पोखरामा मेयरका प्रत्याशी थापाको वडामा कांग्रेस विजयी
पोखरा : पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरका प्रत्याशी रहेका कृष्ण बहादुर थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ। थापा बसोबास गर्दै आएको वडा नम्बर १६ मा कांग्रेसका अमृत शर्मा तिमिल्सिना ३ हजार ३१८ मत पाएर विजयी भएका छन्।
उनका मुख्य प्रतिस्पर्धी एमालेका राजेश गुरुङले ३ हजार १७० मत पाएका छन्। तिमिल्सिनाले गुरूङ राजुलाई १ सय ४८ मतान्तरले पराजित गरेका हुन्। यस वडामा एमालेले विगतका निर्वाचनहरुमा समेत विजयी हासिल गर्दै आएको थियो। ०७४ को निर्वाचनमा यस वडाबाट हालका एमालेका पोखरा नगर कमिटीका सचिव जीवन आचार्य विजयी भएका थिए।
वडामा एमालेका उम्मेदवार पराजित भए पनि मेयरका प्रत्याशी थापाले भने प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार धनराज आचार्यको भन्दा ९५४ मत बढी पाएका छन्। यस वडामा ७ हजार ५१९ मतदाता रहेका थिए। खुल्ला सदस्य, महिला सदस्यमा र दलित सदस्यमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।
जेठ ८, २०७९ आइतबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।