पोखरामा गठबन्धनका उम्मेदवार आचार्यको अग्रता कायमै, उपमेयरमा गुरुङ
पोखरा : पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन्। आचार्यले महानगरमा एक लाख १२ हजार ५ सय ८० मत गणना हुँदा ४५ हजार २७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर थापाले ४१ हजार ५ सय ९० मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार ४ सय ३७ मत बढी छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ४ हजार ९ सय ८७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले २ हजार ७ सय ५९ मत पाएका छन्।
उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ४७ हजार ३ सय २४ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४४ हजार ९ सय ६४ मत प्राप्त गरेकी छन्। गुरुङ र रानाभाट बीचको मतान्तर जम्मा दुई हजार ३ सय ६० रहेको छ।
पोखरा महानगरका ३३ वटा वडामध्ये १, ५, ६, ८, १५, २० र २९ मा एमाले विजयी भएको छ। त्यसैगरी वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३ १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेस विजय भएको छ। महानगरमा अहिलेसम्म वडा नम्वर ११, १७, १८, २१, २२, ३१ र ३२ को मतगणना चलिरहेको छ। ०७४ को निर्वाचनमा एमालेले पोखराको मेयर उपमेयर सहित २२ वटा वडामा विजयी भएको थियो।
कांग्रेसले महानगरका ११ वटा वडा मात्र जितेको थियो। अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले १६ वटा वडामा जित हासिल गरेको छ भने एमालेले ७ वटामा विजयी भएको छ। पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
जेठ ८, २०७९ आइतबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।