पीडित युवतीको सम्पर्कमा प्रहरी, घटनाबारे प्रारम्भिक जानकारी लियो

पीडित युवतीको सम्पर्कमा प्रहरी, घटनाबारे प्रारम्भिक जानकारी लियो

काठमाडौँ : प्रहरी सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गर्दै मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेले बलात्कार गरेको आरोप लगाएकी पीडित युवतीको सम्पर्कमा पुगेको छ। कानुनी रूपमा जाहेरीको हदम्याद नाघे पनि सर्वोच्च अदालतका केही फैसलाले थप प्रमाण भएको अवस्थामा हदम्याद नाघ्नु मात्र कानुनबाट उन्मुक्ति पाउने कारण हुन नसक्ने उल्लेख गरेको छ।

ती फैसलाको आधारमा अदालतबाट अनुमति लिएर आरोपी विरुद्ध अनुसन्धानको प्रक्रिया अगाडि बढाउन सकिने देखिएपछि महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी पीडित युवतीको सम्पर्कमा पुगेको हो। प्रहरीले युवतीको गोपनीयता कायम राख्न उनलाई भेटेको स्थान खुलाएको छैन।

स्रोतका अनुसार महाशाखाका उच्च अधिकारीले उनलाई भेटेर घटना अनि उनीसँग रहेका प्रमाणहरू बारे प्रारम्भिक जानकारी लिएको हो। प्रारम्भिक विवरणहरूमा अनुसन्धान अगाडि बढाउन आवश्यक प्रमाणहरू देखिएमा औपचारिक रूपमा अनुसन्धान अगाडि बढाइने एक प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।

प्रहरीले बिहीबार नै आरोपी पाण्डेलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर हदम्याद नाघेका कारण जाहेरी दर्तामा समस्या देखिएपछि प्रहरी ब्याक भएको थियो। पीडित युवतीका अनुसार घटना ८ वर्ष अगाडिको हो। मुलुकी अपराध संहितामा भने हाडनाता बाहेकको वयस्कको हकमा घटना भएको एक वर्षभित्र र नाबालिगको हकमा बालिग भएको एक वर्षभित्र जाहेरी दर्ता गर्न सक्ने प्रावधान छ।

६ जेठ, २०७९, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।