पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा गुरुङको अग्रता

पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा गुरुङको अग्रता

पोखरा : पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन्। एकीकृत समाजवादीका अचार्यले महानगरमा एक लाख ३० हजार ७ सय २७ मत गणना हुँदा ५२ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्।

एमालेका कृष्ण बहादुर थापाले ४८ हजार ५ सय ३६ मत पाएका छन्। थापाको भन्दा आचार्यको चार हजार ४ सय ३६ मत बढी छ। महानगरमा अब, १३ हजार मात्र मत गणना गर्न बाँकी छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले ५ हजार ४ सय ६२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले २ हजार ९ सय १९ मत पाएका छन्।

उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ५५ हजार ५ सय ४ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५१ हजार ४ सय ९८ मत प्राप्त गरेकी छन्। गुरुङ र रानाभाट बिचको मतान्तर चार हजार ६ रहेको छ।

पोखरा महानगरका ३३ वटा वडामध्ये २१ वटा वडा कांग्रेसले जितेको छ भने आठ वटामा एमाले विजयी भएको छ। महानगरमा अहिलेसम्म वडा नम्बर १८,२२, ३१, ३२ र ३३ को मतगणना चलिरहेको छ।

०७४ को निर्वाचनमा एमालेले पोखराको मेयर उपमेयर सहित २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले महानगरका ११ वटा वडा मात्र जितेको थियो।

पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २ सय २६ मत खसेको थियो। 

जेठ ९, २०७९ सोमबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।