पोखरामा ८६ हजार २५७ मत गणना, गठबन्धन उम्मेदवार आचार्यको अग्रता कायमै
पोखरा : पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्। गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले महानगरमा ८६ हजार २ सय ५७ मत गणना हुँदा ३४ हजार ८ सय १९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर थापाले ३१ हजार ३ सय ७४ मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार ४४५ मत बढी छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ३ हजार ८ सय ८१ मत पाएका छन भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले २ हजार ३ सय ५० मत पाएका छन्। उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ३५ हजार ७ सय ९९ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३५ हजार २ सय ८९ मत प्राप्त गरेकी छन्। गुरुङ र रानाभाट बीचको मतान्तर जम्मा ५१० रहेको छ।
पोखरा महानगरका ३३ वटा वडामध्ये १, ५, ६, ८ र २० मा एमाले विजयी भएको छ । त्यसैगरी वडा नम्बर २, ३, ४, ७, ९, १२, १३ १४, २३, २४,२५,२६, २७ र २८ मा कांग्रेस विजय भएको छ । महानगरमा अहिलेसम्म वडा नम्बर १०, ११, १५, १६ , १४,२९,३० र ३१ को मतगणना चलिरहेको छ।
०७४ को निर्वाचनमा एमालेले पोखराको मेयर उपमेयर सहित २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले महानगरका ११ वटा वडा मात्र जितेको थियो । अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले १४ वटा वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वटामा विजयी भएको छ।
पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
जेठ ७, २०७९ शनिबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।