रौतहटमा नवनिर्वाचित वडाध्यक्षमाथि आक्रमण, प्रहरीले उजुरी लिन मानेन

रौतहटमा नवनिर्वाचित वडाध्यक्षमाथि आक्रमण, प्रहरीले उजुरी लिन मानेन

रौतहट : रौतहटका एक जन निर्वाचित वडा अध्यक्ष आफूमाथि भएको कुटपिटको घटनामा न्याय मागिरहेका छन्। निर्वाचनमा उम्मेदवार भइरहँदा उनीमाथि  विपक्षीबाट निर्घात कुटपिट भएको थियो। 

घटनापछि उनले प्रहरी प्रशासनमा हारगुहार धेरै गरे। तर पनि प्रहरीले जाहेरी लिन नमान्दा उनले उनीमाथि कुटपिट गर्ने दोषीलाई कारबाही गराउन सकेका छैनन्। 

उनी हुन्, – रौतहट राजपुर नगरपालिका, वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष शेषा अमिरुल्लाह। माओवादी केन्द्रका उम्मेदवार रहेका बेला उनलाई निर्वाचनकै दिन वैशाख ३० गते कांग्रेसका कार्यकर्ताहरूले लखेटी लखेटी कुटपिट गरेका थिए। 

कुटपिटका कारण उनको हात भाँच्चिएको छ। टाउको फुटेको छ। अवस्था नाजुक र्नै छ।  त्यक्ति मात्रै होइन, चुनाव सकिएको भोलिपल्ट फेरि पनि उनीमाथि आक्रमणको योजना साथ कांग्रेसका स्थानीय नेता कार्यकर्ताले ट्याकटरमा चिर्पटहरु राखेर उधुम मच्चाएका थिए। 

तर पनि प्रशासनले उनको जीवन रक्षा र उनीमाथी पटक–पटक आक्रमणमा उत्रने कांग्रेसका स्थानीय नेता कार्यकर्तामाथि कारबाही प्रक्रिया नै अगाडी बढाएको छैन। 

उनी नगरपालिकाको वडा नम्बर १ मा १०७५ मत ल्याएर निर्वाचित भएका थिए। त्यहाँ कांग्रेसले १०२६ मत मात्र ल्याएको थियो। आफूमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेर उनी पटक पटक प्रहरीमा उजुरीका लागि पुगेका छन्। तर पनि उनको उजुरी प्रहरीले लिन मानेको छैन। 

‘म पटक पटक आफूमाथि आक्रमण गर्नेलाई कारबाही गरियोस् भनेर प्रहरीमा उजुरी दिन गइरहेको छु,’ नवनिर्वाचित वडा अध्यक्ष अमिरुल्लाह भने,–‘तर प्रहरीले उजुरी लिनै मानिरहेको छैन। दोषीलाई कारबाही गर्नेतिर अन्देखा गरेर बसिरहेको छ।’

उनले आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।
 

जेठ ५, २०७९ बिहीबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।