बाँकेमा एमाले 'क्लिन स्वीप', भएको विरासत पनि गुम्यो
बुटवलः बाँकेमा गठबन्धनविरुद्ध एक्लै निर्वाचनमा होमिएको एमालेले एक सिट पनि नजित्दै ’क्लिन स्वीप’ भएको छ। निर्वाचनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँकेमा धेरै नेता/कार्यकर्तालाई पार्टी प्रवेश गराए पनि अन्ततः परिणाम गठबन्धनको पक्षमा रहेको छ।
२०७४ सालको निर्वाचनमा बाँकेका आठमध्ये चार पालिकामा विजयी बनेको एमालेले अहिले न कुनै पालिकामा विरासत जोगायो न कुनै नयाँ पालिकामा पकड जमाउन सक्यो।
अध्यक्ष ओलीले निकै तामझामका साथ पार्टीमा भित्र्याएका पशुपतिदयाल मिश्रले समेत बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा केही गर्न सकेनन्। मिश्रलाई पार्टीमा भित्र्याए नेपालगञ्ज एमालेको ‘किल्ला हुने’ अपेक्षा पार्टीले गरेको भए पनि उनले त्यहाँ सम्मानजक मत समेत ल्याउन सकेनन्।
सत्ता गठबन्धनका तर्फबाट नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत सहित विजयी हुँदा एमालेका पशुपतिदयालले जम्मा ११ हजार ६७५ मत मात्र ल्याए। त्यहाँ जसपाका कमरुद्धिन राई उपमेयरमा विजयी भए। उनले १७ हजार ९५० मत प्राप्त गरे।
एमालेले २०७४ को निर्वाचनमा बाँकेका कोहलपुर नगरपालिका र खजुरा, बैजनाथ, र जानकी गाउँपालिका जितेको थियो। बाँकेका कुल ८१ वडामध्ये अघिल्लो चुनावमा ३१ वडा जितेकोमा यसपटक एमाले २१ वडामा खुम्चिएको छ।
एमालेले २०४९ यताका तीन वटै स्थानीय निर्वाचन जितेको कोहलपुर नगरपालिका पनि यो पटक हार व्यहोरेको छ। कोहलपुरको मेयरमा कांग्रेसका पूर्णबहादुर आचार्य र उपमेयरमा कांग्रेसकै संगीता सुवेदी विजयी भए। आचार्यले १४ हजार १३४ मत प्राप्त गरे भने सुवेदीले १४ हजार ७३ मत प्राप्त गरिन्।
एमालेले २०७४ मा जितेको जानकी गाउँपालिका यसपटक कांग्रेसले जितेको छ। कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्ष निर्वाचित भएका छन्। खाँ ले ६ हजार ६५३ मत प्राप्त गरे भने यादवले ६ हजार ९०९ मत प्राप्त गरिन्।
बैजनाथ गाउँपालिकामा कांग्रेसबाट प्रकाशबहादुर शाही १२ हजार १८० मतका साथ अध्यक्ष र निर्मला रोकाय १२ हजार १५२ मतका साथ उपाध्यक्ष विजयी भएका छन्। खजुरा गाउँपालिकामा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष र कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष निर्वाचित भएका छन्।
विकले १० हजार ७९० मत प्राप्त गरे। मल्लले १० हजार ३४ मत प्राप्त गरिन्।
नरैनापुर गाउँपालिकामा जसपा दोहोरिएको छ। जसपाबाट अध्यक्षमा इश्तियाक अहमत शाह पाँच हजार ३७ मतका साथ विजयी भए। उपाध्यक्षमा जयान्तीदेवी श्रीवास्तव पुनः निर्वाचित भएकी छिन्।
उनले तीन हजार ८७९ मत प्राप्त गरिन्। त्यस्तै, डुडुवा गाउँपालिकामा कांग्रेस दोहोरिएको छ। कांग्रेसका नरेन्द्रकुमार चौधरी ६ हजार २७२ मतका साथ अध्यक्षमा विजयी भए भने शाहिदा बानो पाँच हजार ८८४ मतका साथ उपाध्यक्ष निर्वाचित भएकी छिन्।
जेठ ९, २०७९ सोमबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।