पोखरा महानगरको मेयर टिकट खोसिएका पौडेलको वडामा कांग्रेस विजयी

पोखरा महानगरको मेयर टिकट खोसिएका पौडेलको वडामा कांग्रेस विजयी

पोखरा : नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदको टिकट दिएर खोसिएका दीपक पौडेलको वडामा नेपाली कांग्रेस विजयी भएको छ। पौडेल बसोबास गर्दै आएको वडा नम्बर १९ मा कांग्रेस उम्मेदवार पुष्पेन्द्र पाण्डे वडा अध्यक्षमा विजयी भएका हुन्।

पाण्डेले २ हजार ५५४ मत पाएर विजयी भएका छन्। एमालेका वडा अध्यक्ष उम्मेदवार इमानराज पौडेलले २ हजार ५०३ मत प्राप्त गरेका छन्। लामो समय विद्यार्थी राजनीति हुँदै शिक्षक संगठनमा आबद्ध रहेर राजनीति गरेका पौडेललाई एमाले सचिवालयले पोखराको मेयर दिने निर्णय गरेको भोलीपल्ट एक पसलबाट सुन चोरी गरेको आरोपमा भिडियो सामाजिक संजालमा भाइरल भएपछि मेयर टिकट खोसिएको थियो। 

सामाजिक संजालमा भिडियो मार्फत चर्को आलोचना भएपछि एमालेका अध्यक्ष केपी ओलीले पौडेललाई दिएको टिकट खोसेर केन्द्रीय सदस्य एवं गण्डकीका सांसद कृष्ण थापालाई मेयरको उम्मेदवार बनाइएको थियो।पौडेलविरुद्ध पार्टीका अर्को पक्षका नेता कार्यकर्ताबाटै भिडियो सामाजिक संजालमा राखेर बदनाम गरेपछि रुष्ट भएका कार्यकर्ताले उनकै वडाका एमालेका वडा अध्यक्ष र मेयर थापालाई मत नदिएपछि पराजय भोग्नु परेको छ।

पछिल्लो समय त्यस वडामा पौडेलको टिकट खोसिएको भन्दै एमालेका कार्यकर्ता मात्र नभएर गाउँले समेत रुष्ट थिए। स्थानीय निर्वाचनमा मतदाताले मत मार्फत एमालेलाई सजाँय दिएका छन्। एमालेको किल्ला मानिएको उक्त वडामा ०७४ को निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको थियो। त्यसअघिका स्थानीय र संसदीय निर्वाचनमा समेत एमालेले धेरै मत ल्याएको थियो। 

भूमिगत कालमा समेत उक्त कम्युनिस्ट नेताहरूको सेल्टरकारुपमा परिचित छ। यहाँ गोप्यरुपमा राजनीति गतिविधिहरू गरिने भएकाले कम्युनिस्टको उर्वर भूमिकाकारुपमा परिचित छ। तर, अहिलेको निर्वाचनमा जनभावना विपरीत एमाले भित्रको एउटा गुटको स्वार्थमा पौडेललाई बदनाम गरेपछि उनका शुभचिन्तक र स्थानीयहरूले निर्वाचनमा एमालेलाई गतिलो झापट दिएका छन्।

एमालेले वडा अध्यक्ष हारे पनि बाँकी ४ सदस्य भने जित हासिल गरेको छ। मेयर र वडा अध्यक्षमा विपक्षी गठबन्धनलाई मत हालेका स्थानीयले उपमेयरसहित वडा सदस्यहरूमा भने मत दिएका छन्। 
 

जेठ ९, २०७९ सोमबार २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।