चुनाव अगाडि पार्टीमा नेता भित्याउन व्यस्त एमालेको बाँकेमा शून्य उपलब्धि

चुनाव अगाडि पार्टीमा नेता भित्याउन व्यस्त एमालेको बाँकेमा शून्य उपलब्धि

बुटवल : स्थानीय तहको निर्वाचन आउनु अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँकेमा धेरै नेता-कार्यकर्ता पार्टी प्रवेश गराएका थिए। त्यहीँ एमाले ’क्लिन स्वीप’ भएको छ। ०७४ सालको निर्वाचनमा ४ पालिकामा एमाले विजयी भएको थियो। बाँकेमा रहेको ८ वटा स्थानीय तहमध्ये कुनैको नेतृत्वमा पनि एमालेका उम्मेदवार आएनन्।

एमालेले २०७४ को निर्वाचनमा बाँकेका कोहलपुर नगरपालिका र खजुरा, बैजनाथ, र जानकी गाउँपालिका जितेको थियो। बाँकेका कुल ८१ वडामध्ये अघिल्लो चुनावमा ३१ वडा जितेकोमा यसपटक एमाले २१ वडामा खुम्चिएको छ ।

एमाले अध्यक्ष ओलीले निकै तामझामका साथ पार्टीमा भित्राएका पशुपति दयाल मिश्रले समेत बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सन्तोषजनक मत ल्याउन सकेनन्। मिश्रलाई पार्टीमा भित्राउँदा नेपालगन्ज उपमहानगरपालिकामा एमालेको ‘किल्ला हुने’ अपेक्षा गरेको देखिन्थ्यो एमालेले। तर उनले सम्मानजनक मत पनि पाएनन्।

सत्ता गठबन्धनका तर्फबाट नेपालगन्जमा कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत सहित विजयी हुँदा एमालेका पशुपति दयाल मिश्रले जम्मा ११ हजार ६७५ मत मात्र ल्याए। त्यहाँ जनता समाजवादी पार्टीका कमरुद्धिन राई उपमेयरमा विजयी भए। उनले १७ हजार ९५० मत प्राप्त गरे ।

एमालेले २०४९ यताका तीन वटै स्थानीय निर्वाचन जितेको कोहलपुर नगरपालिका यो पटक गुमायो। कोहलपुरको मेयरमा नेपाली कांग्रेसका पूर्णबहादुर आचार्य र उपमेयरमा कांग्रेसकै सङ्गीता सुवेदी विजयी भए। आचार्यले १४ हजार १३४ मत प्राप्त गरे भने सुवेदीले १४ हजार ७३ मत प्राप्त गरिन्।

एमालेले २०७४ मा जितेको जानकी गाउँपालिका यस पटक नेपाली कांग्रेसले जित्यो। कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्ष निर्वाचित भए। खाँ ले ६ हजार ६५३ मत प्राप्त गरे भने यादवले  ६ हजार ९०९ मत प्राप्त गरे।

बैजनाथ गाउँपालिकामा कांग्रेसबाट प्रकाशबहादुर शाही १२ हजार १८० मतका साथ अध्यक्ष र निर्मला रोकाय १२ हजार १५२ मतका साथ उपाध्यक्ष विजयी भए। खजुरा गाउँपालिकामा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष र कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष निर्वाचित भए। विकले १० हजार ७९० मत प्राप्त गरे भने मल्लले १० हजार ३४ मत प्राप्त गरिन्।

नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी दोहोरियो। जसपाबाट अध्यक्षमा इश्तियाक अहमत शाह  ५ हजार ३७ मतका साथ विजयी भए। उपाध्यक्षमा जयान्तीदेवी श्रीवास्तव पुनः निर्वाचित भएकी छिन्। उनले ३ हजार ८७९ मत प्राप्त गरिन्।

त्यस्तै, डुडुवा गाउँपालिकामा कांग्रेस दोहोरिएको छ। कांग्रेसका नरेन्द्रकुमार चौधरी ६ हजार २७२ मतका साथ अध्यक्षमा विजयी भए भने  शाहिदा बानो ५ हजार ८८४ मतका साथ उपाध्यक्ष निर्वाचित भएकी छिन्।

जेठ ९, २०७९ सोमबार १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।