खेलराजले ‘लाल किल्ला’ ढालेर फर्काए ३० वर्षको साख
बुटवल : एमालेको ‘लाल किल्ला’को रूपमा रहेको पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलमा नेपाली कांग्रेसले एमालेको ‘लाल किल्ला’ ढालेको छ।
एमालेको गढको रूपमा चिनिएको बुटवलमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नगरप्रमुख सहित बहुमत वडा अध्यक्षमा जीत हासिल मात्र गरेको छैन, ३० वर्ष अघिको स्थानमा नेपाली कांग्रेस फर्किएको छ।
२०४९ सालमा कांग्रेसले सूर्यप्रसाद प्रधानको नेतृत्वमा मेयर र उपमेयरसहित १२ वटा वडा जितेको कांग्रेसले ३० वर्ष पछि बुटवलमा उही नतिजा फर्काउन सफल भएको छ। ०४९ सालमा १५ वटा वडा रहेको बुटवलमा त्यो बेला एमालेले तीन वटा वडा मात्रै जितेको थियो।
त्यसको ५ वर्ष पछि भएको ०५४ को निर्वाचनमा भने भोजप्रसाद श्रेष्ठको नेतृत्वमा एमालेले कांग्रेसको स्थानीय सत्ता ठिक उल्टो बनाइदियो। र एमालेले १२ वटा वडा जित्यो।
कांग्रेसले दुई वटा वडा अध्यक्ष मात्र जित्न सकेको थियो। एउटा वडा अध्यक्ष भने कांग्रेसबाट बागी बनी स्वतन्त्रबाट उठेका नरेन्द्र बस्नेतले जितेका थिए।
अहिले फेरि त्यो ०५४ को नेतृत्व जस्तै कांग्रेसले बुटवलको नतिजा उल्टाइदिएको छ। यो निर्वाचनमा कांग्रेसले नगरप्रमुख सहित १३ वटा वडामा विजयी प्राप्त गरेको छ। उपप्रमुखमा भने एमालेकी सावित्रा अर्याल विजयी भएकी छिन्।
०५४ मा स्थानिय तह एमालेले जितेको भए पनि ०५६ सालमा भएको सङ्घीय निर्वाचनमा कांग्रेसका सूर्यप्रसाद प्रधानले एमालेका विष्णु पौडेललाई पराजित गरेका थिए। त्यसपछि भएका निर्वाचनमा एमाले लगातार विजयी भइरह्यो।
बुटवललाई आम मानिसले भन्ने गर्थे ‘एमालेबाट उम्मेदवारको टिकट पाउनुपर्छ, चुनाव जसले पनि जित्छ।’ यो भन्नुको अर्थ एमालेको गढ हो, यहाँ एमाले बलियो छ भन्नु थियो।
तर अहिलेको निर्वाचनमा आएको मत परिणामले एमालेलाई धक्का लागेको छ। ०७४ सालको निर्वाचनमा मेयर, उपमेयर सहित १७ वटा वडा जितेको एमालेले यस पटक गढ भनिएका वडाहरूमा समेत आफ्नो उपस्थिति बलियो बनाउन सकेन।
यति सम्मकी एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको वडा . ८ मा समेत ३० वर्षपछि नै नेपाली कांग्रेसले विजयी हासिल गर्यो।
०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय ९८ मतले पराजित भएका खेलराज पाण्डे अहिले ७ हजार ५९७ मतका साथ विजय भए।
पाण्डेले ३० हजार १३० मत ल्याउँदा एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याएका छन्। एमालेका भट्टराईले सुवेदीको बराबर मत ल्याउन सकेनन्।
०७४ सालमा निर्वाचित भएका सुवेदीले कुल मत २३ हजार २४९ मत ल्याएका थिए। ९० हजार ६५ मतदाता रहेको बुटवलमा ६२ हजार ९ सय ७५ मत खसेको थियो।
अहिलेको निर्वाचनमा वडामा एमालेले अपेक्षाकृत मत ल्याउनै सकेन। अघिल्लो निर्वाचनमा वडा नं. १, २, ६, ७, ८, ९, १०, ११, १४, १५ र १६ मा नेपाली काङ्ग्रेसभन्दा एमालेले धेरै मत प्राप्त गरेको थियो।
तर यस पटकको निर्वाचनमा भने सबै वडाबाट एमालेले गठबन्धनभन्दा थोरै मत प्राप्त गर्न सफल भयो। अघिल्लो निर्वाचनमा वडा नं.२, ३ र ७ मा राम्रै अग्रता र वडा नं ६, ८, ९ र १४ मा झिनो मतले अगाडी देखिएको एमालेलाई यी वडामा नराम्रो झड्का लागेको छ।
विगतमा पराजय भोगेका १९ र १८ मा एमालेले जिते पनि नगर प्रमुखका लागि थप योगदान गर्न सकेनन्। वडा नं १४ मा एमालेले दोहोर्याएर जितेको भए पनि नगर प्रमुखका लागि भने कम मत आयो।
एमालेको पकड र बुटवल नतिजालाई निर्णायक गराउने वडा मानिएको वडा नं. ११ बाट समेत यो पटक मेयरमा कम मत आयो। भलै वडा अध्यक्षमा एमालेका रामचन्द्र क्षेत्रीले निकै सानो मतान्तरले जितेका छन्।
अघिल्लो निर्वाचनमा ८ हजार हाराहारी मत खसेको यो वडामा एमालेले ४ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २ हजार ६ सय ९ मत प्राप्त गरेको थियो।
यस पटक नयाँ मतदाता समेत थपिएर १६ हजार बढी मतदाता रहेको यो वडामा यस पटक १० हजार ३ सय ५५ मत खसेको थियो।
किन ढल्यो किल्ला ?
२०६४ साल र ०७० सालका संविधानसभा निर्वाचन तथा २०७४ सालका स्थानीय, प्रदेश र सङ्घीय तिन वटै निर्वाचनमा एकछत्र विजय हासिल गरेको एमालेले यस पटक भने बुटवलमा नराम्रो सँग पराजित हुन पुग्यो।
एमालेको आफ्नो गढ मान्दै आएको बुटवललाई गठबन्धनको सहयोगमा नेपाली कांग्रेसले भत्काइदिएको छ।
यसरी गढ भत्किनुमा मुख्य कारण बुटवलबाट प्रदेश राजधानी दाङ लैजानु हो। कांग्रेसको सरकारले अस्थायी मुकाम बुटवल तोके पनि एमाले नेतृत्वको सरकारले स्थायी राजधानी दाङ तोक्नुको कारणले पनि एमालेको यस्तो परिणाम आएको हो।
अघिल्लो निर्वाचनको घोषणापत्रमै स्थायी राजधानी बनाउने चुनावी मुद्दा बनाएको एमालेले राजधानी दाङ तोक्दाको परिणाम अहिलेको निर्वाचनमा यहाँका मतदाताले दिएका हुन्।
स्थायी राजधानीको प्रस्ताव संसद्मा टेबल हुँदै गर्दा जुरुक्क उठेर काठमाडौँ हिँडेका बुटवलका मेयर शिवराज सुवेदीको त्यो कदम र उनकै कतिपय कार्यशैली पनि एमालेका लागि महँगो बन्यो। भलै यो कार्यकर्ताले कति स्वीकार्य भएको यही हो।
‘बुटवलको आन्दोलनको राप ताप हुँदा सुवेदी पार्टी विपरीत गएर यहाँका जनतासँग सडकमा आउनुपर्थ्यो। तर उहाँ काठमाडौँमा जानुभयो। बुटवल राजधानी बनाउँछौ भनेर चुनावी मुद्दा बनाउने अनि जनतासँग हुनुपर्ने मेयर काठमाडौँमा जाँदा जनता रुष्ट भए। त्यही अनुसार अहिले नजिता आएको हो,’ एमालेकै एक नेताले भने ।
त्यस बाहेक बुटवल ज्योति नगरको पहिरो, तिनाउ दावन कोरिडोर, लालपुर्जा वितरणको आशा र बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक समेत एमालेका लागि महँगो साबित बनिदियो।
अधिकार क्षेत्रभित्र नपर्ने बुटवल चौराह गोलपार्क सडक कालोपत्रे नगरे पनि धुलो नउड्ने बनाउन सक्ने प्रशस्त आधार भए पनि मेयर सुवेदीले अधिकारका कुरा मात्र गरेर गफ गरे।
अर्को कारण अन्तर्घात। एमाले विभाजन अघि देखिनै ढुलमुल ढुलमुल गरेकाहरू पछि एमालेमा जिम्मेवार पदमा बसे। तर त्यहिनै व्यक्ति स्वार्थमा लाग्दा एमालेलाई हराउन लागे।
एमालेका युवा नेता देवराज पोखरेलले भूगोलमा काम गरेको तर काम नगर्ने, विभिन्न शक्तिकेन्द्र प्रयोग गरेर टिकट पाउने र शक्तिको आडमा पार्टी बनाउनेहरूको अपमान गर्दा पनि अहिलेको नतिजा आएको बताए।
त्यस्तै उनले बुटवलमा एमालेको पराजयको मूल कारण प्रदेश राजधानी नै रहेको बताए।
‘राजधानी सार्नै नहुने भन्ने पनि होइन। तर, कुनै पनि कमिटी तथा रुपन्देहीका कुनै पनि सङ्घ, संस्थामा सामान्य छलफल समेत नगराई, ओली र प्रचण्ड लाई सहमत गराएकै कारण, रुपन्देहीको पार्टी पङती र आम जनतालाई सम्पुर्णरुपले उपेक्षा गरी हठात् गरिएको निर्णयले स्वाभाविक परिणाम दिएको छ’ उनले भने।
साथै उनले प्रदेश राजधानीको मुद्दाले रुपन्देही ध्वस्त पारेको भए पनि राजधानीको मुद्दाबाट दाङ पार्टीले समेत लाभ लिन नसकेको बताए।
एमाले विभाजनको विश्लेषण
एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बन्यो। यो निर्वाचनमा एकीकृत समाजवादी पार्टीलाई एमालेले कुनै विश्लेषण गर्न थालेन।
कपालका रौहरु एक दुई झर्दैमा केही फरक पर्दैन भन्यो। तर बुटवलमा त्यस्तो थिएन। वडा नं २ मा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भए।
अघिल्लो निर्वाचनमा यो वडाबाट १८ सय मत पाएको एमालेले यस पटक ८ सय मत पनि पाउन सकेन। एकीकृत समाजवादीले यो वडामा एमालेको भोट काट्यो। त्यति मात्र होइन वडा नं. ११ मा समेत एकीकृत समाजवादीले एमालेको भोट काट्दा मेयरमा एमाले भन्दा कांग्रेसलाई बढी मत आयो ।
बेअर्थी जनमुक्ति तालमेल
चुनावले देश राप ताप भइरहेका बेला काठमाडौँबाट एमाले अध्यक्ष केपी ओलीले नेपालका प्रथम सहिद लखन थापा होइनन् भनेर सार्वजनिक मञ्चबाटै बोले।
परिणामतः देशभर जनजातिहरूले ओलीको पुत्ला समेत जलाए। ओलीको त्यो बोली एमालेका लागि महँगो बन्ने निश्चित थियो । तर त्यही एमालेले बुटवलमा जनजातीकै बढी बाहुल्यता रहेको जनमुक्ति पार्टीसँग चुनावी तालमेल गर्यो।
कांग्रेसी चुनावी रणनीतिका अगाडि एमालेले कुनै निशंका जनमुक्ति बोक्यो। त्यही कांग्रेस चुनावमा बेअर्थी चौराहामा लखन थापालाई माला लगाइदिएर प्रथम सहिद थापा नै हुन भन्दै जनजाति मत तान्ने कार्ड फ्याँक्यो।
एमालेले कांग्रेसको यो कामलाई खास वास्तै गरेन। त्यही कारण जनमुक्तिले एमालेसँग सहमति गरे पनि कांग्रेसमा मत हाल्यो। त्यसको नतिजा बुटवलको वडा नं. १० को मत परिणामले पनि देखाउँछ।
‘बढी बाहुल्यता ९ र १० मा जनमुक्तिको छ। तर भोट ट्रेन्ड हेर्दा एमालेलाई पुरा धोका दिएको देखिन्थ्यो,’ बुटवल १० को मतगणना स्थलमा गणक बनेका तेजेन्द्र बानियाँले भने।
को हुन खेलराज पाण्डे ?
खेलराज पार्टी भित्र एक इमानदार छवि र सबैसँग मिल्न सक्ने गुण भएका व्यक्ति हुन्। २०२६ साल फागुन ५ गते स्याङ्जाको साबिक आलमदेवी–२ (हाल कालिगण्डकी–२) मा जन्मेका पाण्डे हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगरका बासिन्दा हुन्।
पाण्डेले २०३८ सालमा बुटवल झर्नुअघि नै विद्यार्थी सङ्गठनमा आबद्ध भएर उनले राजनीति सुरु गरेका थिए। आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए। त्यसपछि उनी निरन्तर विद्यार्थी सङ्गठन भित्र रहेर काम गरे।
उनी २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रुपन्देहीको नेविसंघ सचिव भए। पाण्डे २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर काम गरेका छन्। उनले स्नातक तहसम्मको अध्ययन गरेका छन्।
जेठ ७, २०७९ शनिबार २३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।