तनहुँ व्यासको मेयरमा कडा प्रतिस्पर्धा, कांग्रेसका न्यौपानेको १२ मतको अग्रता
पोखरा : तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बैकुन्ठ न्यौपाने र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबीच रोचक प्रतिस्पर्धा देखिएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर समेत रहेको तनहुँको ब्यासमा मतगणनाको शुरुवातदेखि नै स्वतन्त्र उम्मेदवार जोशीले अग्रता लिएका थिए । तर, शनिबार मध्यान्हदेखि व्यास ९, १० र ११ को मतगणनाका क्रममा न्यौपाने झिनोमतले अग्रता लिएका छन्।
जोशीसँग झण्डैं ६, सात सय मतले पछाडि रहँदै आएका न्यौपानेले पछिल्लो पटक सार्वजनिक गरिएको मत परिणाममा १२ मतले अगाडी देखिएका छन्। न्यौपाने सात हजार ४ सय ६५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्रका जोशीले सात हजार चार सय ५३ मत पाएका छन्।
ब्यासको चौध ओडामध्ये अहिले एकदेखि ८ सम्मका वडाहरूको मत गणना सकिएको छ । जसमध्ये पाँच वटा वडामा अध्यक्ष सहितको प्यानल कांग्रसले जितेको छ भने तीन वटा वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरमा अब, पाँच वटा वडाहरूको मत गणना चलिरहेको छ ।
तनहुँमा पछिल्लो समय कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाविरुद्ध जिल्लामा आफ्नै पार्टीका नेताहरूले षड्यन्त्र गरेर उनलाई कमजोर बनाउने खेल चलिरहेको छ। पौडेललाई कमजोर बनाउने योजना अनुसार कांग्रेसका नेता एवं पुर्वमन्त्री समेत रहेका गोविन्दराज जोशीले ब्यासको मेयिरमा एमालेसंग मिलेर छोरा दीपकराजलाई स्वतन्त्रबाट उम्मेदवार बनाएका छन्। कांग्रेसको जिल्ला र केन्द्रमा रहेका एकथरी नेताहरूले पौडेल निकट पार्टीका उम्मेदवार न्यौपानेलाई हराउने योजनामा लागेका छन्।
तनहुँ कांग्रसका एक थरी नेताहरूले रामचन्द्रलाइ कमजोर बनाउन जोशीलाई भित्री रूपमा सघाउँदै आएका छन्। उनीहरूले अहिलेको चुनावमा कसरी रामचन्द्रले समर्थन गरेका नेतालाई हराउने र आफ्नो शक्ति स्थापित गर्ने भन्ने मै समय खर्चिएका छन्।
ब्यासमा मतगणना सकिएका आठ वडामध्ये कांग्रेसका उम्मेदवार विजयी भएका छन्। तीनमा एमालेले विजयी हासिल गरेको छ। तर, पाँच वडा जित्दा पनि कांग्रेसबाट मेयर बनेका न्यौपाने झिनो मतले अगाडी देखिएकाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीका वडा अध्यक्षलाई मत दिएपछि स्वतन्त्रका दीपकराजलाई मत दिएको प्रस्ट हुन्छ।
जेठ ७, २०७९ शनिबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।