बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उपमेयरमा एमाले विजयी

बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उपमेयरमा एमाले विजयी

बुटवल : बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका खेलराज पाण्डे विजयी भएका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार पाण्डे ७ हजार ५३३ मतान्तरसहित विजयी भएका हुन्। 

बुटवलको मेयरमा निर्वाचित पाण्डेले ३० हजार १३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार भट्टराईले २२ हजार ५९७ मत प्राप्त गरे। त्यस्तै राप्रपाबाट मेयर पदका उम्मेदवार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत प्राप्त गरे।

त्यस्तै उपमेयरमा भने गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङलाई पछि पार्दै एमाले उम्मेदवार सावित्रा अर्याल विजयी भएकी छन्। अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार गुरुङले १६ हजार ९८० मत प्राप्त गरे। उपमेयरमा राप्रपाकी उम्मेदवार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरिन्।

१९ वडा रहेको बुटवलमा ११ वटा वडा काँग्रेसले जितेको छ भने ५ वटा वडा एमालेले जितेको छ। बुटवलमा माओवादी केन्द्रले १, नेकपा एकीकृत समाजवादीले १ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। वडा नं.४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ काँग्रेसले जितेको छ। जसमा ४ को अध्यक्षमा नरिशवर शर्मा, ५ को अध्यक्षमा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदिपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी भएका छन्। 

त्यस्तै एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ। एमालेले जितेको वडा नं.१० को अध्यक्षमा बलबहादुर पुन, ११ को अध्यक्षमा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र वडा नं. १९ को अध्यक्षमा चन्द्रसिंह थापा मगर निर्वाचित भएका छन। वडा नं. १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भए। उनले काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

वडा नं.२ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य र वडा नं.३ मा पनि गठबन्धनबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी भएका छन्। ढकाल रुख चिन्हबाट निर्वाचित भए।

२०४९ सालको निर्वाचनमा काँग्रेसबाट स्वर्गीय सुर्यप्रसाद प्रधान बुटवलको मेयरमा निर्वाचित भए यता बुटवलमा काँगेसले जित्न सकेको थिएन। अघिल्लो निर्वाचनमा पनि पाण्डेलाई २ हजार ३ सय मत अन्तरले पराजित गर्दै बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी निर्वाचित भएका थिए।

जेठ ७, २०७९ शनिबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।