बागमती प्रदेशमा पहिलोबाट तेस्रो शक्ति बन्यो एमाले [जिल्लागत विवरणसहित]
काठमाडौंः एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशमा कांग्रेसले प्रमुखमा ५७ पालिका जित्न सफल भयो। त्यस्तै एक महानगरपालिकामा अग्रता कायम गरिरहेको छ।
माओवादीले २६ पालिकामा प्रमुख जित्दा एक महानगरमा अग्रता लिइरहेको छ।
बागमतीमा एमालेभन्दा यस पटक माओवादी केन्द्र सफल देखियो। एमाले तेस्रो स्थानमा रहँदै २६ पालिकामा सीमित भयो। त्यस्तै एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले चार पालिकामा जित हात पार्न सफल भयो।
पहिलो पटक निर्वाचनमा भाग लिएको एकीकृत समाजवादीले हेटौंडा उपमहानगरसहित अन्य तीन पालिकाको प्रमुखमा जित हात पार्यो।
राप्रपाले एक पालिकाको प्रमुख जित्यो भने नेपाल मजदूर किसान पार्टीले एक पालिकामा प्रमुख र उपप्रमुख जित्यो।
काठमाडौं महानगरमा राजनीतिक दलले मेयर पद गुमाउने अवस्था देखिएको छ। हालसम्मको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरमा अग्रता कायम राखेका छन्।
प्रदेशमा ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले ६४, कांग्रेसले ३५, माओवादीले १६ र अन्यले तीन स्थानीय तह जितेका थिए। भरतपुरमा अग्रता लिएको माओवादीले भरतपुर जितेमा एमाले बागमती प्रदेशमा तेस्रो हुनेछ।
दोलखा
९ वटा स्थानीय तह रहेको दोलखामा कांग्रेस र माओवादीले बराबर स्थानीय तह जितेका छन्। अघिल्लो निर्वाचनमा दुई स्थान जितेको कांग्रेसले यो पटक कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिका, वैतेश्वर गाउँपालिका जित्न सफल भयो।
अघिल्लो निर्वाचनमा सात स्थानीय तह जितेको एमाले यसपटक दुई स्थानीय तहमा सीमित भयो। एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिका जित्यो।
गत वर्ष स्थानीय तह प्रमुखमा शून्य भएको माओवादीले गौरीशंकर गाउँपालिका, शैलुङ गाउँपालिका र विगु गाउँपालिका जित्यो। एकीकृत समाजवादीले तामाकोसी गाउँपालिका जित्यो।
रामेछाप
आठ स्थानीय तह रहेको रामेछापमा कांग्रेस र एमालेले बराबर तीन स्थानीय तह जितेका छन्। ०७४ सालको निर्वाचनमा एक स्थानीय तह जितेको कांग्रेसले गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा जित हात पार्यो।
गत निर्वाचनमा पाँच स्थानीय तह जितेको एमाले तीन स्थानीय तहमा खुम्चियो।
उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिका एमालेले जित्यो।
गत निर्वाचनमा दुई पालिका जितेको माओवादीले यसपटक पनि दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिका गरी दुई पालिका नै जित्यो।
सिन्धुली
नौ स्थानीय तह रहेको सिन्धुलीमा माओवादी पहिलो पार्टी बनेको छ। यसअघि तीन स्थानीय तह जितेको यसपटक चार स्थानीय तह जितेको छ माओवादीले। दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र हहिरपुरगढी गाउँपालिका माओवादीले जित्यो।
कांग्रेसले यसअघि पनि तीन पालिका जितेको थियो, यस पटक पनि तीन पालिका नै जितेको छ। घ्याङलेख गाउँपालिका, कमलामाई गाउँपालिका, तीन पाटन गाउँपालिका कांग्रेसले जित्यो।
यसअघि तीन पालिका जितेको एमालेले भने यस पटक दुई पालिकामा खुम्चिएको छ। गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिकामा एमालेले जित्यो। सिन्धुलीमा एकीकृत समाजवादी पालिका प्रमुखमा शून्य भयो।
रसुवा
५ वटा स्थानीय तह रहेको रसुवामा कांग्रेसले कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिका जित्यो। पहिलेको चुनावमा दुई पालिका कांग्रेसले जितेको थियो।
गत निर्वाचनमा दुई पालिका प्रमुख जितेको एमालेले यस निर्वाचनमा पनि दुई पालिका नै जित्यो। उत्तरगया गाउँपालिका र गोसाईँकुण्ड गाउँपालिकामा एमाले आयो।
गत निर्वाचनमा नयाँ शक्ति (हाल जसपाल) ले एक स्थानीय तह जितेको थियो।
धादिङ
१३ स्थानीय तह रहेको धादिङमा कांग्रेसले सात स्थानीय तहमा जित निकाल्यो। यसअघि तीन पालिकामा जितेको कांग्रेसले यस पटक खनियाँबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, नीलकण्ठ नगरापालिका, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउँपालिका जित्यो।
गत निर्वाचनमा सात स्थानीय तह जितेको एमालेले यसपटक दुई स्थानीय तह मात्र जित्यो। गल्छी गाउँपालिका र थाक्रे गाउँपालिका एमालेले जित्यो।
गत निर्वाचनमा एक स्थान जितेको माओवादीले यस पटक ३ स्थानीय तह जित्यो। गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र रुविभ्याली गाउँपालिका माओवादीले जित्यो।
एकीकृत समाजवादीले धुनीवेंसी नगरपालिका जित्यो।
नुवाकोट
१२ स्थानीय तह रहेको नुवाकोटमा कांग्रेस पहिलो पार्टी बनेको छ।
०७४ र अहिलेको स्थानीय निर्वाचनमा उसले सात स्थानीय तह जित्यो। उसले तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, लिखु गाउँपालिका, विदुर नगरपालिका, शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिका जित्यो।
गत निर्वाचनमा दुई स्थानीय तह जितेको माओवादीले यस पटक चार स्थानीय तह जित्यो। उसले दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, वेलकोट नगरपालिका र ककनी गाउँपालिका जित्न सफल भयो।
गत निर्वाचनमा तीन स्थानीय तह जितेको एमाले यसपटक किस्पाङ गाउँपालिकामा मात्र विजयी भयो।
काठमाडौं
११ स्थानीय तह रहेको कठमाडौंमा ०७४ सालको निर्वाचनमा कांग्रेसले चार स्थानीय तह जितेको थियो। यस पटक सात स्थानीय तह जितेको छ।
दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका , चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिका कांग्रेसले जित्यो।
गत निर्वाचनमा ६ स्थानीय तह जितेको एमालेले दुई स्थानीय तह जित्यो। उसले बूढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिका जित हात पार्यो।
शंखरापुर नगरपालिका राप्रपाले जित्यो। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्।
भक्तपुर
चार वटा स्थानीय तह रहेको भक्तपुरमा पनि कांग्रेस पहिलो पार्टी बनेको छ। अघिल्लो निर्वाचनमा पालिका प्रमुखमा शून्य भएको कांग्रेसले यसपटक दुई स्थानीय तह जितेको छ।
कांग्रेसले चागुँनारायाण नगरपालिका र मध्यपुर थिमि नगरपालिका जितेको छ।
गत निर्वाचनमा ३ स्थानीय तह जितेको एमाले यसपटक १ स्थानीय तहमा सीमित भयो। उसले सूर्यविनायक नगरपालिका जित्यो। नेमकिपाले ०७४ मा झैं भक्तपुर नगरपालिका जित्यो।
ललितपुर
६ वटा स्थानीय तह रहेको ललितपुरमा कांग्रेसले तीन स्थानीय तह जित्दा एकमा अग्रता लिइरहेको छ।
गोदावरी नगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिकामा कांग्रेसले जित हात पार्यो।
एमालेले महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम गाउँपालिकामा जित्यो। ललितपुर महानगरमा कांग्रेसले अग्रता लिइरहेको छ।
काभ्रे
१३ वटा स्थानीय तह रहेको काभ्रेमा कांग्रेसले ०७४ को निर्वाचनमा चार स्थानीय तह जितेको थियो। यस पटक आठ स्थानीय तह जितेको छ।
तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, बनेपा नगरपालिका, वेथानचोक गाउँपालिका, रोशी गाउँपालिका र पाँचखाल नगरपालिका कांग्रेसले जित्यो।
अघिल्लो निर्वाचनमा सात स्थानीय तह जितेको एमाले यसपटक एक स्थानमा खुम्चिन पुग्यो। धुलिखेल नगरपालिका एमालेले जित्यो।
अघिल्लो निर्वाचनमा २ स्थानीय तह जितेको माओवादीले यो पटक चार स्थानीय तह जित्यो। उसले खानीखोला गाउँपालिका, चौरीदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिका जित्यो।
मण्डन देउपुर गाउँपालिका एकीकृत समाजवादीले जित्यो।
सिन्धुपाल्चोक
१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा ०७४ सालको निर्वाचनमा तीन स्थानीय तह जितेको कांग्रेस यस पटक पाँच स्थानीय तहमा विजयी भयो।
कांग्रेसले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका जित्यो।
गत निर्वाचनमा सात स्थानीय तह जितेको एमाले यो पटक तीन स्थानमा सीमित भयो। उसले इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र सुनकोशी गाउँपालिका जित्यो।
गत निर्वाचनमा दुई स्थानमा जितेको माओवादीले यो पटक चार स्थानीय तह जितेको छ।
माओवादीले जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी गाउँपालिका, बलेफी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका जितेको छ।
मकवानपुर
१० स्थानीय तह रहेको मकवानपुरमा कांग्रेसले अघिल्लो निर्वाचनमा दुई स्थानीय तह जितेको थियो। यस पटक पाँच स्थानीय तह जित्न सफल भयो।
कांग्रेसले कैलाश गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरि गाउँपालिका र रक्सिराङ गाउँपालिका जित्यो।
गत निर्वाचनमा ६ स्थानीय तह जितेको एमालेले यो निर्वाचनमा दुई ठाउँमा सीमित बन्यो। इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिका एमालेले जित्यो।
माओवादीले थाहा नगरपालिका र बागमती गाउँपालिका जित्यो। हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीले जित्यो।
चितवन
सात वटा स्थानीय तह रहेको चितवनमा एमाले अगाडि छ। अघिल्लो निर्वाचनमा चार स्थानीय तह जितेको एमालेले यो पटक तीन स्थानीय तह जितेको छ।
एमालेले इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिका जितेको छ।
अघिल्लो निर्वाचनमा एक स्थानीय तह जितेको कांग्रेसले यो पटक दुई स्थानीय तह जितेको छ।
कांग्रेसले खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका जित्यो।
एकीकृत समाजवादीले राप्ती नगरपालिका जित्यो। गत निर्वाचनमा दुई स्थानीय तह जितेको माओवादीले भरतपुर महानगरमा अग्रता लिइरहेको छ।
जेठ १०, २०७९ मंगलबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।