कानुनले गोप्य भनेको मतदान स्वेच्छिक भएको डा बाबुरामको कुतर्क
काठमाडौँ : निर्वाचन सम्बन्धी कानुनले खुल्ला मतदानलाई दण्डनीय बनाए पनि जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइले भने मतदान खुल्ला या गोप्य त्यो व्यक्तिको छनौटमा भर पर्ने कुतर्क गरेका छन्।
उनले आफ्नो मतदान सार्वजनिक हुने गरी तस्बिर खिच्न लगाएर सार्वजनिक गरेका थिए। निर्वाचन संहिता र कानुन विपरीत उनले गरेको कामको आलोचना भएपछि आफ्नो गैर कानुनी कामको वचाउँगर्दै उनले गोप्य मतदान भन्ने सिद्धान्त नहुने कुतर्क गरेका छन्।
उनले ट्विट गरेका छन्' लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन। गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!'
तर निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ ले गोप्य मतदानलाई स्वैच्छिक नभई अनिवार्य गरेको मात्रै छैन कसैले आफूले गरेको मतदान सार्वजनिक गरे बदर हुने र जरिवाना समेत हुने कानुनी व्यवस्था छ।
सो ऐनको दफा ९ मा मत सङ्केत सार्वजनिक गर्न नहुने उल्लेख छ। सो दफामा उल्लेख भए अनुसार 'कसैले मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको ब्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने उल्लेख छ।
यसो गरेमा सो व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।
वैशाख ३०, २०७९ शुक्रबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।