धरानका मेयर हर्कले सार्वजनिक गरे प्राथमिकता : सुशासन र सुरक्षा भएको धरान बनाउने दाबी

धरानका मेयर हर्कले सार्वजनिक गरे प्राथमिकता : सुशासन र सुरक्षा भएको धरान बनाउने दाबी

धरान : धरानको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार हर्कराज राईले आफ्नो कार्यकालको लक्ष्य सुशासन र सुरक्षा रहेको बताएका छन्। आफ्नो कार्यकाल सुरु गरेपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू अब धरानको अभिभावक भएकाले जो जुन दलबाट प्रतिनिधिको रूपमा निर्वाचित भएर आए पनि मिलेर काम गर्नुपर्ने बताए।

उनले  धरानमा स्थानीय सरकार छ भन्ने जनताले थाहा पाउने गरी काम गर्ने भन्दै सरकार त छ तर कर मात्र उठाउँछ भन्ने महसुस हुन नदिने दाबी गरे। सामाजिक रूपमा सुरक्षा अनि सुशासनको प्रत्याभूति गराउनु आफ्नो जिम्मेवारी भएको उनले बताए।

उनले धरानमा धेरै चुनौती रहेको भन्दै स्वतन्त्र उम्मेदवार भएर विजयी भए पनि राजनीतिक दलहरूसँग मिलेर काम गर्ने बताए। ‘सबैको सहकार्य र सहभागिता नभई एक्लै नगरपालिका अघि बढाउन सक्दैनौ,’उनले भने।

उनले जुनसुकै पार्टीको मान्छे भए पनि जितेर आएका सबैको लक्ष्य सुशासन र विकास भएकाले सबैसँग मिलेर काम गर्ने समेत बताए। दलीय भावना बोकेर हिँडे धरानको विकास रोकिने भन्दै उनले आफू अभिभावक भएकाले सबैलाई मिलाएर लैजाने बताएका थिए।

खानेपानीको लागि व्यवस्थापन र उत्पादन बढाउन स्रोत थप गर्न ध्यान दिने, खानेपानी आयोजना प्रोजेक्ट किन असफल भयो भनेर खोजी गर्ने र बिपी प्रतिष्ठानको बेथिति अन्त्य गर्न  पहिला सेवालाई चुस्त बनाउने उनले बताए।

जेठ १०, २०७९ मंगलबार २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।