सेन्ट लरेन्सकी रिसेप्सनिष्टमाथि पनि जनार्दनले यौन दुर्व्यवहार गरेको आरोप, प्रिन्सिपल घटना लुकाउन संलग्न देखिए

सेन्ट लरेन्सकी रिसेप्सनिष्टमाथि पनि जनार्दनले यौन दुर्व्यवहार गरेको आरोप, प्रिन्सिपल घटना लुकाउन संलग्न देखिए

काठमाडौँ : विद्यार्थीलाई क्यान्टिनमा लगेर दुर्व्यवहार गर्ने अनि फेसबुक मेसेन्जरमा यौन प्रस्ताव राख्ने गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले यस अगाडि पनि कलेजको एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

कलेजका एक शिक्षकले दिएको जानकारी अनुसार उनले कलेजको रिसेप्सनमा काम गर्ने युवतीलाई निरन्तर यौन दुर्व्यवहार गरेपछि उनले राजीनामा दिएर कलेज छाडेकी थिइन्।

कलेजको छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विध्यार्थीहरु आन्दोलित भएपछि ती पूर्व कर्मचारीले कलेजका शिक्षकलाई फोन गरेर आफू पनि अधिकारीबाट पीडित भएको र उनको व्यवहार नबदलिएपछि राजीनामा दिएर हिँडेको जानकारी गराएकी हुन्।

कलेज स्रोतका अनुसार अधिकारीको हर्कतबारे कलेज व्यवस्थापन र प्रिन्सिपल पनि जानकार थिए। तर उनीहरूले कलेजको बेइज्जत हुन्छ भन्दै घटना लुकाउँदै आएका थिए।

अधिकारीले यौन दुर्व्यवहार गरेको खुलेपछि पनि विद्यालय व्यवस्थापन र प्रिन्सिपलले घटना विद्यालयमा नै मिलाउने प्रयास गरेका थिए। उनीहरूले प्रहरीमा उजुरी नदिन हिंसामा परेकी छात्रालाई निःशुल्क पढाइदिने प्रलोभन दिएका थिए।

विध्यार्थीलाई बेड पार्टनर बन्न प्रस्ताव गर्ने सेन्ट लरेन्सका शिक्षक पक्राउ

सेन्ट लरेन्सका कोअर्डिनेटरले जब आफ्नै विद्यालयकी छात्रालाई 'विल यु बि माइ बेड पार्टनर?' भने

कलेजका प्रमुख केशव दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनले छात्राको अभिभावकहरूलाई फकाएर आफ्नै कलेजको छात्रामाथि भएको यौन दुर्व्यवहार जस्तो गम्भीर अपराध लुकाउने प्रयास गरेको देखिएको छ।

आरोपीमाथि कारबाहीको साटो घटना कलेजभित्रै मिलाउन खोजेको भन्दै पीडितले साथीहरूलाई भनेपछि कलेजका कक्षा ११ र कक्षा १२ का विध्यार्थीहरु कलेजमै आन्दोलित भए। विध्यार्थीहरु आन्दोलित भएपछि कलेज प्रशासनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी आएर अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेपछि विध्यार्थीहरु पनि दबाब दिन प्रहरी वृत्त गौशाला अगाडि भेला भएका थिए।

१० जेठ, २०७९, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।