पाँचौँ शक्तिमा खुम्चिने देखियो एकीकृत समाजवादी: नेता भन्छन्- जनताले अनुमोदन गरे, विश्लेषक भन्छन्- गरेनन्

पाँचौँ शक्तिमा खुम्चिने देखियो एकीकृत समाजवादी: नेता भन्छन्- जनताले अनुमोदन गरे, विश्लेषक भन्छन्- गरेनन्

काठमाडौः देशभरका ८० प्रतिशत स्थानीय तहको नतिजा आउँदा एमालेबाट विभाजन भएको एकीकृत समाजवादी पाँचौँ शक्ति बन्ने देखिएको छ। गठबन्धन गर्दा पनि सम्मानजनक भाग नपाएकोमा एकीकृत समाजवादीको चित्त दुखाइ अहिले पनि छ। 

दलका अध्यक्ष माधवकुमार नेपालले हरेक जस्तो सभामा कांग्रेसले घमण्ड गरे अधोगतिमा लाग्ने भन्दै असन्तुष्टि पोखे। दलका केन्द्रीय नेताहरू कांग्रेससँग आक्रोशित थिए। 

‘कांग्रेस हेपाहा जात हो योसँग सकिँदैन’, 'ऊ सँधै आफूलाई ठालु ठान्छ अरूको हिसाब नै राख्दैन’ भन्ने जस्ता टिप्पणी केन्द्रीय नेताहरू राखिरहन्थे।

निर्वाचनअघि नै विभाजन भए पनि पार्टीले विभाजनको अर्थ पुष्टि गर्न सकेको छैन। विभाजनले एमालेलाई पनि घाटा त लाग्यो। 'पहिलो पार्टी हुँ' भन्ने फुर्ति एमालेले अब लगाउन पाउने छैन।

०००
एकीकृत समाजवादीले हालसम्म १३ पालिका प्रमुख, १७ पालिका उपप्रमुख जितेर ६ पालिका प्रमुख र तीन पालिका उपप्रमुखमा अग्रता लिइरहेको छ। 

स्थानीय चुनाव एकीकृत समाजवादीको लागि परीक्षाको समय थियो। जनताबाट अनुमादन हुन्छ कि हुँदैन भन्ने प्रमुख विषय थियो। 

समाजवादीका नेताहरू जनताबाट अनुमोदित भएको दावी गर्छन्। ‘पार्टी र चुनाव चिह्न स्थापित भएको छ, जनताले अनुमोदन गरे,’ एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले उकेरासँग भने, ‘तीन दल एकातिर हामी अर्कोतिर भएर चुनाव लड्यौं तर पनि चुनाव जित्यौं।’ 

गठबन्धनको भर पर्दा पार्टी पछि परेको दलका नेताहरू बताउँछन्। अब केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालय बैठक बसेर पार्टीले निर्वाचनको मुल्याकंन गर्नेछ। 

‘धेरै इमान्दार भयौं, विश्वास गर्यौं राजनीतिमा इमानदारिताले धोका खाने रहेछ भनेर बुझ्यौं। गठबन्धन भनेर मात्र लाग्यौं तयारी गर्न सकेनौं,’ चौधरीले भने।

उनले गठबन्धनले धोका दिएको बताउँदै आफूहरूले एकल तयारी गरेको भए अझ राम्रो मतपरिणाम ल्याउन सक्ने पनि दावी गरे। यस्तै कलम चिह्नबारेमा थोरै समय भएकाले बुझाउन नसकेको र मत बदर भएको चौधरीले बताए।

'विभाजन हुनेबित्तिकै चुनावको तयारीमा लाग्नुपर्थ्यो। हामी संगठन बनाउन लाग्यौं। सात दिन मात्र जनताको बीचमा जान सक्यौं। १८ गतेसम्म हामी संवादमै रह्यौं’, उनले भने।

यता, राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईँ एकीकृत समाजवादीलाई जनताले अनुमोदन नगरेको बताउँछन्। 

‘जनताले पार्टीको रूपमा अनुमोदन गरेनन्। एकीकृत समाजवादी नयाँ पार्टी बन्नुपर्ने आधारभूत लक्षण नै छैनन्। जबज मानेकै छ। मदन भण्डारी/मनमोहन अधिकारीलाई मानेकै छ। एमालेका जुन जुन सिद्धान्त छ त्यो मानेकै छ। कुनै दृष्टिकोण फरक छैन,’ उनले उकेरासँग भने। 

विचार र सिद्धान्त फरक भयो भने पार्टी फरक हुन्छ। बहुदलीय व्यवस्थामा एउटा पार्टीको दृष्टिकोण नमिलेर नयाँ पार्टी बन्छ। 

तर, पार्टी विभाजन सैन्द्धान्तिक आधारमा नभएको र जनतालाई पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेकोले एकीकृत समाजवादीको मत कम आएको चापागाईँले बताए। 

‘एमाले बाट पार्टी चोईटिनुमा शीर्ष नेता ओली र नेपालको व्यक्तिगत ईगो कन्फ्लिक्ट र जूङगाको लड़ाई हो, पार्टी फुटमा कुनै सैद्धातिक, वैचारिक र विश्व दृष्टिकोणमा फरक छैन। त्यो व्यक्तिगत लडाइँ हो। राजनीतिमा व्यक्तिगत जुँगाको लडाइँले दल बन्छ?', चापागाईँको प्रश्न छ। 

०५४ सालमा महाकाली सन्धिको विपक्षमा रहेका बामदेव गौतम लगायतका समूह वैचारिक र सैन्द्धान्तिक असहमतिमा रह्यो र पार्टी विभाजन भयो। पछि मूल पार्टीमै समाहित भयो। 

अहिले एकीकृत समाजवादी अलग्गिनुमा सैद्धान्तिक आधार छैन। समाजवादी गठन गर्नुभन्दा एमालेमै संघर्ष गरेको भए नतिजा राम्रो आउने थियो। 

‘ओलीको प्रवृतिविरुद्ध पार्टीभित्रै लडेको भए माधव नेपालले अहिलेको भन्दा बढी सम्मान र निष्ठा पाउने थिए', विश्लेषक चापागाईँले भने, ‘किनकी शेरबहादुर देउवाले पार्टी एकीकरण गरेर ६०–४० को हिसाब मागेर पार्टीमा संघर्ष गरेका थिए।’

एमाले विभाजन नभएको भए ०७४ सालको मतपरिणाम दाहोरिन सक्थ्यो। पार्टीलाई जनताले कति रुचाए भन्ने कुरा एक्ला–एक्लै लडेको भए थाहा हुन्थ्यो। 

तर, एकीकृत समाजवादीको प्राप्त सिट पनि गठबन्धनको बलमा आएको हो। 

आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ताको चाबी सुम्पेको समाजवादीले मागे जति भाग नपाए पनि गठबन्धनमा बस्नुले बाध्यात्मक अवस्था रहेको जनाउ दिइसकेको छ।

०००
बिहीबार साँझसम्म ५७० स्थानीय तहको मतगणना सकिएको र १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको आयोगले जनाएको छ।

हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन्। जसमा प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा पाँच हजार ६५९, महिला सदस्य पाँच हजार ६५३, दलित महिला सदस्य पाँच हजार ६५६ जना र वडा सदस्य एक हजार २९५ जना निर्वाचित भएका छन्। 

कुल ३५ हजार २२१ पदको नतिजा ५ जेठभित्रमा मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो। तर, केही उपमहानगरसहित महानगरहरूको मतगणना अझै बीचतिरै छ।

हालसम्म कांग्रेसले २५६ पालिका प्रमुख २३८ पालिका उपप्रमुख जितेर ६८ पालिका प्रमुखमा अग्रता लिएको छ। कांग्रेस पहिलो दल बन्ने औपचारिकताको पर्खाइमा छ। 

१६७ प्रमुख, १८१ उपप्रमुख जित्दै २९ प्रमुख र ५३ उपप्रमुखमा अग्रता लिएर एमाले दोस्रो शक्ति बन्ने पर्खाइमा छ। 

माओवादी १०६ प्रमुख, १८१ उपप्रमुख जित्दै १३ पालिका प्रमुख र १४ पालिका उपप्रमुखमा अग्रता लिँदै तेस्रो दल बन्ने देखिएको छ। 

१८ पालिका प्रमुख, १५ पालिका उपप्रमुख जित्दै १४ पालिका प्रमुख र १६ पालिका उपप्रममुखमा अग्रता लिएर जसपा चौथो शक्ति बन्ने दौडमा छ। 

एकीकृत समाजवादी १४ प्रमुख १७ उपप्रमुख जित्दै पाँच प्रमुख र तीन उपप्रमुखमा अग्रता लिँदै पाँचौँ बन्ने देखिएको छ।

जेठ ६, २०७९ शुक्रबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।