यौन हिंसाविरुद्ध पोल खुल्दै सञ्जालमा, वाइल्डलाइफ फोटोग्राफर र प्रिन्सिपल तानिए

यौन हिंसाविरुद्ध पोल खुल्दै सञ्जालमा, वाइल्डलाइफ फोटोग्राफर र प्रिन्सिपल तानिए

काठमाडौँ : एक युवतीले सामाजिक सञ्जाल टिकटकबाट सौन्दर्य प्रतियोगितामा सहभागी गराएर यौन शोषण गरेको आठ वर्ष अगाडिको घटना सार्वजनिक भएसँगै समाज र सरकारी निकाय सक्रिय भएपछि यौन हिंसा र दुर्व्यवहारका नयाँ घटनाहरू सार्वजनिक हुन थालेका छन्।

ती युवतीले सार्वजनिक गरेको भिडियोलाई आधार बनाएर सामाजिक आन्दोलन सुरु भएको छ। काठमाडौँबाट सुरु भएको आन्दोलन पोखरा हुँदै बुटवलसम्म पुगेको छ।

इन्स्टाग्रामबाट २ युवतीले आफूमाथि भएको बलात्कार र यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेका छन्। चर्चित वन्यजन्तु फोटोग्राफर सागर गिरीले यौन दुर्व्यवहार गरेका युवतीहरूले इन्ट्राग्राममा आफूले भोगेका घटनाहरू सार्वजनिक गरेका छन्। एक युवतीले आफु पढेको विध्यालयका प्राध्यापकले बलात्कार गरेको घटना सार्वजनिक गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर भेट्न बोलाएर यौन दुर्व्यवहार गरेको  भन्दै इन्स्टामा गिरीविरुद्ध विभिन्न युवतीहरूले आरोप लगाएका छन्। भेट्न बोलाएर होटेलमा लगेर जवर्जस्ती यौन सम्पर्क राख्न खोजेको पोस्टहरूमा दाबी गरिएको छ।

अर्की एक युवतीले सात वर्षअघि इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपलले बलात्कार गरेको घटना सञ्जालबाटै सार्वजनिक गरेकी छिन्।

उनले हालै सार्वजनिक भएको घटनाको पक्षमा ठुलो समूह उभिएको र आफूले पनि न्याय पाउने आशाले पुरानो घटना सार्वजनिक गरेको उल्लेख गरेकी छिन्।

उनले पहिला आफ्नो घटना इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन्। तर इन्स्टाग्रामले उनको पोस्ट हटाएपछि उनले त्यही स्टोरी फेसबुकमा राखिन्।

उनको घटना पुरानो भए पनि उनले कानुनले तोकेको म्यादभित्र प्रहरीमा उजुरी दिइसकेकी छिन्। तर अहिलेसम्म आरोपी पक्राउ परेका छैनन्।

उनका अनुसार यो घटना २०७२-७३ सालको हो। उनी कक्षा नौमा पढ्दा विद्यालयको होस्टेलमा बस्ने गरेको र त्यही बेलादेखि विद्यालयका प्रिन्सिपलले आफूमाथि बलात्कार सुरु गरेको उनले बताएकी छन्। 

उनले उपचारका लागि अस्पताल लैजाने बहानामा होटेलमा लगेर बलात्कार गरेको र त्यसपछि पटक- पटक विद्यालयमै बलात्कार गरेको उनले उल्लेख गरेकी छिन्। ती आरोपीको नाम राज खड्का रहेको उनले उल्लेख गरेकी छिन्।

‘त्यति बेला म १५ वर्षकी थिए। होस्टेलमै बस्ने गर्थे। मेरो छातीमा समस्या देखिएपछि एक पटक उपचारका लागि भनेर बुवाले विदेशबाट मेरो ममीको खातामा पैसा पठाउनुको सट्टा उसकै खातामा पैसा पठाइदिनु भएको थियो’ सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘त्यसपछि उसले अस्पताल जाम भन्यो र अस्पताल पुर्याउनुको सट्टा सिधै होटेल पुर्यायो।  उसले खानेकुरा अफर गरे पनि डरले मैले मानिनँ। म असिनपसिन भैसकेको थिए। त्यसपछि उसले ‘यता आय गर्मी हुँदैन’ भन्दै कोठातिर जान भन्यो। तुरुन्तै ढोका थुनेर मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो।’

यति मात्र नभई खड्काले यसको भिडियो बनाएर आफूलाई ब्लाकमेल गर्न प्रत्येक पटक त्यही भिडियोको सहारा लिएको ती युवतीले दाबी गरेकी छिन्।

ब्लाकमेलिङको प्रक्रिया एसइई दिने बेलासम्म जारी राखेको उनले बताएकी छन्। आरोपितले जहाँ भेट्यो त्यही आफूमाथि बलात्कार गरेको समेत बताएकी छन्।

‘बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेलको कोठा उसले मलाई जहाँ भेट्यो त्यही बलात्कार गर्यो’ युवतीले थप उल्लेख गरेकी छन्, ‘उसले मलाई बिदामा समेत घर जान दिएन। घर गयो भने पढाई बिग्रिन्छ त्यसैले होस्टेलमै ठिक छ भनेर मेरो घरमा विश्वास दिलाइदिन्थ्यो। त्यही कारण मेरो अभिभावकले उसमाथि धेरै नै भरोसा र विश्वास गर्नुभएको थियो। ममाथि भएको घटनाबारे साथीभाइलाई सुनाए पनि कसैले पत्याएनन्। आफ्नो न्यायको लडाइमा म एक्लै थिएँ।’

घटना भएको समयदेखि दुई वर्षको अन्तरालमा आफूले तीन पटक आत्महत्या प्रयास गरेको समेत उल्लेख गरेकी छन्। एसइईपछि आफूमाथि भएको घटनाबारे आफ्नो परिवारसमक्ष बताउने र न्यायको लागि लड्ने साहस जुटाए पनि कसैले साथ नदिएको समेत ती युवतीले बताएकी छन्।

प्रहरीमा उजुरी गरे पनि प्रहरीले सधैँ फरार भन्ने गरेको उनले उल्लेख गरेकी छिन्।

घटना भएको सात वर्षपछि बलात्कारी यति बेला काठमाडौँमा रहेको र कुनै एउटा विद्यालयको प्रिन्सिपलको रूपमा कार्यरत रहेको समेत ती युवतीले बताएकी छन्।

‘सात वर्षअघिको घटना भएकोले बाहिर बोल्ने हिम्मत थिएन। सामाजिक सञ्जालमा न्यायको लागि बोलेको सुन्दा त्यो घटनाले बारम्बार म आघातमा पर्छु। आफ्नो विगत सम्झेर रातभर रुन्छु। तर यति बेला भने न्याय पाउने आशाले यतिका वर्षसम्म आफैभित्र गुम्सिएर रहेको घटना शेयर गरेको हुँ।’

८ जेठ, २०७९, २२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।