लुम्बिनीमा पालिका प्रमुख जितेका दुई महिला भन्छन्ः 'जनताको सेवक बन्छु शासक होइन'
बुटवल : लुम्बिनी प्रदेशमा एमालेबाट २ महिलाले पालिका प्रमुखमा जित हासिल गरेका छन्। एमालेविरुद्ध पाँच दलीय गठबन्धन हुँदा पनि प्रदेशका धेरै पालिकामा उपाध्यक्ष पदमा समेत गठबन्धनबाट पुरुष उम्मेदवार बढी थिए। महिला उम्मेदवार कम थिए। तर एमालेले भने प्रमुख पदमै महिलालाई नेतृत्व दिए अघि सारेको थियो। २ जना महिला उम्मेदवारले दुई पालिकामा प्रमुख जितेका छन्।
पाल्पाको बगनासकाली र नवलपरासीको सुनवल नगरपालिकामा एमालेका महिला उम्मेदवार निर्वाचित भएका छन्। पाल्पा बगनासकाली गाउँपालिकाकी सरस्वती चिदी र सुनवल नगरपालिकामा विमला अर्यालले प्रमुख पदमा विजयी हासिल गरेकी हुन्।
पाल्पाब गनासकाली गाउँपालिकामा चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरिन्। एमाले उम्मेदवार चिदीले ८ सय ३३ मत अन्तरले कांग्रेसकी अधिकारीलाई पराजित गरेकी हुन्। चिदीले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजय हासिल गरिन भने नेपाली कांग्रेसकी अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन्।
चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन्। पालिकाको उपाध्यक्षमा नेकपा एमालेकै हरीप्रसाद पाठक विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा विजयी बनेकी चिदीले यस अघि उपाध्यक्ष हुँदाको अनुभवलाई लिएर जनताको सेवक बन्ने बताइन्।
‘मैले स्थानीय सरकार कसरी सञ्चालन गर्नुपर्छ त्यो अनुभव हासिल गरेकी छन्। जनताको शासक बन्ने होइन, सेवक बन्नेछु। जनताको काम मेरो प्राथमिकता रहनेछ।’ उनले भनिन्।
उनले आम मतदातालाई धन्यवाद दिँदै सँगै निर्वाचनमा लडेका सबैलाई साथमा लिएर अघि बढ्ने समेत बताइन्। उनले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला तथा पछाडि परेको समुदाय, खानेपानी, कृषि लगायतका विषयहरूलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताइन्।
यता पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेकी महिला उम्मेदवार विमला अर्याल विजयी भइन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेल लाई पराजित गरिन्। अर्यालले १४ हजार ८३८ ल्याउँदा प्रतिस्पर्धी पोखरेलले ११ हजार ६२० मत ल्याए। पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन्।
उपमेयरमा एमालेकै सूर्यप्रसाद दुबे विजयी भएका छन्। दुवैले माओवादी केन्द्रका लेखनाथ खरेललाई ४ हजार ९०८ मत अन्तरले पराजित गरेर विजयी भएका हुन्। दुबेको १३ हजार ७९८ र खरेलको ८ हजार ८९० मत छ। त्यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो।
नगरप्रमुखमा विजयी बनेकी विमला अर्यालले यो जित आफ्नो नभई सुनवलवासीको भएको भन्दै जनताको काम नै आफ्नो काम भएको बताइन्। आफूलाई जनताले धेरै अपेक्षा गरेको भन्दै जनताको अपेक्षा, आशामा आघात नपर्ने गरी काम गरेर देखाउने बताइन्।
जेठ ५, २०७९ बिहीबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।