चौथो अंग : नियमित तलब नदिने प्रकाशक भएको क्षेत्रमा समाचारमा लगानी भएन भनेर के आलोचना गर्नु !

चौथो अंग : नियमित तलब नदिने प्रकाशक भएको क्षेत्रमा समाचारमा लगानी भएन भनेर के आलोचना गर्नु !

मिडियामा  समाचार ‘किल’ हुन्छ भन्ने दुई उदाहरण दिन्छु अनि विषयमा विस्तृत रुपमा प्रवेश गरौँला।

२०५९ सालतिर एक म्यागेजिनमा काम गर्थें म। 'आमुने-सामुने' भन्ने कोलम थियो। एमालेको सातौँ महाधिवेशन चलिरहेको थियो त्यो बेला। केपी शर्मा ओली र माधवकुमार नेपालसँग कुरा गरेर तयार पारिएको एक रिपोर्टमा दुई नेताले एक अर्काबारे बोलेका थिए। त्यो समाचार यति चर्चित भएछ कि महाधिवेशनमा दुई पक्षबीच 'तैँले किन यसो भनेको' भनेर बाझाबाझ नै भएछ। 

त्यही शैलीमा कांग्रेसका दुई नेता शैलजा आचार्य र अर्जुननरसिंह केसीबीचको जुहारी थियो। आचार्य कम्युनिष्टसँग मिल्न हुन्न भन्ने पक्षमा थिइन् भने राजाको कदमको लागि मिल्नैपर्छ भन्ने लाइनमा थिए केसी। दुई जनाको समाचार लेखिँदा तत्कालीन सम्पादकले यो समाचारले त कांग्रेसलाई घाटा लागिहाल्छ नि भनेर छापेनन्। 

समाचारको हत्या भइहाल्यो।

अनि अर्को चाहिँ अन्तर्वार्ता। तिनै  सम्पादकले रामराजाप्रसाद सिंहको अन्तर्वार्ता लिन सक्छौ भनेर सोधे। मैले हुन्छ भनेर सिंहसँग अन्तर्वार्ता लिएँ। त्यतिबेला माओवादी भर्खर शान्तिवार्तामा आएको थियो। सिंहले यस्तो अन्तर्वार्ता त मैले अहिलेसम्म दिएकै थिइनँ भने।

म फुरुङ्ग पर्दै सम्पादकलाई अन्तर्वार्ता बुझाएँ। सम्पादकले त यस्तो मान्छेको के अन्तर्वार्ता छाप्ने भनेर फ्याँकी पो दिए। मैले मनखुसी लिएको थिइनँ। सम्पादककै असाइनमेन्ट थियो। रिस उठ्यो।

'तपाईंले नै लिन भन्नु भएको होइन? भनेर सोधे। सम्पादक केही बोलेनन्। सिंह भारत निर्वासनमा गएको बेलामा समेत मलाई फोन गरेर त्यो अन्तर्वार्ता के भयो भनेर सोधेका थिए। मैले के जवाफ दिनु। सम्पादकले फ्याँकिदिए भन्नु भएन। बेकारमा तनाव मात्र भयो। 

अर्को अनुभव पनि भनिहालौँ। ८-१० वर्ष साहित्यक पत्रकारिता गरेपछि मैले समाचार लेख्ने पत्रकारिता गरेको हो। साहित्यमा लेख्ने भएपछि रिर्पोटिङभन्दा पनि डेस्कमा बस्न भन्थे। मैले जति रिपोर्टिङ गरेँ सोखले मात्र गरेँ। मलाई रिपोर्टिङमा औधी रमाइलो लाग्ने। क्रिटिकल समाचार लेख्न जहिल्यै रुची लाग्ने। तर कार्यालयमा भने डेस्कमै प्राथमिकता दिएँ। तैपनि रहरै मेट्न भए पनि रिपोर्टिङ गर्न छाडिनँ।

त्यतिबेला कसैले सिकाउँदैनथ्यो पनि। गोरखापत्रको समाचार सारेर यसरी समाचार लेख्ने रहेछ भनेर जानेको हो मैले। एक जना सम्पादकलाई भेटेको थिएँ। उनले रक्सी खान्छस् भनेर सोधे। मैले खाँदिन भने। अनि चुरोट खान्छस् त भनेर सोधे। मैले गन्धै मन पर्दैन भनेँ। उनले त्यसो भए के पत्रकारिता गर्छस् त भने।

पत्रकार बन्न त क्रिटिकल रुपमा विषयवस्तुलाई हेर्न सक्ने, कसैप्रति पूर्वाग्रही नहुने अनि सूचनाको तथ्य केलाएर गतिलोसँग लेख्न जान्नुपर्छ भन्ने लाग्थ्यो। 

साहित्यक पत्रिकामा काम गरेको भए पनि सम्पादकीयमा प्रज्ञा प्रतिष्ठानबारे, लेखकहरु प्रगतिशील र गैरप्रगतिशील हुँदैनन् भन्नेबारे अनि साझा प्रकाशनको स्थितिबारे लेखेको रहेछु। 

केही सम्पादकहरुले लगानी गर्ने भनेर पनि अफर नआएको होइन। तर एक जना पत्रकार तथा लेखकले वामपन्थीको मिडियामा लगानी नगर्न सुझाउनुभयो। बीच बाटोबाटै फर्किएँ म। आखिरमा त्यो संस्था पनि डुब्यो।

चर्चित कलाकारले टिभी खोले। दुई कार्यक्रम चलाएको ५ हजार दिन्छु भन्थे। ६ महिनासम्म एक पैसा दिएनन्। अनि त्यहाँ पनि छाडें। 

कतिसम्म भने सम्पादकले  एक मिडिया हाउस छोडेर अर्को आउँदा पहिला काम गरिरहेकाहरूलाई शंकाले हेर्ने। एक दैनिकमा काम गर्दा यस्तै अनुभव भयो। काम गरिरहेका सम्पादकले छोडेपछि अर्का सम्पादक आए। जो सम्पादक भए पनि हामीलाई त्यसको त्यति धेरै चासो हुँदैन। काम गर्ने त उही नै हो।

एक दिन ती सम्पादकले बोलाएर ओपेड र फिचरलाई एकै स्थानमा राखेर विशेषांक जसरी निकाल्ने योजना सुनाए। मैले सल्लाह गरेरै विचारमा को-को राख्ने अनि के-के काम गर्ने भनेर योजना बनाएर दिएँ। 

त्यतिबेला एक जना जुनियर थिए। उनी आए। कविता लेख्ने रहेछन् छन्दमा। उनी कविता लेख्ने भनेर चिनाएपछि मैले किन छन्दमा कविता लेख्छौ युवा भएर भनेँ। त्यसको एक सातापछि त सम्पादकले उसैको अण्डरमा काम गर्ने निर्णय भएको जानकारी दिए। म छक्क परेँ। छाडिदिएँ। 

अनुभव अलि लामै भएजस्तो छ। रमाइलै होला, हाम्रा मिडिया अनि मिडियामा काम गर्नेहरुको सोच कुन तहसम्म हुन्छ भन्ने जानकारीका लागि भनिरहेको हो यी। कसैको पोल खोल्न भनेको हैन। प्रबृत्ति देखाउन मात्र भनेको।

अर्को एक दैनिकको अनुभव। धेरै वामपन्थी निकट पत्रकार थिए त्यहाँ। विचारजति वामपन्थीको मात्रै आउने। मलाई सम्पादक बनाएका थिए तर प्रिन्टलाइनमा नाम दिएका थिएनन्। म फिचर र विचार हेर्थें। म गएपछि ६० प्रतिशत प्रजातान्त्रिक, ४० प्रतिशत वामपन्थी विचार राखिदिएँ।

यो कुरा साहुकोमा पुगिरहेको रहेछ। सम्पादकीय किल समेत हुनथाल्यो। राजा ज्ञानेन्द्रले 'कु' गरेको एक वर्ष भएको थियो। मैले साँझ बजार घुमेर जनताले मन पराएनन् यो व्यवस्था भन्ने लाइनमा सम्पादकीय लेखेँ। 

राति साथीहरुले कुरा लगाएछन्। म घर आएपछि प्रकाशकको फोन आयो। 'अर्को सम्पादकीय लेख्नु यो सम्पादकीय हुँदैन। हामीलाई दरबारबाट भरथेग भइरहेको छ कहाँ यो छाप्नु?' भने।

मैले बदल्न मानिनँ। आफ्नो पत्रिका हो जे सुकै गर्नूस् भनिदिएँ। भोलिपल्ट हेरेको त 'सरस्वती पूजाको दिन अक्षर प्रारम्भ हुन्छ' भन्ने खालको सम्पादकीय आएछ। यी केही उदाहरण मात्र भनेको। अनुभव त कति गरियो कति।

पत्रकारिताबाट प्रश्न र शंका हरायो
अहिलेको सबैभन्दा ठूलो चिन्ताको विषय हो पत्रकारिताबाट प्रश्न र शंका हरायो। पत्रकारिता पेसा भनेको प्रश्न गर्ने अनेक हरेक पक्षमा शंका गर्ने। जसले प्रश्न गर्न सक्दैन अनि कसैले केही भनेमा शंका गर्न सक्दैन ऊ पत्रकार हुन सक्दैन। लेखनदास मात्र हुन्छ।

अहिले पत्रकार कम लेखनदासहरु धेरै भए। अहिले मिडिया हाउसदेखि पत्रकारसम्म प्रश्न गर्ने हैन प्रशंसा गर्नतिर ध्यान दिन थाले। अब प्रश्न गर्ने पेसामा रहेकाले प्रशंसा गरेपछि त्यो क्षेत्र के हुन्छ। अहिले भएको त्यही हो।

व्यावसायिक नाफा-घाटा जोखेर मात्रै समाचार आउने भए अब। 

एक अनुभव है फेरि। एउटा आर्थिक दैनिकमा काम गर्थें म। त्यहाँ रियल जुसमा ढुसी लागेकोबारे समाचार लेखियो। अन्तिममा सम्बन्धित कम्पनीको कोट लिँदा मिडिया कम्पनीको साहुसँग कुरा भयो। पहिलो पृष्ठमा समाचार छाप्न ठाउँ नै राखिएको थियो। तर समाचार छाप्ने भनेको ठाउँमा जुसको विज्ञापन छापिएछ। समाचार तेस्रो पेजमा पुगेछ। 

यस्तै एक रिपोर्टरले एक टुबोर्गबारे समाचार लेखे। बुझ्दै जाँदा विज्ञापन नदिएको भनेर झोकमा समाचार लेखेका रहेछन्। मैले छाप्न मानिनँ। रिपोर्टरले हटाउन मानेनन्। विज्ञापन दियो दिएन त्यो हेर्ने जिम्मेवारी समाचार कक्षको हो र? त्यो हेर्न त मार्केटिङमा छदैछन् नि। अब मार्केटिङले समाचार कक्ष हेर्ने अनि समाचार कक्षकाले मार्केटिङ हेर्न थालेपछि हुने त भद्रगोलै त हो। अहिले भएको भद्रगोलको कारण यो पनि हो।

कर्पोरेट हाउसको मात्रै हैन राजनीतिक दल रिझाउने प्रतिस्पर्धा पनि देखिन्छ रिपोर्टरमै। वडा अध्यक्ष जिताउँ भनेर सामाजिक सञ्जालमा सेयर गर्ने पनि पत्रकार छन्। सबै एकै कोटीका छैनन् नै। त्यही दलाली नगर्ने सीमित पत्रकारहरुका कारण नै अहिलेसम्म पत्रकारिता ज्युँदो रहेको हो। तर यस्तो प्रबृत्ति बढिरहेको छ।

राजनीतिक दलको भविष्य के होला भन्ने चिन्ता गर्ने काम पत्रकारको हो? त्यसका लागि ती दलकै नेता तथा कार्यकर्ताहरु छँदैछन् नि। तर दलबारे धेरै चिन्ता गर्ने पत्रकारहरु नै भेटेको छु। त्यसैले त दलहरु पत्रकार सम्मेलनभन्दा सभा गर्न रूचाउँछन् नि। अब सभा भयो भने एकोहोरो नेताले बोलेको मात्रै आइहाल्छ। पत्रकार सम्मेलन गरेपछि त सवालजवाफ हुन्छ। उनीहरुले चाहे अनुसारको समाचार नआउन पनि सक्छ। 

पत्रकार सम्मेलनै गर्न परे पनि एमालेका नेताहरुका लागि उसकै प्रेस चौतारीकाले पत्रकार सम्मेलन गर्छन् अनि आफू निकटकालाई मात्र बोलाउँछन्। कांग्रेसकाले गर्नुपर्यो भने प्रेस युनियनकाले गर्छन् र आफ्नालाई मात्र बोलाउँछन्। आलोचनात्मकभन्दा भजनै बढी आउने कारण यसले गर्दा पनि हो।

त्यसैले मैले भनेको अहिलेको पत्रकारितामा प्रश्नै हराएको छ। समाचारहरुमा प्रश्न हराइसक्यो। अहिलेका समाचार पढ्यो भने 'फाइभ डब्लु वान एच' नै भेटिन्न। 

खाम र रमझम पत्रकारिता
ज्ञानेद्र शाहको प्रत्यक्ष शासनकालमा कमल थापाको पत्रकार सम्मेलनमा यति धेरै मिडिया किन खोल्न किन अनुमति दिएको भनेर प्रश्न गरिएको थियो। त्यहाँ उनले भनेका थिए, 'जति धेरै मिडिया, उति कमजोर। यी टिक्न सक्दैनन् अनि हाम्रै शरणमा आउँछन्।'

पहिला त के बोलेको होला जस्तै लागेको थियो। तर अहिले अनलाइनहरुको संख्या र हविगत देख्दा उनले सत्य नै बोलेका रहेछन् भन्ने लाग्यो। 

पत्रकारिता समाचार छापेर पनि पैसा आउने अनि समाचार नछापेर पनि पैसा आउने माध्यमझैँ भएको छ। साँच्चै निर्मम भएर समीक्षा गर्दा अहिले खाम पत्रकारिता धेरै मौलायो। रमझम पत्रकारिता मौलायो। अनि खाम र रमझमले तथ्यमा आधारित पत्रकारिता हरायो।

कतै-कतै पत्रकार भएपछि धेरै पब्लिक रिलेसन चाहिन्छ। पब्लिक रिलेसन बनाउनुपर्छ भन्ने सुन्छु। तर म यसको विरोधी हुँ। सम्बन्ध हैन पत्रकारलाई सूचना चाहिन्छ। सूचनाका लागि राम्रो सम्बन्धै हुनुपर्छ भन्ने हुन्न। राम्रो सम्बन्धले धेरै इस्यु किल मात्र गर्छ।

कुनै पत्रकारले खोजी गरेर कुनै क्लु फेला पारेको छ भने सरोकारवालासँग सम्बन्धै नभए पनि बोल्नु पर्दैन र? बरु निकट सम्बन्ध भयो भने भाइ या दाइलाई अप्ठ्यारो पर्छ भनेर कि लेख्दै नलेख्ने लेखे पनि सफ्ट बनाएर लेख्ने हुनसक्छ।

त्यसैले पत्रकार हुन धेरै घनिष्ट सम्बन्ध हैन तथ्य केलाउनसक्ने अनि सूचना पहिल्याउन सक्ने खुवी भए पुग्छ। सम्बन्धले मिडियाको ब्रान्डिङ पनि हुने हैन। मिडियाको ब्रान्डिङ गर्ने भनेको निष्पक्ष कन्टेन्टले हो सम्बन्धले हैन। निष्पक्ष सामग्री जति प्रकाशित गर्न सक्यो पाठक/दर्शक/ स्रोतले त्यति विश्वास गर्छन्। कुनै मिडियाबारे जति विश्वास बढ्छ त्यही हो त्यसको ब्राण्ड। पाठक/दर्शक/ स्रोताले नपत्याए के को ब्राण्ड?

सत्य नारायणको पूजाको अपुंगो खान जाने पत्रकारले उसैको आलोचना गर्न सक्छ र? त्यसैले पत्रकारकका लागि धेरै गहिरो सम्बन्ध चाहिन्न। पत्रकार भनेको पब्लिक रिलेसन अफिसर हैन।

अध्ययनहीन रिपोर्टर, निर्णयहीन सम्पादक
अर्थ सम्बन्धी रिपोर्टिङमा रुची राख्नेले विद्यालयदेखि नै त्यही पढ्नुपर्छ भनिनँ मैले। तर अर्थशास्त्रको सामान्य नियम त बुझ्न सक्ने हुनुपर्छ नै। अहँ त्यस्तो देखिँदैन हाम्रो न्युज रुम। साँच्चै भनेको, मलाई पत्रकारहरुले किताब वा अन्य काम लाग्ने केही पढ्छन् जस्तै लाग्दैन। यो मेरो भ्रम भैदियोस्।

तर, के गर्नु सत्य यही हो। किताबको के कुरा आफूले लेखेको समाचार प्रकाशित भएर आएपछि के-के परिवर्तन भएछ भनेर दोहोर्याएर पढ्ने पत्रकार त दुर्लभ छन् अरुले लेखेको आलोचनात्मक लेख अनि किताब कसले पढ्नु। पत्रकार भएपछि चुम्बक भइने अनि ज्ञान फलाम जसरी सरर दिमागमा भरिने जस्तो व्यवहार गर्छन्।

मिडिया सञ्चालकहरुले समाचारमाथि लगानी नगर्दा गुणस्तरीय सामाग्री उत्पादन हुन सकेन भन्ने धेरै सुन्ने गरेको छु। यो सत्य पनि हो। तर वास्तविकता के हो भने नियमित तलब त नदिने प्रकाशकहरु भएको ठाउँमा अब समाचारमा लगानी भएन भनेर आलोचना के गर्नु!

काम गरेको महिना मरेपछि तलब पाउनु कामदारको हकै हो नि। त्यो त दिँदैनन्। अग्रज पत्रकारहरुले नयाँलाई सिकाउन सक्छन्। तर यसो हेर्दा न सिकाउने अग्रज पत्रकार देख्छु न सिक्न चाहने नयाँ पत्रकार। 

अब निरन्तर अपडेट भइरहनुपर्ने पेसामा लागेकाहरुले भरिएको दिमाग बोकेर बसेपछि के हुन्छ त्यो पेसा! अहिले पत्रकारिताको यो हविगत हुनुको कारण यो पनि हो। कति धेरै आलोचना गरेको भन्ने लाग्न सक्छ। तर सत्य यस्तै तितो छ।

हामीले हाम्रो पेसाको निर्मम समीक्षा नगरी बाहिरकाले आएर यसलाई पक्कै सफा गर्दैनन्। यसलाई सफा गर्नसक्ने हामीले नै हो। कता-कता फोहोर छ भन्ने थाहा भए न सफा गर्न सकिन्छ। पत्रकारिताका राम्रा पक्ष हुँदै नभएका हैनन्। तर मेरो इच्छा नेपाली पत्रकारितामा बढेको फोहोर सफा होस् भन्ने छ। त्यसैले अलि बढी फोहोर देखाएकै हो।

साहुको चाकर जस्ता पत्रकार बढिरहेका छन्। सम्पादकहरु दास जस्तो प्रकाशकको घरको काम गर्ने पनि देखेको छु। अनि यति त समीक्षा गर्नैपर्यो। नत्र म कसरी आफ्नो पेसाप्रति इमान्दार हुनसक्छु?

कोभिड कालमा त्यत्रा पत्रकार निकालिए। कुन चाहिँ सम्पादक अगाडि सरेर यो बेला निकाल्न हुन्न भन्यो। कोरोनाको बहानामा अहिलेसम्म पूरा तलब नदिने मिडिया हाउस पनि छन्। त्यहाँ सम्पादक त छन्। ती कुन आत्मबलले मिडिया रुममा छिर्छन् होला अनि सहकर्मीसँग कसरी आँखा मिलाएर काम लगाउँछन् होला? सोच्दा पनि दिगमिग लाग्छ।

प्रकाशकले पत्रकारको मर्म बुझेनन्
अहिले त एक पत्रकार, एक अनलाइनझैँ भइसक्यो। कुन प्रकाशक अनि कुन पत्रकारै छुट्याउन हम्मे पर्ने भइसक्यो। रिपोर्टर र सम्पादकको भेला राख्ने हो भने रिपोर्टरभन्दा सम्पादक बढी हुने अवस्था आइसक्यो।

कुनै सम्पादक पत्रकारै रहिरहन सक्ने हो भने त्यो न्युज रुममा काम गर्ने पत्रकारहरुले धेरै दु:ख पाउँदैनन्। जब सम्पादक म ५० प्रतिशत न्युज रुमको अनि ५० प्रतिशत व्यवस्थापनको भन्दै ९९ प्रतिशतै व्यवस्थापनको भइदिन्छन् नि त्यो न्युज रुममा काम गर्ने पत्रकारले साह्रै दु:ख पाउँछ।

कति आलोचना गरेको भन्ने लाग्ला। अवस्थै यस्तै छ।

एक उदाहरण।

एक मिडिया हाउसमा काम गर्दा एकाएक तलब घटेर आयो। अब खाइपाइ आएको तलब घटेपछि भन्ने सम्पादकलाई नै त हो। सम्पादकलाई भनियो। उनले व्यवस्थापनसँग कुरा गरेको छु भन्थे। पछि जो जसको तलब घटेको थियो त्यस्तै रह्यो। ती सम्पादकको चाहिँ तलब बढेछ।

अब व्यवस्थापकसँग उनले अन्य कामदारलाई परेको मर्काबारे कुरा गरे भनेर विश्वास गर्ने कि कामदारको गुनासो लिएर प्रकाशकलाई भनेर बक्सिस स्वरुप आफ्नो तलब बढाए भन्ने।

अहिले साहु पत्रकार बढेका छन्। पत्रकारै साहु भएपछि त पत्रकारहरुले झन् राम्रो सेवा-सुविधा पाउनुपर्ने हो नि। तर पत्रकारै प्रकाशक भएको समाचार कक्षमा झन् बढी शोषण पो देख्छु म त। 

अन्त्यमा, पत्रकारितामा राम्रा पक्ष पनि नभएका होइनन्। राम्रा सम्पादक अनि राम्रा रिपोर्टर नभएका पनि हैनन्। त्यही केही राम्राका कारण त अहिलेसम्म पत्रकारिताको मृत्यु भइसकेको छैन। जोगाउने त्यही राम्राहरु त हुन्।

केही नयाँ सञ्चारगृहले कन्टेन्टमा नयाँ प्रयोग गर्ने प्रयास गरेका पनि छन्। सानो स्केलमा भए पनि समाजलाई प्रभाव पार्ने कन्टेन्ट उत्पादनमा जोड दिनेहरु पनि देखिएका छन्। यस्तो मिडियाको संख्या बढ्न जरुरी छ।

यो क्षेत्रको सम्मान कायम राख्ने हो भने पत्रकार थप धारिलो हुनैपर्छ। यसलाई भुत्ने पार्नेहरु चिन्नैपर्छ। त्यसैले आफूले लामो समय विताएको क्षेत्रबारे आज समीक्षा गर्दा अली निर्ममै भए। किनकी, आफ्नो क्षेत्र अरुले आएर सफा गरिदिँदैनन्। सफा गर्ने आफैँले हो।

(राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक-सल्लाहकार सम्पादकका रुपमा काम  गरेका पराजुलीसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

जेठ ३, २०७९ मंगलबार २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।