मनोज सिरियल रेपिस्ट भएको सङ्केत : दुई जनाको जाहेरी, थप पीडित प्रहरीको सम्पर्कमा

मनोज सिरियल रेपिस्ट भएको सङ्केत : दुई जनाको जाहेरी, थप पीडित प्रहरीको सम्पर्कमा

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका मोडल ग्लोबल भिसाज् कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउको समाचार बाहिरिएसँगै उनीविरुद्द प्रहरीमा सम्पर्क गर्ने पीडितहरूले सङ्ख्या बढेको छ।

दुई जनाले औपचारिक रूपमै प्रहरीमा जाहेरी समेत दिइसकेका छन् भने केहीका परिवार भने अझैँ जाहेरी दिने या नदिने निर्णयमा पुगेका छैनन्। प्रहरी स्रोतका अनुसार पछिल्लो समय प्रहरीको सम्पर्कमा आएकाहरू नाबालिगहरू हुन्।

उनीहरूले पाण्डेले मोडलिङका लागि भन्दै होटेलमा भेट्न बोलाएर संवेदनशील अङ्गहरू छुने, अश्लील तस्बिरहरू खिचेर दुर्व्यवहार गरेको बताएका छन्। उनले प्राय फिल्म क्षेत्रमा आउने चाहने किशोरीहरूलाई आफूले सहयोग गर्न सक्ने भन्दै सम्पर्क गर्ने अनि विभिन्न बहानामा होटेलमा बोलाएर दुर्व्यवहार गर्ने गरेको देखिन्छ।

'मोडलिङ कम्पनीको फेसबुक पेजमार्फत मोडलिङ र अभिनयमा रुचि राख्ने किशोरीहरूलाई सहयोग गर्ने बहानामा बोलाएर दुर्व्यवहार गर्ने गरेको देखियो, एक प्रहरी अधिकारीले भने' उनी पक्राउ परेपछि जिज्ञासा राखेर सम्पर्क राख्ने र उसले गरेको दुर्व्यवहार बताउनेहरू बिस्तारै खुलिरहेका छन्।'

प्रहरीमा जाहेरी परिसकेको किशोरीले पारदर्शी कपडामा आउन भन्ने अनि कपडाभित्र हाल हाल्ने, लो एंगलबाट तस्बिर खिचाउने, शरीरका संवेदनशील अङ्गहरूमा छुने गरेपछि यो मान्छे बदमास रहेछ भनेर आफूले भेट्न छाडेको उल्लेख गरेकी छिन्।

उनले सम्पर्कमा आएकाहरुलाई बेलुका होटलमा भेट्न बोलाउने, मोडलिङमा अगाडि बढ्ने हो भने हाइप्रोफाइलका ब्यक्तीहरुसँग संगत गर्नुपर्छ, ब्यवसायीहरु भेट्नुपर्छ भन्दै पार्टीहरुमा आउन कर गर्ने गरेको देखिएको छ। यसले उनी मोडलिङको आवरणमा सप्लाइको काम समेत गर्ने गरेको हो कि भन्ने शंका समेत बढाएको एक प्रहरीले बताए।

'अधिकांश पीडितले बताए अनुसार उसले मोडलिङ गर्न चाहने अनि अभिनय गर्न चाहनेहरूलाई सहयोगको आस देखाएर दुरुपयोग गर्ने गरेको देखियो। उसको अपराधको कार्यशैली एकै प्रकारको देखिएकाले पीडितहरू थप बढ्न सक्ने देखिन्छ,' अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले उकेरासँग भने।

अहिले पाण्डेविरुद्ध उपत्यका अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको छ भने जिल्ला प्रहरी परिसर काठमाडौँले जाहेरी लिने र बयान लिने लगायतका मुद्दा प्रक्रिया अगाडि बढाइरहेको छ।

सोमबार मिस ग्लोबल इन्टरनेसनलमा सहभागी गराएर होटेलमा बलात्कार गरेको आरोप लगाउने पीडितले जिल्लामै जाहेरी दिएकी हुन्। अर्की पीडित किशोरीले पनि यौन दुर्व्यवहारको जाहेरी दिइसकेकी छिन्।

युवतीको जाहेरीका आधारमा प्रहरीले उनीमाथि मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचारमा अनुसन्धानका लागि न्यायिक अनुमति माग्दै काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले तत्काल पाण्डेलाई मानव बेचबिखनमा अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद दिइसकेको छ।

दोस्रो उजुरी बाल यौन दुराचार भएकाले प्रहरीले बालबालिका सम्बन्धी ऐन अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

पीडितले दिएको जानकारी अनुसार पाण्डेको गतिविधि बालबालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्क्याउने, यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा स्पर्श गर्ने, समाउने, अङ्कमाल गर्ने गरेको देखिएको छ। यस्तो गति धीलाई कानुनले बाल यौन दुर्व्यवहार भनेर परिभाषित गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरी आएका उजुरीका आधारमा अनुसन्धान अगाडि बढिसकेको बताउँदै पाण्डेबाट पीडित भएका अन्य कोही भए प्रहरीको सम्पर्कमा आउन आग्रह गरेका छन्।

कति सजाय हुनसक्छ पाण्डेलाई ?

थप जाहेरी नबढे पनि उनीमाथि मानव बेचबिखन र बाल यौन दुर्व्यवहारविरुद्धको मुद्दा चल्ने देखिन्छ। दुवै आरोपमा जाहेरी परिसकेको छ। मानव बेचबिखनको आरोपमा त काठमाडौँ जिल्ला अदालतले पीडितको बयान समेत प्रमाणित गरिसकेको छ।

दोस्रो पीडित नाबालिग भएकाले अनुसन्धान र बयानदेखिकै प्रक्रियालाई अगाडि बढाउने परिसरको तयारी देखिन्छ। पहिलो मानव बेचबिखनको आरोप अदालतबाट पुष्टि भएमा पाण्डेलाई १० देखि १५ वर्षसम्म कैद सजाय हुनसक्छ। सोही ऐनको करकारमा एक स्थानबाट अर्को स्थानमा लगेमा भन्ने प्रावधान टेकेमा भने एक वर्षदेखि २ वर्षसम्म कैदको प्रावधान छ।

यस्तै बाल यौन दुर्व्यवहारमा उनले जे गरेको भनिएको छ सो अनुसार उनलाई ७५ हजार जरिवाना र तीन वर्षसम्म कैदको सजाय हुनसक्छ।

#मनोज_पाण्डेको अफलोअप

९ जेठ, २०७९, २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।