टेकु पुगेर माल्भिकाले दिइन् आरोप पुष्टिमा सघाउने बयान, पीडितले भनेको फोन विवरण खुलाइन्

टेकु पुगेर माल्भिकाले दिइन्  आरोप पुष्टिमा सघाउने बयान, पीडितले भनेको फोन विवरण  खुलाइन्

काठमाडौँ : सौन्दर्य प्रतियोगिता आयोजना गरेर सहभागीको बलात्कार गरेको आरोपमा मानव बेचबिखनको आरोप लागेका मनोज पाण्डेको मुद्दामा साक्षीको रूपमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले बयान दिएकी छिन्।

पीडित युवतीले सार्वजनिक गरेको भिडियो अनि उनले दिएको जाहेरीमा घटनाको ६ महिनापछि पाण्डेको कार्यालयमा घटनाबारे कुरा गरेर सुब्बालाई फोन गरेर जानकारी गराउँदा उनले बेवास्ता गरेको आरोप लगाएकी थिइन्।

यसबारे सुब्बाले सामाजिक सञ्जालमार्फतै उनीसँग माफी मागेर न्यायिक प्रक्रियामा सहयोग गर्ने वाचा गरेकी थिइन्।

उनलाई घटनाको साक्षीको रूपमा प्रहरी परिसर काठमाडौँले मङ्गलवार बयान लिएको हो। पीडितले फोन गरेर घटनाबारे बताउँदा उनले इग्नोर गरेको भन्दै उनको आलोचना भइरहेको छ। तर उनले पीडित युवतीको पक्षमा बयान दिएको स्रोतले बतायो। 

टेकुमा रहेको परिसरको कार्यालयमा गएर सुब्बाले बयान दिँदै पीडित किशोरीले भनेझैँ उनले आफूलाई फोन गरेर दुर्व्यवहार गरेको बताएको तर त्यो बेलामा उनलाई कसले दुर्व्यवहार गरेको हो भन्नेमा आफू अन्योलमा परेको बताएकी छिन्।

पछि पाण्डेले नै युवतीलाई दुर्व्यवहार गरेको भन्ने सुनेको तर पछि युवतीसँग सम्पर्क नभएको उनले बताएकी छिन्। उनले पीडित युवती पाण्डेले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सहभागी भएको र उनी सक्सेस पार्टीमा समेत रहे पनि त्यो बेला भएको घटनाबारे भने आफूलाई जानकारी नभएको उनले बयानमा खुलाएकी छिन्।

आफू प्रतियोगिताको कोरियोग्राफर रहेको र कार्यक्रमको अवधिभर कसैले पनि दुर्व्यवहारबारे कुरा नगरेको उनले बयानमा खुलाएकी छिन्। कार्यक्रमबारे विवाद भएपछि प्रतियोगिता नै बन्द भएको र आफू पनि पाण्डेको कार्यक्रमहरूमा सहभागी नभएको र थप घटनाबारे युवतीको भिडियो सार्वजनिक भएपछि नै जानकारी पाएको उनको बयानमा उल्लेख भएको स्रोतले जानकारी दियो।

उनले घटनामा आफू भने संलग्न नरहेको बयान दिएकी छिन्। पीडित युवतीले बलात्कार र ६ महिना यौन शोषण गरेको जाहेरी दिए पनि बलात्कारमा हदम्याद नाघेपछि प्रहरीले पाण्डेलाई मानव बेचबिखनमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।

पीडित युवतीले जाहेरीमा पाण्डेको कार्यालयमा घटनाबारे खुलाउँदा सँगै रहेकाहरू, कार्यक्रमका सहभागीहरू लगायतलाई आफूमाथि भएको घटना बताएको उल्लेख गरेकाले प्रहरीले सो प्रतियोगितासँग जोडिएका र आठ वर्ष अगाडि युवतीले सो घटनाबारे बताएका व्यक्तिहरूसँग बयान लिइरहेको हो।

नेपालमा रहेकाहरूसँग प्रहरीले कार्यालयमै र नेपाल बाहिर रहेकाहरूसँग विद्धुतिय माध्यमबाट बयान लिने तयारी गरेको छ। पाण्डेविरुद्ध ती युवतीसँगै अन्य २ जना नाबालिगले पनि यौन दुर्व्यवहारमा जाहेरी दिएकाले उनीमाथि बाल यौन दुर्व्यवहारमा समेत अनुसन्धान भइरहेको छ।

#मनोज_पाण्डेको अफलोअप

१० जेठ, २०७९, १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।