पोखरा महानगरका मेयर–उपमेयरका उम्मेदवारहरूले गरे मतदान

पोखरा महानगरका मेयर–उपमेयरका उम्मेदवारहरूले गरे मतदान

पोखराः पोखरा महानगरपालिकाका मेयर–उपमेयरका उम्मेदवारहरूले मतदान गरेका छन्। उनीहरूले आ–आफ्ना मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।

पोखरा महानगरपालिकाका पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले बिहान सवा सात बजे वडा नं ३३ स्थित शान्तिउदय माविको ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन्।

नेकपा एमालेका तर्फबाट पोखराको मेयरका उम्मेदवार बनेका कृष्णबहादुर थापाले बिहान साढे सात बजे वडा नम्बर १६ को विन्ध्यवासिनी मावि बाटुलेचौर मतदान केन्द्रबाट मतदान गरेका छन्।

अटेरी अभियानका तर्फबाट मेयर उम्मेदवार गनेस पौडेलले पनि बिहान पौने आठ बजे पोखरा–१४ स्थित रामेश्वरी माविबाट मतदान गरे।

उपमेयरका उम्मेदवारहरूले पनि मतदान गरेका छन्। अन्य साना दल र स्वतन्त्रबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएकाहरूले पनि मतदान गरेका छन्। 

पोखरा महानगरका ९८ मतदानस्थल अन्तर्गत २४२ मतदान केन्द्र रहेका छन्। अहिले सबै मतदानस्थलमा मतदान चलिरहेको छ।

कास्कीका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र रहेका छन्। अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल अन्तर्गत २६ मतदान केन्द्र र रूपा गाउँपालिकामा ८ मतदानस्थल अन्तर्गत १८ मतदान केन्द्र तोकिएको छ।

मादीमा १७ मतदानस्थल अन्तर्गत २५ केन्द्र र माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल अन्तर्गत २५ मतदान केन्द्र रहेका छन्।

कास्कीमा एउटा मतदान स्थलमा ६ वटासम्म मतदान केन्द्र रहेका छन्। निर्वाचन सुरक्षाका लागि कास्कीमा दुई हजार ६८८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

वैशाख ३०, २०७९ शुक्रबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।