रुपन्देहीमा तीन बजेसम्म ५२ दशमलव ५ प्रतिशत मत खस्यो  

रुपन्देहीमा तीन बजेसम्म ५२ दशमलव ५ प्रतिशत मत खस्यो  

बुटवल : रुपन्देहीमा तीन बजे सम्म ५२ दशमलव ५ प्रतिशत मत खसेको छ। जिल्लाका १६ पालिकामा शान्तिपूर्ण ढंगले निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।

बिहान ७ बजे देखि सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ। बिहान केही बेर वर्षा भएपनि मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको उनले बताए। उनका अनुसार मतपेटिका गणना स्थलमा आएपछि सर्वदलीय बैठक बोलाएर जिल्लाभर ९ बजे देखि मतगणना सुरु गर्ने तयारी छ। ‘केही भवितव्य नभए ९ बजे देखि मतगणना सुरु हुन्छ । हामी त्यही तयारी अनुसार लागेका छौ,’ उनले भने।

जिल्लाका कुनै पनि स्थानीय तहमा मतदान प्रक्रिया नरोकिएको उनको भनाई छ। जिल्लामा दुई सय आठ मतदान स्थल र सात सय मतदान केन्द्र रहेका छन्। रुपन्देहीको संवेदनशील सूचीमा रहेका १२८ र ६२ वटा अतिसंवेदनशील मतदान स्थलमा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । 

३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेको रुपन्देहीमा तीन लाख आठ हजार पाँच सय ७४ महिला, तीन लाख २३ हजार सात सय ७८ पुरुष आठ जना अन्य गरी कुल ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता छन्। निर्वाचनलाई लक्षित गर्दै २४ सय म्यादी प्रहरीसहित तीन हजार आठ सय प्रहरी भित्री सुरक्षामा रहेका छन्।

वैशाख ३०, २०७९ शुक्रबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।