पोखरामा रोकिएको मतगणना ७ घण्टापछि सुरु

पोखरामा रोकिएको मतगणना ७ घण्टापछि सुरु

पोखरा : पोखरामा भोट हराएको भन्दै एमालेले पुनःमतगणनाको माग गर्दै रोकेको मतगणना सुरु भएको छ। मतगणना रोकिएको सर्वदलीय बैठकमा समेत दलहरूको अडानका कारण सहमति हुन नसकेपछि निर्वाचन अधिकृतको कार्यालयले एमालेले दिएको निवेदन कानुनी प्रक्रियामा रहेका र निर्वाचन कार्यालय यस विषयमा गम्भीर भएको भन्दै सूचना जारी गरेसँगै ७ घण्टा पछि मत गणना सुरु भएको हो। 

सात घण्टा देखि रोकिएको मतगणना सुचारु भएको पोखरा महानगरपालिका मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए। एमालेले तीन मतले हारेपछि पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा ९ मत हराएको भन्दै पुनःमत गणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो। 

त्यसपछि एमालेले मतगणनाको माग गर्दै पोखरा २२, ३२, ३३ को जारी मतगणना छाडेको थियो। त्यसपछि पुनः मतगणनाको माग गर्दै पोखरा १ र १७ का कांग्रेसका उमेदवारले निर्वाचन कार्यालयमै निवेदन दिएका थिए। 

निर्वाचन कार्यालयले अहिले पोखरा १८ को विषयलाई थाती राखेर रोकिएका तीन वटा वडाको मत गणना सुरु भएको हो। अहिलेसम्म पोखराका १ लाख ३९ हजार ४ सय ११ मत गणना भएको छ। पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो। अब ३ हजार ८ सय १५ मत गणना गर्न बाँकी रहेको छ।
 

जेठ १०, २०७९ मंगलबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।