डा. जैनेन्द्रको शल्यक्रिया अनुभव : एसिड पिएका पुरुषको खाना नली नै जलेपछि...
काठमाडौँ : डा. जैनेन्द्रकुमार चौधरीको अनुभवले भन्छ,'हरेक शल्यक्रिया जटिल हुन्छन्। शल्यक्रियाका क्रममा निम्तनसक्ने स्वास्थ्य जटिलताको व्यवस्थापनकालागि जतिखेर पनि चिकित्सक तयारी अवस्थामा रहनुपर्छ।
वरिष्ठ कन्सल्टेन्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. जैनेन्द्र शल्यक्रियाका क्रममा हुन सक्ने जटिलताका लागि सधैँ तयारी अवस्थामा रहन्छन्। तर, कहिलेकाहीँ सजग रहँदा रहँदै पनि स्वास्थ्य समस्या जटिल नहोला भन्न सकिन्न।
करिब सात महिना अघि शल्यक्रियाका क्रममा यस्तै एउटा समस्याको सामना गर्नुपरेको क्षण डा. जैनेन्द्रको मानसपटलमा ताजै छ।
करिब २४ वर्षकी महिलाको कलेजोमा ट्युमरको समस्या भएर उपचारका लागि वीर अस्पताल पुगेपछिको एउटा प्रसङ्ग सुनाए उनले। ती महिलाको शल्यक्रिया गरी ट्युमर फाल्नुपर्ने थियो।
त्यसैले डा. जैनेन्द्रको टिमले ती महिलाको कलेजोमा भएको शल्यक्रियाका लागि तयारी गर्यो। अस्पतालको तालिका तथा सबै व्यवस्थापनपछि बिरामीलाई शल्यक्रिया कक्षमा लगियो। डा. जैनेन्द्रको चिकित्सकको टिमले महिलाको शल्यक्रिया थाल्यो।
महिलाको शल्यक्रिया गर्ने क्रममा रगतको नसा च्याप्ने क्ल्याम्पले कलेजोमा भएको रगतको नसा चिकित्सकले च्यापेका थिए। रक्तनलिबाट धेरै रगत बग्न नदिनका लागि क्ल्याम्प लगाइन्छ। जुन क्याल्याम्पलाई चिकित्सकीय भाषामा भाष्कुलर क्याल्याम्प भनिन्छ।
तर, त्यो क्ल्याम्प शल्यक्रिया गरिरहेको समयमा एक्कासि चिप्लिएर फुत्केछ। बिरामीको रगतको नसा च्याप्ने क्ल्याम्प नै चिप्लिएपछि नसाबाट ह्वालह्वाल रगत बग्यो। केही क्षणमा नै डेढ-दुई लिटर रगत बग्यो।
त्यसरी रगत बगेपछि शल्यक्रियामा खटेको टिम आत्तियो। तर, डा. जैनेन्द्र लगायत शल्यक्रियामा खटेको टिमले बिरामीको रगतको नसा सिलायो। त्यो बेला द्रुतगतिमा काम गरेर रगत बग्न नरोकिएको भए अप्रेसन टेबुलमा नै बिरामीको मृत्यु हुन सक्थ्यो।
त्यो बेला डा. जैनेन्द्रको मनमा थप डरले डेरा जमाएको थियो,'अप्रेसन थिएटरमा नै युवतीको मृत्यु भए उनका आफन्तलाई मृत्युको खबर कसरी सुनाउने?
तर उनले मनको त्यो भाव बाहिर देखिन दिएनन्। उनी र शल्यक्रियामा खटेको टिमले शल्यक्रिया जारी राख्यो। शल्यक्रियामा कमजोरी हुन पाएन।
उपचारका क्रममा पाको उमेरका व्यक्तिको तुलनामा भर्खरका व्यक्तिको मृत्यु भएको खण्डमा मृत्युको खबर मृतकका आफन्तलाई सुनाउन निक्कै कठिन हुने गरेको अन्य चिकित्सकोझैँ उनको पनि अनुभव छ।
धन्य, शल्यक्रिया सफल भयो। बिरामीको ज्यान बाँच्यो। उपचारमा खटिएको चिकित्सकको टिम खुसी भयो। त्यसअघि शल्यक्रियाका क्रममा बिरामीमा त्यस्तो जटिलता निम्तिएको अनुभव उनले कहिल्यै गर्नुपरेको थिएन।
शल्यक्रियाको त्यो प्रसङ्गबाट डा. जैनेन्द्रले जति अनुभवी चिकित्सक भए पनि कुनै पनि शल्यक्रिया गर्दा सचेत अवस्थामा रहनुपर्ने थप सन्देश पाए। शल्यक्रिया गर्दागर्दै जटिलता निम्तिए तुरुन्तै व्यवस्थापन गर्न जान्नुपर्छ भन्ने थप ज्ञान सिके।
कुनै पनि शल्यक्रियामा अनुभव छ भन्दै बढी आत्मविश्वासी बनेर हेलचेक्राई गर्न नहुने डा. जैनेन्द्रलाई जहिल्यै महसुस हुन्छ। त्यसमा उनी जहिल्यै सचेत र सजग हुन्छन्।
तुरुन्तै शल्यक्रिया गर्नुपर्ने युवाको खल्तीमा २० रुपैयाँ मात्रै
वीर अस्पतालको आकस्मिक कक्षमा पुगेका करिब २० वर्षका युवा आर्थिक अभावमा उपचार गर्न नपाएर छटपटाएको क्षण डा. जैनन्द्र कहिल्यै भुल्दैनन्।
जुन बेला उनी एमएस अध्यायको क्रममा थिए। डा. जैनेन्द्र अस्पतालको आकस्मिक कक्षमा काम गरिरहेको समयमा एक युवालाई आमाले आकस्मिक कक्षमा ल्याइन।
अस्पतालमा स्वास्थ्य जाँच गर्दा ती युवाको आन्द्रा बटारिएको थाहा भयो। ती युवाको डुमडुम्ती पेट फुलेको थियो। दिसा नै गएको थिएन। ती युवा पिडाले छटपटाइरहेका थिए। युवाको पेटको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने थियो। तर, आकस्मिक कक्षमा उपचारका लागि पुगेका युवाले खल्तीबाट २० रुपैयाँ भन्दा निकाल्न सकेनन्।
सुरुमा त युवाले पैसा छैन भनेर ढाँटेका होलान् भन्ठाने डा. जैनेन्द्रले। तर, युवासँग साँच्चै पैसा रहेनछ।
त्यसपछि सिनियर चिकित्सक, साथीभाइ लगायतसँग ती युवाको पेटको शल्यक्रियाका लागि सामान जुटाउन लागि परे डा. जैनेन्द्र। उनको पहलमा ती युवाको शल्यक्रियाका लागि सामान जुट्यो। शल्यक्रियाको सामान जुटाउन समय लागेकाले आकस्मिक कक्षमा युवा पुगेको भोलिपल्ट शल्यक्रिया गरियो।
शल्यक्रिया सफल भयो। ती युवाको ज्यान बाँच्यो। अस्पतालबाट करिब एक हप्तामा डिस्चार्ज भएर घर फर्कँदा ती युवा मुसुक्क मुस्कुराए। ती युवा शल्यक्रियापछि बाँचेर मुसुक्क मुस्कुराएर घर फर्किएको त्यो क्षण सम्झँदा डा. जैनेन्द्रको मन शान्त हुन्छ। आनन्द महसुस गर्छन् उनी अहिले पनि।
उनी आपत्कालीन उपचार गर्नुपर्ने आकस्मिक कक्षमा पुगेका बिरामीका लागि उपचारको व्यवस्थापनका लागि संयन्त्र हुनुपर्ने बताउँछन्। भारतमा अति गरिबका लागि कार्ड देखाए अस्पतालले नै खर्च बेहोर्ने डा. जैनेन्द्रले सुनाए। जुन कार्डलाई बिलो पोभर्टी लाइन (बीपिएल) कार्ड भनिन्छ।
वीर अस्पतालमा यस्ता समस्या भइनै रहन्छन्। कयौँ अस्पतालले बिरामीको पैसा सकिएपछि वीर अस्पताल पठाउने गरेको उनको अनुभूति छ।
अन्तिम रिफरल बिन्दु वीर अस्पताल...
विशेष गरी खाना नलीदेखि मलाशय र मलद्वारसम्मको स्वास्थ्य समस्या भएका बिरामीको औषधि उपचार तथा शल्यक्रिया गर्नु डा. जैनेन्द्रको दैनिकी हो। त्यसै गरी आन्द्राको घाउ, कलेजोको क्यान्सर, कलेजो भित्र हुने ढुङ्गा, पित्त नली, पित्त थैली, पाचन तथा पेटजन्य ट्युमर लगायतको शल्यक्रियामा उनी तल्लीन हुन्छन्। जुन जटिल शल्यक्रियामा पर्छन्।
विशेष गरी वीर अस्पतालको ग्याष्टो सर्जरी विभागमा क्यान्सर, ट्युमर लगायतका स्वास्थ्य समस्या भएका बिरामी शल्यक्रियाका लागि पुग्छन्। बिशेषगरी क्यान्सर फैलिएर बचाउनै नसक्ने अवस्थामा पुगेका बिरामी देख्दा उनको मन भारी हुन्छ। उनी सोच्छन्,'चाँडै थाहा भएको भए बचाउन सकिन्थ्यो की।'
डा. जैनेन्द्रको अनुभवमा वीर अस्पतालमा धेरै बिरामीहरू अन्य ठाउँमा चेक जाँच गर्दै स्वास्थ्य जटिलता निम्तिएपछि पुग्ने गर्छन्। यस्ता कयौँ बिरामीलाई बचाउन नसक्दा निक्कै दुःखी हुन्छन् उनी।
सामान्यतः वीर अस्पताल सरकारी अस्पतालमध्ये रिफरको अन्तिम बिन्दुका रूपमा समेत परिचित हुँदै आएको छ।
वीर अस्पतालमा कयौँ पैसा अभावमा उपचार नै गर्न नसक्ने बिरामी पुग्छन्। स्वास्थ्य जाँच गर्दागर्दै पैसा नपुगेर उपचार गर्न नसेको समेत उनले नदेखेका हैनन्।
विशेष गरी आर्थिक अवस्था कम भएका बिरामीका आफन्तले बिरामी लामो समय नबाँच्ने जानकारी पाए उपचार नै नगरी फर्किएको नजिकबाट देखेका छन् उनले।
आफैले उपचार गरेका बिरामी पनि आर्थिक अभावले फर्किने गरेको डा. जैनेन्द्रले सुनाए। आर्थिक अभावकै कारण उपचार नै नगरी फर्कनुपर्ने अवस्था निम्तन नदिन सरकारले आर्थिक व्यवस्थापन गर्नुपर्ने डा. जैनेन्द्रको सुझाव छ।
आफ्नै नेतृत्वमा गरेको त्यो जटिल शल्यक्रिया
करिब ६ वर्ष अघि ५४ वर्षीय कलेजोको क्यान्सर भएका बिरामीको जटिल किसिमको शल्यक्रिया गरेको क्षण डा. जैनेन्द्र कहिल्यै भुल्दैनन्। ती बिरामीको शल्यक्रिया गर्नु पूर्व उनी निक्कै नै द्विविधामा परे।
कलेजेको क्यान्सर भएका बिरामी वीर अस्पताल पुगेका थिए। डा. सुबोध अधिकारी लामो बिदामा थिए। त्यो बेला डा. जैनेन्द्रसँग दुई विकल्प मात्रै भए,कि डा. सुबोध अस्पताल आएपछि शल्यक्रिया गर्ने या आफैँ शल्यक्रिया गर्ने।
तर, ती बिरामीको चाँडै शल्यक्रिया नगरे ट्युमर बढ्दै गएर स्वास्थ्य जटिलता निम्तिने जोखिम थियो। कलेजोको शल्यक्रिया जटिल शल्यक्रियामा पर्छ। त्यो शल्यक्रिया वीर अस्पतालमा गर्नुपर्ने पहिलो शल्यक्रिया पनि थियो। पहिलो पटक गर्ने जटिल शल्यक्रियामा विभागीय प्रमुख नहुँदा उनलाई दुबिधा हुनु स्वाभाविकै हो।
त्यो समयमा डा. जैनेन्द्र भर्खरै सर्जरीको कमान्ड गर्न सक्ने भएका थिए। सोच बिचारपछि उनले ती बिरामीको कलेजोको आफैँ शल्यक्रिया गर्ने निष्कर्षमा पुगे। शल्यक्रियाको सबै व्यवस्थापन गरे। त्यसपछि डा. जैनेन्द्र नेतृत्वको चिकित्सकको टिमले ती बिरामीको कलेजोको शल्यक्रिया थाल्यो। शल्यक्रिया सक्न दश घण्टाभन्दा बढी समय लाग्यो।
जटिलता निम्तिन नदिन चिकित्सक टिम सचेत छँदैथ्यो।
धन्य। शल्यक्रियाका क्रममा बिरामीमा जटिलता निम्तिएन। डा. जैनेन्द्र नेतृत्वको चिकित्सकको टिम शल्यक्रिया गर्न सफल भयो। बिरामीको ज्यान बाँच्यो।
आफैँले नेतृत्व लिएर पहिलो पटक गरेको जटिल किसिमको शल्यक्रियामा सफलता मिलेको त्यो प्रसङ्गले उनलाई थप ऊर्जा मिलेको महसुस हुन्छ। सम्भवतः त्यस किसिमको कलेजोको शल्यक्रिया वीर अस्पतालमा पहिलो पटक गरिएको थियो। अहिले पनि ती बिरामी फलोअपमा आइरहेको र स्वास्थ्य समस्या नरहेको उनले सुनाए।
रिफर भएर आएकी महिलालाई बचाएको त्यो क्षण
नेपालगन्जबाट करिब आठ वर्ष अघि रिफर भएर वीर अस्पताल पुगेका बिरामी बचाएर घर पठाएको प्रसङ्ग डा. जैनेन्द्र कहिल्यै भुल्दैनन्।
करिब ४५ वर्षकी व्यक्तिको पित्त थैलीको शल्यक्रिया गरिएको रहेछ। तर, शल्यक्रियाका क्रममा पित्त नलिमा समेत चोट लागेछ।
त्यसपछि ती बिरामी रिफर भएर वीर अस्पताल पुगिन्। डा.जैनेन्द्र नेतृत्वको चिकित्सकको टिमले ती बिरामीको पित्त नलिको शल्यक्रिया गर्यो। शल्यक्रिया पनि सफल भयो। बिरामी बोल्न नसक्ने अवस्थामा थिइन्। तर, शल्यक्रियापछि भने जटिलता निम्तिएर आन्द्राबाट भित्रभित्रै रक्तस्राव भएछ।
तर, दिसाको माध्यमबाट भने रगत बाहिर निस्किएको थिएन। जसले गर्दा बिरामी अस्पतालमा नै भए पनि रक्तस्राव भएको थाहा पाउन केही दिन लागेछ। उनको रगतको समूह (ब्लड ग्रुप) ‘ओ’ नेगेटिभ थियो। जुन रगतको समूह पाउन कठिन थियो। रगतको अभाव लगायतको व्यवस्थापन गर्न ढिलो भएपछि बिरामी बचाउन नसकिने हो की भन्ने निक्कै चिन्ता परेको परेको थियो।
तर, औषधि उपचार तथा रगत व्यवस्थापनपछि ती बिरामीलाई बचाउन सफल भएको उनले सुनाए। डा. जैनेन्द्रको टिम आफैँले रगतको व्यवस्थापन गरेर ती महिलालाई बचाउन सफल भएको उनले अनुभव सुनाए।
युवतीको फेरी शल्यक्रिया गर्नुपरेपछि
त्यसै गरी करिब पाँच वर्षअघि १६ वर्षकी युवतिलाई बचाएको क्षण पनि डा. जैनेन्द्र भुल्दैनन्। ती युवतिको पाचन ग्रन्थि (प्यांक्रियाज)मा ढुङ्गा जमेर स्वास्थ्य समस्या निम्तिएको थियो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘क्रोनिक प्यांक्रियाटाइटिस’ भनिन्छ। ती युवतिको स्वास्थ्य समस्या समाधानका लागि शल्यक्रिया गर्नुपर्नेथ्यो।
डा. जैनेन्द्रको चिकित्सकको टिमले शल्यक्रियाका लागि चाँजोपाँजो मिलाएर शल्यक्रिया थाल्यो। युवतीको शल्यक्रिया सफल भयो। तर शल्यक्रियापछि स्वास्थ्य जटिलता निम्तियो। शरीरभित्र रक्तस्राव भयो। जसले गर्दा पुनः शल्यक्रिया गर्नुपर्यो।
तर, ती युवतिलाई पनि बचाउन सफल भएको प्रसङ्ग सुनाए उनले। शल्यक्रियापछि स्वास्थ्य जटिलता निम्तने जोखिम नहुने हैन। तर, स्वास्थ्य जटिलता निम्तिएको खण्डमा त्यसको तुरुन्तै व्यवस्थापन गर्न भने अनुभव निक्कै महत्त्वपूर्ण हुने डा. जैनेन्द्रको अनुभव छ।
एसिड पिएका पुरुषको खाना नली नै जलेपछि...
कतिपय अवस्थामा एसिड पिएका बिरामी समेत उनीकहाँ उपचार गर्न पुग्छन्। करिब सात वर्ष अघि एसिड पिएका बिरामीको शल्यक्रिया गरेको घटना डा. जैनेन्द्रको मानसपटलमा ताजै छ।
करिब ४० वर्षका पुरुषले एसिड पिएछन्। झुक्किएर पिए वा आत्महत्याको उद्देश्यले पिए त्यो चाहिँ खुलेन। एसिड पिएका पुरुषको मुख भन्दा तलको खाना नली नै जलेको रहेछ। खानानली जलेपछि नली साँघुरो हुँदै गएछ। खना नली साँघुरो भएकाले खाएको खाना पेटसम्म पुग्न छोडेछ।
डा. जैनेन्द्रको टिमले ती पुरुषको शल्यक्रिया गरी ठुलो आन्द्रालाई तानेर घाँटीमा लगेर खानानली बनाए। शल्यक्रिया सफल भएको करिब दश दिनपछि ती पुरुष डिस्चार्ज भएर घर फर्के। केही समयसम्म फलोअपमा पुग्दा ती पुरुषको खाना नलिमा जटिलता नदेखिएको उनले सुनाए।
अध्ययन र जागिर
सिराहाको लहानमा २०३१ मा जन्मिएका जैनेन्द्रले स्थानीय विद्यालयबाट २०४७ मा एसएलसी उत्तीर्ण गरेका हुन्। एसएलसीपछि उनी काठमाडौँ हानिए। उनले त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माविबाट आइएस्सी अध्ययन गरे।
त्यसपछि काठमाडौँ विश्वविद्यालय अन्तर्गतको पोखरास्थित मनिपाल मेडिकल कलेजमा जैनेन्द्रले सन् १९९६र०९७ मा एमबिबिएस अध्ययन सुरु गरे। उनले सन् २००१ मा एमबिबिएस अध्ययन पूरा गरे।
एमबिबिएस अध्ययनपछि डा. जैनेन्द्र लोकसेवामार्फत २०६१ मा मेडिकल अधिकृतका रूपमा सरकारी जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनी पहिलो पोस्टिङ भएर धनगढीको सेती अञ्चल अस्पतालमा पुगे। त्यहाँ उनले करिब दुई वर्ष काम गरे।
त्यसपछि डा. जैनेन्द्र सरुवा भएर रामेछाप जिल्ला अस्पताल पुगे। रामेछापमा करिब तीन महिना काम गरेपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर तहको जनरल सर्जरी विषयको एमएस अध्ययन गर्न थाले। सन् २००९ मा डा. जैनेन्द्रको एमएस अध्ययन पूरा भयो।
उनले सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेका हुन्। अध्ययनपछि वीर अस्पतालमा नै उनले निरन्तर काम गरिरहे। त्यसयता उनी वीर अस्पतालमा नै कार्यरत छन्।
त्यसपछि डा. जैनेन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नै एमसीएच अर्थात् सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजि विषयको तीन वर्षीय अध्ययन सन् २०१४ मा सुरु गरे। उनले सन् २०१६ मा एमसीएच अध्ययन पूरा गरेका हुन्। जुन विद्यावारिधि उपाधि सरहको विशिष्टीकृत (सुपर स्पेशलाईजेशन)अध्ययन हो।
त्यसो त उनको परिवारले लहानको आँखा अस्पताल बनाउन सहयोग गरेका रहेछन्। त्यसैले उनका परिवार तथा आफन्तले जैनेन्द्र आँखाकै डाक्टर बन्छन् भन्ने सोच्थे रे।
एमसीएच अध्ययन सकिएपछि डा. जैनेन्द्रले अमेरिकाको सियाटलस्थित वासिङ्टन युनिभर्सिटी मेडिकल सेन्टरमा ल्याप्रोस्कोपिक कोलोरेक्ट्रल सर्जरी विषयको एक महिने तालिम तथा सिप सिके। अमेरिका नेपाल मेडिकल फाउन्डेसनको व्यवस्थापनमा उनले यो तालिम तथा सिप सिक्ने अवसर पाएका हुन्। तालिमपछि वीर अस्पतालमा उनले पहिलो पटक ल्याप्रोस्कोपिक कोलोरेक्ट्रल सर्जरी सुरु गरेको सुनाए।
उनी वरिष्ठ कन्सल्टण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट तथा सह–प्राध्यापकको भूमिकामा छन्। त्यसै गरी डा. जैनेन्द्र वीर अस्पतालको सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजि विभागको प्रमुखको भूमिकामा समेत छन्।
११ र साढे तीन वर्षका दुई छोरी छन् उनका। उनकी श्रीमतीले फरेष्ट्रि विषयमा विद्यावारिधि गरेकी हुन्। उनकी श्रीमती वातावरण सम्बन्धी काम गर्छिन्। डा. जैनेन्द्र प्रायः अस्पतालमा नै व्यस्त हुने भएकाले परिवारमा समय दिन कम भ्याउँछन्।
जेठ ७, २०७९ शनिबार २३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।