टमा बोलाएर बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मनोज पाण्डे विरुद्ध प्रहरीले २ बलियो प्रमाण सङ्कलन गरेको छ।

पीडित युवतीको आमाले प्रहरीमा दिएको जाहेरी र पीडित युवतीले सामाजिक सञ्जालमा उल्लेख गरेका २ व्यक्तिले प्रहरीलाई आठ वर्ष अगाडिको घटनाबारे बयान दिएका छन्। कार्यक्रमकी कोरियोग्राफर माल्भिका सुब्बा र युवतीको पहिलो मोडलिङको तस्बिर खिच्ने श्रीधर पौडेलले प्रहरीलाई दिएको बयानले युवतीले गरेको दाबी पुष्टि गर्न बलियो प्रमाण हुने अनुसन्धान स्रोतले उकेरालाई बतायो।

प्रहरी परिसर काठमाडौँले सुब्बासँग मङ्गलवार र पौडेलसँग बुधवार घटनाबारे जानकारको रूपमा बयान लिएको थियो। पीडित युवतीले घटनाको छ महिनापछि सुब्बालाई फोन गरेर जानकारी गराएको र पौडेल पाण्डेको कार्यालयमा युवतीले घटनाबारे बताउँदासँगै रहेको र घटना सुनिसकेपछि पौडेलले पाण्डेलाई जुत्ताले हानेको जाहेरीमा उल्लेख गरेकी थिइन्।

तर सामाजिक सञ्जालमा भने सुब्बा र पौडेलनै घटनामा संलग्नझैँ प्रचार भएको थियो। उनीहरूले दिएको बयानमा युवतीले सो दिन आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको बताएको उल्लेख छ। सुब्बाले युवतीले फोन गरेर आफूमाथि यौन दुर्व्यवहार भएको बताए पनि उनीमाथि नै भएको भन्नेमा आफू अन्योलमा परेको तर पछि मात्र घटनाबारे जानकारी पाएको बयानमा खुलाएकी थिइन्।

पौडेलले आफू काम गर्ने संस्थामा पाण्डेले युवतीलाई मोडलिङको तस्बिर खिचाउन आएको र आफूले आफ्नो पारिश्रमिक लिएर तस्बिर खिचेको र सो इभेन्टमा समेत आफू अफिसियल फोटोग्राफरको रूपमा सहभागी भएर प्रतियोगिताको तस्बिर खिचेको बयानमा उल्लेख गरेको स्रोतले जानकारी दियो।

सक्सेस पार्टीमा सुब्बासँगै तत्कालीन नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लगायतकाहरु सहभागी रहेको र पार्टीमा अन्य विजेतासँगै पीडित युवती रहेको सहभागी रहेको उनले बयानमा खुलाएका छन्। पीडित युवती पार्टीमा रहेको तस्बिर सार्वजनिक भइसकेको छ।

पौडेलले यस अगाडि फेसबुकमा सार्वजनिक गरेको आफ्नो भनाई अनुसारै बयान दिँदै घटनाको छ महिनापछि पाण्डेको कार्यालयमा झगडा परेको भनेर एक जना कामदारले फोन गरेपछि आफू पुगेको र आफू विचतिर पुग्दा युवतीले पाण्डेले दुर्व्यवहार गरेको भनेपछि आफूले क्यालेन्डर र जुत्ताले हानेर हिँडेको बताएका छन्।

पाण्डेले युवतीलाई बलात्कार गरेकोबारे युवतीको भिडियो सार्वजनिक भएपछि मात्रै जानकारी पाएको पौडेलले बयान दिएको स्रोतले उकेरालाई खुलाएको छ।

प्रहरीले सो प्रतियोगिताको विजेता र सहभागीसँगै सक्सेस पार्टीमा सहभागी अन्यसँग समेत बयान लिने तयारी गरेको छ। पाण्डेमाथि बलात्कारको आरोप लागे पनि हदम्यादको समस्याका कारण प्रहरीले उनीमाथि मानव बेचबिखनको अभियोग लगाएर अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ।

पाण्डे विरुद्ध अर्की एक नाबालिकाले यौन दुर्व्यवहार गरेको जाहेरी दिइसकेकी छिन् भने अर्की एक किशोरीको अभिभावक प्रहरीको सम्पर्कमा रहे पनि जाहेरी भने आइनसकेको परिसरका एक अधिकारीले जानकारी दिए।

#मनोज_पाण्डेको अफलोअप

११ जेठ, २०७९, १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।