पाल्पाको  चुनावी परीक्षामा सफल भए ठाकुर

पाल्पाको  चुनावी परीक्षामा सफल भए ठाकुर

बुटवल : पाल्पाको स्थानीय तह निर्वाचनमा पाँच दलबिच सत्ता गठबन्धन गर्नु नेपाली कांग्रेसलाई महँगो परेको छ। गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसले २०७४ को नजिता समेत दोहोर्याउन सकेन।

०७४ मा कांग्रेसले  ४ प्रमुख र ३ उप प्रमुख सहित ३७ वटा वडा जितेको थियो। ०७९ को निर्वाचनमा उसले ३ प्रमुख ३ उपप्रमुख र ३४ वडा अध्यक्ष मात्रै जितेको छ।

पाल्पामा माओवादी केन्द्रलाई भने गठबन्धन फापेको छ। ०७४ मा ४ वडामा सीमित रहेको माओवादी केन्द्रले १ अध्यक्ष, १ उपाध्यक्ष र १ नगर प्रमुख सहित ५ वडामा जितेको छ। जनमोर्चाले एक वडा अध्यक्ष जित्दा एकीकृत समाजवादीले भने एक सिट पनि जितेन। यो चुनावी नतिजासँगै जिल्ला समन्वय समिति एमालेको नेतृत्वमा पुगेको छ।

०७४ मा एमालेले ६ प्रमुख, ७ उप प्रमुख र ४० वडामा जितेको थियो। अहिले १ वडा थपेको छ भने २ वटा उप प्रमुख गुमाएको छ। ०५१ साल देखी पाल्पामा एमाले पहिलो पाटी रहँदै आएकोमा २०७९ को स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्न सफल भएको छ।

पाल्पाका १० वटा पालिका मध्ये एमालेले ६ वटा पालिकाको अध्यक्ष र ५ वटा पालिकाको उपाध्यक्षमा जितेको छ। ८१ वडा रहेको पाल्पामा ४१ वटा वडामा एमालेले जितेको छ। एमालेको विरासत जोगाउने प्रमुख पात्र हुन् एमाले नेता ठाकुर गैरे।

अग्नि परीक्षामा सफल भएका ठाकुर

पाल्पाका एमाले नेता गैरेलाई अहिलेको निर्वाचन ‘गर वा मर’ को अवस्थामा थियो। जिल्लाका पुराना नेता भए पनि त्यति अवसर नपाएका उनी यस पटकको निर्वाचनमा चुनावी कमान्डर बनेर पाल्पामा खटिएका थिए। सबैजसो राजेन्द्र पाण्डेको ओझेलमा परिरहेका गैरे पाण्डे एकीकृत समाजवादीमा गएपछि भने अवसर र चुनौती दुवै आयो।

अवसर यस अर्थमा कि पाण्डे एमाले छाडेर समाजवादीमा जाँदा एमालेको पुरानो विरासत जोगाउँदै आफू नेतृत्वका लागि सक्षम रहेको देखाउने अवसर। चुनौती यस अर्थमा थियो कि पाल्पामा दबदबा रहेको पाण्डे चुनावी रणनीति अनुसार नतिजा आफ्नो पक्षमा ल्याउन सक्ने नेता थिए।

स्थानीय चुनाव परिचालनको नेतृत्व गरेर उनले आफूलाई प्रमाणित गरे। एकीकृत समाजवादीका पाल्पा कमान्डर सोमप्रसाद पाण्डे भने फेल भए।

पाल्पाका सबै पालिकामा सत्तारुढ दलहरूको गठबन्धन बन्दा एकीकृतले रम्भा र पूर्व खोला गाउँपालिका अध्यक्ष, बगनासकाली उपाध्यक्ष र केही वडाहरूमा भाग पाएको थियो। तर, एक ठाउँ पनि चुनाव जित्न सकेन।

‘निर्वाचन हुनु करिब ४ महिना भन्दा बढी जिल्लामा खटिए। परिणाम त्यही अनुसार आएको छ। गठबन्धनका बिचमा यो नतिजा प्राप्त गर्नु सानो कुरा होइन। अझै पनि सङ्गठनलाई दृढ बनाउँदै लैजानुपर्छ’ गैरेले भने।

चुनावमा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज दलबहादुर राना, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पनि उत्तिकै खटिएका थिए।

पाल्पामा कसले कति मत ल्याए

नेपाली कांग्रेस विजयी भएको स्थानीय तह

-तानसेन नगरपालिका, पाल्पा

सन्तोषलाल श्रेष्ठ (११२७३) विजयी, एमालेका घनेन्द्रराज घिमिरे (१०३९४)

-रामपुर नगरापालिका, पाल्पा

रमण बहादुर थापा (९३०९) विजयी, एमालेका शिव अर्याल (९२४२)

-रैनादेवी छहरा गाउँपालिका, पाल्पा

रुक्मागत भट्टराई (६६४३) विजयी, एमालेका रामबहादुर राउत (६१४५)

एमाले विजयी भएका स्थानीय तह

-पुर्वखोला गाउँपालिका, पाल्पा

नुन बहादुर थापा (६०३९) विजयी, नेकपा एसका मीन प्रसाद गिरी (१२५७)

-तिनाउ गाउँपालिका, पाल्पा

प्रेम श्रेष्ठ (५०९०) विजयी, माओवादीका राजेश श्रेष्ठ (४४६६)

-माथागढी गाउँपालिका, पाल्पा

यम बहादुर चिदी (६१०९) विजयी, कांग्रेसका सन्तोष थापा (५५४५)

-निस्दी गाउँपालिका, पाल्पा

मुक्त बहादुर सारु (६६५२) विजयी, कांग्रेसका गोविन्द अर्याल (३४६६)

-बगनासकाली गाउँपालिका, पाल्पा

सरस्वती दर्लामी चिदी (६४६६) विजयी, कांग्रेसकी सुनिता अधिकारी (५६३३)

-रम्भा गाउँपालिका, पाल्पा

विष्णु भण्डारी (५५८६) विजयी, माओवादीका दुर्गा अधिकारी (४५४२)

माओवादीले जितेको स्थानीय तह

-रिब्दीकोट गाउँपालिका, पाल्पा

नारायण बहादुर कार्की, (५७०४) विजयी, एमालेका नारायण बहादुर जिसी (४७२६)

जेठ ९, २०७९ सोमबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।