पोखरामा मेयरका उम्मेदवार आचार्यको फराकिलो अग्रता
पोखरा : पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार धनराज आचार्यले फराकिलो अग्रता लिएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका आचार्यले महानगरमा ६९ हजार ९ सय ६८ मत गणना हुँदा २८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर थापाले २५ हजार ३ सय ५७ मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार २०६ मत बढी छ। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ३ हजार ६३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले १ हजार ८२२ मत पाएका छन्।
उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले २९ हजार २० मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले २८ हजार ९ सय मत प्राप्त गरेकी छन् गुरुङ र रानाभाट बीचको मतान्तर जम्मा १२० रहेको छ।
महानगरको वडा नं १, ५,६,८ र २० मा एमाले विजयी भएको छ भने वडा नम्बर २, ३, ४, ७, ९, १२, १३ ,२३, २४,२५ र २६मा कांग्रेस विजय भएको छ। महानगरमा अहिलेसम्म वडा नम्बर १०, १५, २०, १४, २७ र २८ वडाको मतगणना चलिरहेको छ।
पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
जेठ ६, २०७९ शुक्रबार १७:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।