पोखरामा बहुमत वडासहित मेयर पद गुमाउँदै एमालेले
पोखरा : पोखरा महानगरपालिकामा बहुमत वडासहित मेयर पद नेकपा एमालेले गुमाउने निश्चित जस्तै भएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको आइतबार साँझसम्मको मत गणना परिणाम हेर्दा पोखरा महानगरमा मेयर सहित विगतका निर्वाचनमा जितेका वडाहरूमा एमालेले पराजय भोग्ने सम्भावना देखिएको हो।
पोखरा महानगरको निर्वाचनमा खसेको एक लाख ४३ हजार २२६ मतमा अहिले साँझसम्म एकलाख १२ हजार ५ सय ८० मत गणना भइसकेको छ । अब, महानगरमा ३० हजार ६ सय मत मात्र गणना गर्न बाँकी रहेको छ।
महानगरमा गठबन्धनबाट मेयर पदमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४५ हजार २७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर थापाले ४१ हजार ५ सय ९० मत पाएका छन् । थापाको भन्दा आचार्यको तीन हजार ४ सय ३७ मत बढी छ। आचार्यले शुक्रबारदेखि यही मतले अग्रता लिई रहेका छन्।
एमालेको राम्रो प्रभाव रहेका भनिएका झण्डै एक दर्जन वडाहरूको मत गणना सकिएको छ। तर, पनि मेयरमा मतान्तर घटेको छैन। अहिले मत गणना चलिरहेका एमालेको राम्रो प्रभाव मानिएका १७, २१, ३१, ३२ वडामा पनि आचार्यले राम्रो मतका साथ अग्रता लिएका छन्। पोखराको ३३ वडामध्ये अहिलेसम्म मत गणना सकिएका २५ वडाहरूमध्ये १८ वटामा काँग्रेस उम्मेदवार विजयी भएका छन् ।बाँकी ७ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। २०७४ को चुनावमा एमालेले २२ र कांग्रेसले ११ वटा वडा जितेका थिए।
कांग्रेसले यो चुनावमा वडा नम्बर २, ३, ४, ७, ९, १०, ११, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा जीत हात पारिसकेको छ। एमालेले १, ५, ६, ८, १५ २० र २९ नम्बर वडामा जितेको छ। काँग्रेसले जितेका ७, १३, १४, १६, २४, २५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो। ०७४ मा कांग्रेसले जितेको वडा नम्बर ६ मा भने एमालेले विजयी भएको छ।
अहिले गणना भइरहेका अधिकांश वडाहरूमा काँग्रेसले अग्रता लिएको छ। मेयरमा पछाडि परेको एमालेले उप मेयरमा भने अग्रता लिएको छ। उपमेयरको उम्मेदवार मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटसंग झण्डै दुई हजार मतले अग्रता लिएकी छन्। पोखराको अहिलेसम्मको मतको अवस्था हेर्दा २०७४ सालको नतिजा उल्टिने सम्भावना देखिन्छ।
जेठ ८, २०७९ आइतबार २१:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।