लुम्बिनी आउँदा भारतीय प्रधानमन्त्री मोदीको फ्रन्टलाइन सुरक्षामा भारतीय सुरक्षाकर्मी, बाहिरी घेरामा मात्र नेपाली

लुम्बिनी आउँदा भारतीय प्रधानमन्त्री मोदीको फ्रन्टलाइन सुरक्षामा भारतीय सुरक्षाकर्मी, बाहिरी घेरामा मात्र नेपाली
नेपाल भ्रमणको क्रममा पशुपति मन्दिर दर्शन गर्न मोदी जाँदा उनको सुरक्षामा कालो सुट र कालो चस्मामा खटिएका भारतीय सुरक्षाकर्मी। ढाकाटोपी र दौरा सुरुवालमा नेपाली। तस्बिर : द वायर

बुटवल : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि परिसर चिटिक्क पार्न थालिएको छ भने सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। २५६६ औं बुद्ध जयन्तीको दिन मोदी लुम्बिनी आउन लागेका हुन्। उनको भ्रमणलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) बुधबार नै लुम्बिनी आइसकेका छन्।

विभिन्न चोक, जंगल क्षेत्र र संवदेनशिल स्थानको पहिचान गरी सुरक्षाकर्मीले विशेष निगरानी बढाएको छ। अहिले पनि भैरहवा, लुम्बिनी क्षेत्रमा यस अघिको तुलनामा दैनिक चेकजाँच बढाइएको छ। निर्वाचनको समयमा सबैको ध्यान निर्वाचनमा हुने भए पनि मोदीको सुरक्षा व्यवस्थालाई पनि उच्च प्राथमिकतामा राखेर काम भइरहेको देखियो। 
 
लुम्बिनी आएका भारतीय सुरक्षाकर्मीले बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसकेका छन्। फ्रन्टलाइनमा भारतीय सुरक्षाकर्मी, भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको र बाहिरी सुरक्षा मात्र जिल्लाले हेर्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।

मोदीका लागि लुम्बिनीमा ४ वटा हेलिप्याडको निर्माण अन्तिम चरणमा पुगेको छ। स्वागतद्वारा, लुम्बिनीमा रंगरोगनको काम अहिले भइरहेको लुम्बिनी विकास सदस्य सचिव सानुराजा शाक्यले बताए। मायादेवी मन्दिर, परिसरमा रंग लगाउने, फुलले आकर्षक ढंगले सजाउने, सरसफाइ गर्ने, सडक सरसफाइ लगायतका कामहरू भइरहेको उनले बताए। त्यस्तै अशोक स्तम्भभित्र सरसफाइ मात्र गरिएको छैन मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती राखिएको छ। 

मोदीको सुरक्षा घेरा यस्तो रहन्छ।

ठाउँ ठाउँमा बुद्ध बचन, वाणी र पंचशिलका नयाँ तुल ब्यानर टाँसिएको छ। २ गते बिहान ११ बजे लुम्बिनी आउने मोदीलाई सुरुमा प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गर्नेछन्। त्यसपछि मायादेवी मन्दिरमा ४० मिनेट पुर्जाआर्जामा मोदीले समय बिताउनेछन्। त्यस्तै भारतीय बुद्धिस्टहरूको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम छ। मोदी २५६६ औं बुद्ध जयन्तीको मुल समारोहमा सहभागि भएपछि त्यही दिन भारत फिर्ता हुनेछन्।

५ हजार क्षमताको ध्यान केन्द्र निर्माण
बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको निर्माण पूरा भएको छ। ३ वर्षमा सम्पन्न गर्ने योजना रहेको हल ४ वर्षमा सम्पन्न भएको हो। राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना अन्तर्गत अत्याधुनिक सुविधासहितको सभा हल निर्माण गरिएको हो। उक्त हल जेठ २ बुद्ध पूर्णिमा दिन प्रधानमन्त्री शेरबहदुर देउवाले उद्घाटन गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हलबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

५ हजार सिट क्षमता भएको छाता शैलीको हलमा गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिसमेत राखी सकिएको छ। ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको छ । मेन्टेनेन्स फ्री गर्न पिलरमा समेत मोज्याक लगाइएको छ। मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो।

उद्घाटनका लागि सबै पूर्वाधार तयारी पूरा भएको निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षेत्रीले जानकारी दिए।

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेँलो रङको लोटस बनाइएको छ। भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए। यहाँ वाइफाई जोन बनाइएको छ।

वैशाख २९, २०७९ बिहीबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।