न एमालेको परमादेशी नारा चल्यो न गठबन्धनको प्रतिगमनको भूतले मतदाता तर्सायो

न एमालेको परमादेशी नारा चल्यो न गठबन्धनको प्रतिगमनको भूतले मतदाता तर्सायो

काठमाडौँ : विश्लेषकहरूले भनिरहे-स्थानीय तहको निर्वाचनलाई केन्द्रीय निर्वाचनकै नजरले मात्र हेर्यो भने राजनीतिक दलको गम्भीर भुल हुनेछ। तर सुनेनन् दलका नेताले। सरकारमा रहेका पाँच दल सबै मिलेर किनेको खसीको मासु भाग लगाएझैँ 'यहाँ तँलाई अनि यहाँ मलाई' भन्दै स्थानीय तहको नेतृत्व धार्नी र बिसौलीमा भाग लगाउन केन्द्रित भए।

कसैलाई टाउको अनि कसैलाई फिला पर्दाको रोदन जस्तै रोदन देखियो सत्ताधारी दलकै स्थानीय नेता अनि कार्यकर्तामा।

गठबन्धनबाट उम्मेदवार बन्न सके जितिहालिन्छ भन्दै उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या बढायो। हिजोका दिनमा स्थानीय क्षेत्रमा गरेका काम भन्दा केन्द्रका नेतासँगको सम्बन्धको आधारमा टिकट बाँडियो।

कसैले छोरी च्यापे, कसैले छोरा अनि कसैले श्रीमती। त्यसको प्रभाव के पर्यो आइरहेका प्रारम्भिक मत परिणामले नै देखाइरहेकै छ।

परिस्थिति बदलिँदै गएको कतिले बुझेर पनि बुझ पचाए। कतिले बुझ्नै बुझेनन्। राजनीतिको हावा कता बहेको छ भन्ने भेउ पाउन खप्पिस एमाले नेतृत्व सकेसम्म गठबन्धन हुन नदिन कस्सिएर लाग्यो। गठबन्धन हुने नै भएपछि दलभित्रको आन्तरिक अशन्तुष्टीभित्र खेल्न सक्रिय भयो।

बहुमत स्थानमा पार्टीको क्याडर भन्दा न्युट्रल छवि बनाएको उम्मेदवार दिन चुक्यो एमाले नेतृत्व। उ पनि समानान्तर गठबन्धन बनाउन राप्रपा नेपाल अनि नेपाल परिवार दलसँग सहमति गर्न पुगे। कतै राप्रपासँग तालमेल गरे।

गठबन्धनबिच बढ्दै गएको अमिलो मनले सूर्यमा भोट आउने एमालेको विश्वास कति भ्रमित थियो प्रारम्भिक मत परिणाम नै काफी छ।

उम्मेदवार चयनमा अलि गृहकार्य गर्न सकेको भए नतिजा कस्तो आउन सक्थ्यो काठमाडौँ महानगरपालिकाकी उपमेयरको उम्मेदवारले पाइरहेको मतै काफी छ परिणाम देखाउन। एमालेको नेतृत्वबाट चिढिएको काठमाडौँ महानगरवासीले सुनिता डङ्गोललाई दिएको मत सूर्यलाई मात्रै हैन युवा नेतृत्वप्रतिको आसको सङ्केत पनि हो।

‘स्थानीय चुनाव र केन्द्रीय चुनाव फरक हुन्छन्। पार्टीको र नेताको ह्विपहरूमा कुनै जनमत तयार हुँदैन,' राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले भने' स्थानीय मतदाताहरूले स्थानीय नेताहरूमा राजनीतिक, धार्मिक, सांस्कृतिक सुरक्षा खोजेका हुन्छन्। आफ्ना अभिभावक खोजिरहेका हुन्छन्। त्यसैले केन्द्रबाट जाने निर्देशनको ठुलो प्रभाव पर्दैन स्थानीय तहको निर्वाचनमा।'

स्थानीय तहको निर्वाचनमा दल, दलको अजेण्डा अनि २०७४ मा जितेका प्रतिनिधिको कामका आधारमा मत प्रभावित हुने नै थियो। देखियो पनि त्यही। सरकारमा रहेका अनि प्रतिपक्षीमा रहेका दलका नेताहरू जति अलोकप्रिय भए पनि उनीहरूले अपवाद बाहेक परम्परागत भोटलाई जोगाएकै देखियो यो पाली पनि।

'हाम्रोमा बहुमत भन्दा बाउमतका मतदाता छन्, बाउले मत जहाँ हाल्छ त्यही हाल्ने,’ राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईँले उकेरासँग भने, ‘नयाँ फण्डा, नयाँ इस्यु लिएर आयो भने पक्का यसैले गर्छ भनेर बहकाउमा लाग्ने मतदाता पनि छन्। बिकाऊ मतहरू पनि छन्।’

वैचारिक मत आदर्शमा अडिएका भए तल्ला तहसम्म गठबन्धनको राम्रो प्रभाव पर्न सक्थ्यो। तर सैद्धान्तिक रूपमै फरक पृष्ठभूमि भएका दलहरू मत परिणाम आफ्नै पक्षमा पार्न मात्र गठबन्धन गरेकाले तल्ला तहमा रहेका पार्टीका मतदाता पनि सहमत हुन सकेनन् गठबन्धनप्रति। सैद्धान्तिक रूपमै प्रश्न उठाउँदै विद्रोह भयो।

भरतपुर महानगरपालिकाले त्यसको नेतृत्व गरे पनि यस्तै देशका अन्य स्थानमा पनि भएका थिए। भटाभट पार्टीका विद्रोही उम्मेदवार स्वतन्त्र उम्मेदवारको रूपमा जित्नु त्यसैको प्रभाव हो।

‘गठबन्धन गर्ने केन्द्रीय निर्णय अगाडी तल्ला तहमा पार्टीगत अवस्था मुल्याकंन गरेर गएको भने गठबन्धन राम्रोसँग जान सक्थ्यो। केन्द्रबाट केन्द्रीकृत निर्णय लाद्ने काम भयो र तल्ला तहमा विद्रोह भयो,’ चापागाईँले भने।

अहिले सरकारको नेतृत्व गरिरहेको कांग्रेस नेतृत्वले पछिल्लो संसदीय चुनावमा पाएको म्यान्डेट बिर्सियो। उसलाई किन मतदान गर्ने? केपी ओलीलाई देखाएर मतदाता तर्साउने फन्डाबाहेक दोस्रो विकल्प देखाउन सकेन उसले। ओलीबाट दुख पाएका पुष्पकमल दाहाल प्रचण्ड अनि माधवकुमार नेपालले ओलीलाई देखाउँदा परम्परागत कम्युनिस्ट मतदाता सहमत हुन पनि सक्थे।

तर नेकपा विभाजित हुँदा चिट्ठा परेको कांग्रेसका नेताहरूले पनि उही शैलीमा गरेको दाबीले उसको कोर मतदातामा प्रभाव पर्न सकेन। उनीहरू अन्तिम समयसम्म पनि गठबन्धन नभई एक्लै निर्वाचनमा जान चाहनुको कारण यही थियो।

‘स्थानीय तहको निर्वाचनलाई प्रि क्वालिफाइङ एक्जामको रूपमा लिने अनि यो सफल भए संसदीय निर्वाचनमा पनि स्वतः गठबन्धन हुने कांग्रेसको रणनीति देखियो,' राजनीतिक विश्लेषक तथा कांग्रेस मामिलाका जानकार डा गोविन्दमानसिहं कार्कीले उकेरासँग भने, उसको स्वार्थ यसलाई आधार बनाएर संसदीय चुनावपछि आफ्नो नेतृत्वको गठबन्धन सरकार बनाउने नै देखियो।’

पार्टी फुटेपछि जम्मा भएका कार्यकर्तालाई ठाउँ दिएर जोगाइराख्न एकीकृत समाजवादी गठबन्धनका लागि सहमत भयो भने आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्ने योजना अनुसार माओवादी गठबन्धनमा बसेको उनको तर्क छ।

‘कांग्रेसको सहयोगले चितवनलाई सुरक्षा कवच बनाउनुपर्यो, त्यसकालागि रेनु दाहाललाई जिताउनु पर्यो। त्यसकै आधारमा सघीय चुनावमा प्रचण्डले जित्नपर्यो। यसरी पार्टी अनि व्यक्ति र स्वार्थ केन्द्रित विषयले नै जर्बजस्ती गठबन्धन बन्यो,’ विश्लेषक कार्कीले भने।

उनी अहिलेको अवस्थामा कांग्रेस कम्युनिस्टसँग गठबन्धन गरेर जानु नै सबैभन्दा ठुलो राजनीतिक भुल भएको बताउँछन्। मतदानपछिका परिणामले पनि त्यस्तै देखाइरहेको छ।

‘गठबन्धनमा भागबन्डा गर्दा कांग्रेस कार्यकर्ता पार्टीबाट बाहिरिन पुगे। यो कांग्रेसको भविष्यको लागि राम्रो होइन,' कार्कीले भने ‘प्रचण्ड र माधव नेपालका भोट लिन वषौं काम गरेकालाई नै पार्टीबाट धपाउनुपर्ने अवस्था आउनु सुखद हैन।’

मासवेस पार्टी कांग्रेस अनि क्याडरबेस माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन हुनु नै अनौठो भएको विश्लेषकहरूको मत देखियो। सङ्गठन शैली र प्राथमिकता नै फरक भएपछि त्यसको प्रभाव स्थानीय तहको निर्वाचनमा पर्ने नै भयो। पर्यो पनि।

‘कांग्रेस क्याडरबेस भन्दा पनि मासबेस पार्टी हो, गठबन्धनले उसलाई फाइदा गर्दैनथ्यो। यसको फाइदा एकीकृत समाजवादीलाई हुने देखियो,’ विश्लेषक चापागाईँले भने, ‘यो पार्टी जन्मिएकै थिएन। पहिलो पटक यसको परीक्षण भएको हो।’ 

स्थानीय चुनावमा पार्टीगत लडाएको प्रभाव कम पर्ने आङ्कलन आएको थियो मतदान अगाडि नै। मतदानमा त्यही देखियो। प्रतिगमनको मतियार अनि परमादेशी सरकारको नाराले हैन चुल्हो र कुलोको सवालले नै प्राथमिकता पायो।

त्यसैले त प्रारम्भिक मत परिणामले न एमालेको परमादेशी सरकारको नारा जमेको देखायो न गठबन्धनको ओली आए प्रतिगमन फर्कने नारा नै। मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिचै देखियो। पहिलो र दोस्रो पार्टी पनि यी दुवैमध्येबाट छानिने प्रस्टै छ। गठबन्धन गरे पनि नगरे पनि माओवादीको हैसियत तेस्रो दलै हो। बरु एकिकृत समाजवादी चौँथो शक्ती बन्ने देखियो।

गठबन्धनलाई एमाले भारी परे पनि सानो मतान्तरमा एमालेलाई प्रभाव पर्ने विश्लेषण देखियो  पिटरको।

‘व्यवस्थित पार्टी एमाले हो। एक मतले पनि हारजित हुनसक्छ। हराउन र हार्नकालागि पनि उम्मेदवारी परेका छन्। कुनै एउटा व्यक्तिले मत यताउता पार्दिए पनि हराउन सक्छ। यसको सबैभन्दा ठुलो असर एमालेलाई पर्ने देखिन्छ,’ उनले भने।

र, प्रारम्भिक मतगणनाको रुझानले पनि यस्तै देखाइरहेको छ।

जेठ १, २०७९ आइतबार १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।