पोखरा महानगरमा तीन बजेदेखि मतगणना हुने
पोखरा : पोखरा महानगरपालिकाको मतगणना तीन बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसो दुई बजेदेखि मतगणना गर्ने सहमति गरे पनि मतगणनाका प्रक्रिया नसकिएकाले तीन बजेबाट सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत रुद्र न्यौपानेले जानकारी दिए।
सर्वदलीय बैठकले साढे बाह्रबजेसम्म दलका प्रतिनिधि पठाउने, एक बजेसम्म प्रतिनिधिको नाम र फोटो उपलब्ध गराउने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसैगरी साढे एक बजेसम्म वडा अनुसार मतपेटिका मिलाउने र दुई बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो।
निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दै छ। पोखरा महानरको ३३ वटा वडामध्ये ८ वटा वडाको मतपेटिका एकै पटक खोलेर गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ।
कास्कीका माछापुच्छ्रे गाउँपालिका। रूपा, मादी र अन्नपूर्ण गाउँपालिकामा मतगणना चलिरहेको छ। ३३ वटा वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो। त्यसमध्ये ७६ हजार ६ सय २० महिला, ६६ हजार ५ सय ६६ पुरुष र २ जना तेस्रो लिंगीले मतदान गरेका थिए । महानगरमा कुल ६८.९५ प्रतिशत मात्र मत खसेको छ।
वैशाख ३१, २०७९ शनिबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।