यस्तो छ सुर्खेतका नौ वटा पालिकाको मतपरिणाम

यस्तो छ सुर्खेतका नौ वटा पालिकाको मतपरिणाम

सुर्खेतः जिल्लाका नौ वटा पालिकामध्ये केही पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भए पनि केहीमा भने मतगणना जारी छ। चाैकुने, पञ्चपुरी, बराहताल, गुर्भाकाेट, लेकवेंसी र चिंगाडकाे पूरा मतगणना भएर नतिजा सार्वजनिक भइसकेको छ।

जसअनुसार चाैकुनेमा माओवादीका खड्क विक गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्ताेला  निर्वाचित भएका छन्। विकले पाँच हजार ४७६ मत ल्याउँदा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत ल्याएर पराजित भए। यहाँ  कांग्रेस र माओवादीकाे गठबन्धन थियाे।

चाैकुनेमा कांग्रेसले चार वटा वडा जितेकाे छ। एमालेले पनि ४ वटै वडा जित्दा माओवादीले दुई वटा वडामा चित्त बुझाएको छ।

यस्तै बराहतालको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा भीमबहादुर भण्डारी र उपाध्यक्षमा लक्ष्मी पुन मगर निर्वाचित हुँदा कांग्रेसले तीन वटा वडा मात्र जित्न सफल भयाे। एमालेले पाँच वटा वडा जित्दा माओवादी दुई वटामा विजयी भयाे।

पञ्चपुरीमा कांग्रेसका उम्मेदवार लालवीर भण्डारी र मुक्तिदेवि रेग्मी पुरी विजयी भए। यहाँ आठ वटा वडा कांग्रेसले जितेकाे छ। एमालेले दुई र माओवाले एउटा वडामा विजय हासिल गरेकाे  छ।

गुर्भाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा हस्त पुन र उपमेयरमा मैना विक विजय भएका हुन्।

गुर्भाकोटको १० वटा वडामा कांग्रेस र चार वटामा एमाले विजयी भएको छ। कांग्रेसले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १२ र १३ मा विजय हासिल गरेको छ। एमालेले वडा नम्बर १, १०, ११ र १४ मा विजय हासिल गरेको छ। 

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कांग्रेसलाई एमालेले पछि पारेकाे छ। राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ।

वीरेन्द्रनगरमा कांग्रेसबाट मेयर र माओवादी केन्द्रबाट उपमेयर उम्मेदवार छन्। एमाले, राप्रपा, एकीकृत सामाजवादी लगायत दलहरू दुवै पदमा एक्लै लडिरहेका छन्।

गणनाअनुसार एमालेकी मेयर उम्मेदवार मोहनमाया भण्डारी कांग्रेसका उपेन्द्रबहादुर खड्काभन्दा तीन सय ५७ मतले अगाडि छिन्।

भण्डारीले १४ हजार ३५० मत ल्याएकी छन् भने खड्काले १३ हजार ९९३  मत पाएका छन्। राप्रपाका उम्मेदवार मुकुन्दश्याम गिरीले आठ हजार ३८९ मत पाएका छन्।

मतगणना सकिएका १५ मध्ये १० वडामा एमालेले जितेको छ। पाँच वटामा कांग्रेसले जितेको छ। वडा नम्बर ९ काे मतगणना भने सुरु भएकाे छ।

त्यसैगरी चिंगाड गाउँपालिकामा एमालेका वोधविक्रम जिसी र उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकाया विजयी भएका छन्।

यस पालिकामा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ।

लेकवेंसीमा कांग्रेसका उमेश पाैडेल मेयरमा विजयी हुँदा एमालेकी विमला खडलु मगर उपमेयरमा निर्वाचित भइन्। लेकवेंसीमा दुई वटा  वडामा एमालेले जितेकाे छ। आठ वटा वडामा कांग्रेसले जितेकाे छ।

एमालेले जितेका वडामा सदस्यहरू कांग्रेसका विजयी भएका छन्।

यस्तै सिम्तामा पनि एमालेले अग्रता लिइरहेकाे छ। सिम्तामा दुई वटा वडा एमालेले जितेकाे छ। अन्य वडाको मतगणना भइरहेकाे छ।

भेरीगंगामा जम्मा पाँच सय मत गणना बाँकी रहँदा १७२ मतले एमाले अगाडि छ। यहाँ १० वटा वडा कांग्रेसले जितेको छ। यस्तै एमालेले दुई र माओवादीले एउटा वडा जितेकाे छ।

जेठ ५, २०७९ बिहीबार ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।