पोखरा महानगरमा एमालेलाई काउन्टर दिँदै कांग्रेसले पनि माग्यो पुनः मतगणना
पोखरा । पोखरामा एमालेले मत हराएको भन्दै पुनःमतगणनाको माग गर्दै जारी मतगणना रोकेपछि नेपाली कांग्रेसले पनि दुई वडामा पुनः मतगणना गर्नुपर्ने माग गरेको छ।
एमालेले तीन मतले हारेपछि पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा ९ मत हराएको भन्दै पुनः गणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो। एमालेले मतगणनाको माग गर्दै पोखरामा जारी मतगणना छाडेपछि झिनो मतले हारेका कांग्रेसका दुई उम्मेदवारले पनि मतगणनाको माग गर्दै निवेदन दिएका छन्।
पुनः मतगणनाको माग गर्दै कांग्रेसले पोखरा १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो। वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले पुनः गणनाको माग गरेकी हुन्। पोखरा–१ मा एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए। प्रधानले १ हजार १ सय ४५ र गुरुङले १ हजार १ सय ४ मत पाएका थिए।
यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन्। उनीहरू दुवैले पहिले भन्दा फरक गणक राख्न र निष्पक्ष रूपमा गणना गर्नुपर्ने माग राखेका छन्। वडा नम्बर १७ मा ८३ मतको अन्तरले एमालेकी राधिका शाहीले चुनाव जितेकी हुन्। शाहीले २ हजार ६२५ र आचार्यले २ हजार ५४२ मत पाएका थिए।
मतगणना रोकिएपछि नाराबाजी
पोखरा महानगरपालिकाको मतगणना स्थगित भएपछि कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका छन्। कांग्रेसका कार्यकर्ताहरूले ‘मतगणना जारी गर’ भन्दै निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका हुन्।
मतगणनाका क्रममा खाना खान गएका एमालेका प्रतिनिधि मतगणना स्थलमा नफर्किएपछि जारी मतगणना रोकिएको हो। पोखरामा वडा नम्बर २२, ३२ र ३३ को मतगणना जारी छ। वडा १८ को पुनः मतगणना गर्नुपर्ने माग राख्दै एमालेले निवेदन दिएपछि एमालेका प्रतिनिधि पनि मतगणना स्थल नआएका हुन्। वडा नम्बर १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो।
उक्त वडामा ३२९२ मत मध्ये एमालेका उम्मेदवारले १ हजार ६४० र कांग्रेसका उम्मेदवारले १ हजार ६४३ मत प्राप्त गरेको छ। निर्वाचन सम्पन्न भएपछिको मुचुल्का गरेको भन्दा ९ मत कम भेटिएपछि एमालेले पुनः मत गणनाको माग गर्दै निवेदन दिएको थियो। एमालेले निर्वाचन हारेपछि बखेडा झिकेको भन्दै झिनो मतले हारेका कांग्रेसका उम्मेदवारले त्यसको काउन्टरमा आफू पराजित भएका वडामा पनि पुनः मतगणनाको माग गरेका छन्।
जेठ १०, २०७९ मंगलबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।