लुम्बिनीका हेभिवेट नेता एक सातादेखि जिल्लामा, यहाँ गर्दै छन् मतदान

लुम्बिनीका हेभिवेट नेता एक सातादेखि जिल्लामा, यहाँ गर्दै छन् मतदान

बुटवल : लुम्बिनी प्रदेशका ‘हेभीवेट’ नेताहरू शुक्रवार हुने निर्वाचनका लागि आ–आफ्ना गृह जिल्लामा आइपुगेका छन्। लुम्बिनी प्रदेशमा रहेका नेताहरू कतिपय सात दिन अघि नै गृह जिल्लामा छन् भने केही केही दिन अगाडि मात्रै गृह जिल्लामा आइपुगेका हुन्।

एमालेका उपाध्यक्ष विष्णु पौडेल २ सातादेखि रुपन्देहीमै छन्। उनले भोलि बुटवलको सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गर्दै छन्। गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ को ज्योति आधारभूत स्कुलमा मतदान गर्दै छन्।

कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ स्थित नेपाल राष्ट्रिय प्राविबाट मतदान गर्दै छन्। कांग्रेस नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका १ जनजागृति मावि हुँगाबाट मतदान गर्नेछन्।

यता राप्रपा नेता दीपक बोहोराले रुपन्देहीको सिनपा वडा नम्बर ३ स्थित खजहना आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन्।

एमाले महासचिवमा शङ्कर पोखरेलले दाङको तुलसीपुर १९ स्थित जनता मावि विजौरी बाट मतदान गर्ने बताइएको छ।

उपमहासचिवमा प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका ५ को बम्घा निमावि केन्द्रबाट मतदान गर्नेछन्। एमाले सचिव गोकर्ण विष्टले गुल्मीको इस्मा ४ दोहोली स्थित रामराज्य मावि र अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नपा ९ स्थित अर्घारजस्थल मावि बाट मतदान गर्दै छन्।

यसै गरी अर्का सचिव छविलाल विश्वकर्माले बुटवल ११ स्थित वाणिज्य क्याम्पसबाट मतदान गर्नेछन्। यता माओवादीका नेता कृष्णबहादुर महराले रोल्पा नगरपालिका वडा नं. १ स्थित दामरुक तारा माध्यमिक विद्यालय बाट मतदान गर्दै छन्।

अर्का नेता वर्षमान पुन, ओनसरी घर्तीले सोही नगरकै वडा नम्बर ७ माडिचौरको बाल उदय माध्यमिक विद्यालयबाट मतदान गर्नेछन्।

नेता देवेन्द्रराज कँडेलले पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका १ बाल शिक्षा निकेतन सुनसरीबाट मतदान गर्नेछन्। एकीकृत समाजवादीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारीले गुल्मीको मदाने गाउँपालिकाको म्यालपोखरी माविबाट मतदान गर्ने भएकी छन् भने अर्का नेता मेटमणि चौधरीले दाङको गढवा गाउँपालिका वडा नं १ बाट मतदान गर्नेछन्।

राप्रपाका महामन्त्री धवलशमसेर जबराले बाँकेको नेपालगन्ज १० जिल्ला बन कार्यालयको बुथबाट तथा नेता दीपक बोहोराले रुपन्देहीको सिनपा वडा नम्बर ३ स्थित खजहना आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन्।

वैशाख २९, २०७९ बिहीबार १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।