कर्णाली प्रदेश सभामा सत्ता र प्रतिपक्ष सांसदका एउटै स्वर ‘विगतका कमजोरी सुधार गर्दै बजेट ल्याउँ’

कर्णाली प्रदेश सभामा सत्ता र प्रतिपक्ष सांसदका एउटै स्वर ‘विगतका कमजोरी सुधार गर्दै बजेट ल्याउँ’

सुर्खेत : मंगलबार कर्णाली प्रदेश सभाको १० औँ अधिवेशनको पहिलो बैठक बसेको छ। बैठकमा बोल्दै दलका नेताहरूले चालू आर्थिक वर्षका लागि ल्याउने बजेट विगतमा भएको कमी कमजोरीलाई सुधार गरेर ल्याउनु सुझाव दिएका छन्। 

बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर यस पटकको नीति तथा कार्यक्रम र बजेट सुधार गरेर ल्याउन आग्रह गरे। 

‘यस अघिको वर्षमा अध्यादेशबाट बजेट ल्याइएको थियो। उक्त बजेट साना–साना टुक्रे योजनाका लागि केन्द्रित भएर विनियोजन समेत गरियो। त्यसको लागि हाम्रो दलले तत्काल खबरदारी गर्याैँ र रोक्न सफल पनि भयौँ,’उनले भने, ‘ त्यसैले यस चालू आर्थिक वर्षको बजेट ल्याउँदा पूर्व नै विचार पुर्याउन जरुरी छ।’ 

नेता कँडेलले कर्णाली प्रदेश सरकारले ल्याउने बजेट विकास गर्न नभई खाने मानसिकताबाट बजेट ल्याउने प्रचलन रहेको टिप्पणी गर्दै यस पटक विगतका ती श्रृखलाबाट पछि हटेर बजेट ल्याउँदा नै कर्णालीको हित हुने उल्लेख गरे।

यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले संघीयताको पहिलो पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट ल्याउन आवश्यक रहेको बताइन्। 

‘प्रदेश सरकार गठन भएदेखि हालसम्म संघीयतामा अनुभवको कमी, जनशक्ति अभाव, प्रदेशभित्रका आन्तरिक समस्याका कारण सोचे अनुरूप प्रदेश सरकारले काम गर्न सकेन्,’ शाहले भनिन्,  ‘चार वर्षको अवधिमा केही सफलता पनि मिले पनि कतिपय काम अधुरै रहेका छन्।’

यस्तै, नेपाली कांग्रेस नेता दिनबन्धु श्रेष्ठले सत्तापक्ष–प्रतिपक्षबिच छलफल र सहकार्य गर्न कांग्रेस सधैँ तयार रहेको बताए। श्रेष्ठले विगतका बजेट कार्यान्वयनमा देखिएका समस्यालाई केलाएर साथै प्रतिपक्षीलाई विश्वासमा लिएर नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिए।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशीला शाहीले कर्णाली प्रदेशमा दिनप्रतिदिन मौलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकारले तत्काल एक्सन लिनु पर्ने बताइन्। प्रदेशसभाको अर्को बैठक भोलि (बुधबार) दिउँसो तीन बजे बस्ने गरी स्थगित गरिएको छ।

जेठ १०, २०७९ मंगलबार २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।