मौन अवधिमा उग्र भए दलका समर्थक, कतै पैसा बाँडेको आरोप, कतै कुटाकुट

मौन अवधिमा उग्र भए दलका समर्थक, कतै पैसा बाँडेको आरोप, कतै कुटाकुट

काठमाडौँ : निर्वाचन आयोगले तोकेको मौन अवधिमा स्थानीय तह निर्वाचनका प्रचार प्रसार रोकिए पनि एक दलले अर्को दलका समर्थकमाथि आक्रमण गर्ने र मतदाता प्रभावित पार्ने गतिविधि बढेका छन्।

कतै गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेका कार्यकर्ताबिच झडप भएका छन् त कतै गठबन्धनमै रहेका दलका समर्थकबिच झडप भएका छन्। केही स्थानमा उम्मेदवार र उम्मेदवारका समर्थक मतदाता प्रभावित पार्न पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीको नियन्त्रणमा परेका छन्।

बिहीबार प्रहरीले नेपाल मुस्लिम आयोगका अध्यक्षमाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न हिँडेको आरोप लाग्यो। जनकपुर पुगेका उनले एमालेका केही सांसदहरूसँग होटेलमा भेटघाट गरेपछि निर्वाचन प्रभावित पार्न आएको भन्दै समिम मियाँ अन्सारी बस्ने होटेल सीताशरण घेराउ भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर विमानस्थलमा लगेर छाडेको थियो।

बुधवार बुटवलमा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका बाबुराम भट्टराईकी श्रीमती उपमहानगरपालिका–११ मझुवा टोलको सुकुम्वासी बस्तीमा पैसा बाँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

सुकुम्वासी बस्तीको सिर्जना भुसालको घरमा उनलाई कांग्रेस कार्यकर्ताहरूले थुनेर राखेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले आफन्त भेट्न गएको दाबी गरेकी थिइन्।

सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका गुर्भाकोट ११ का वडा अध्यक्षका उम्मेदवार राजन बिसी पक्राउ परे। गुर्भाकोटको घुमखहरेको आँपसोती टोलमा बुधवार मध्य राति मतदाताहरूलाई पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले बिसीलाई पक्राउ गरेर आइन्दा यस्तो नगर्ने सर्तमा बिहीबार रिहा गर्यो। प्रहरीले उनको साथबाट १ लाख १२ हजार रकम फेला पारेको थियो।

झडपका घटना उस्तै

बाहिरबाट व्यक्ति बोलाएर गठबन्धनका कार्यकर्तालाई कुटाएको आरोपमा तेह्रथुमको छथर गाउँपालिकाका एमालेका वडा अध्यक्ष सहित ३ जना पक्राउ परे।

छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। उनीहरू इलाका प्रहरी कार्यालय वसन्तपुरको नियन्त्रणमा छन्।

कैलालीको गोदावरी नगरपालिका ६ मा एमालेका वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर परिवारका सदस्यमाथि खुकुरी प्रहार भयो।

खुकुरी प्रहारबाट वडाध्यक्षका उम्मेदवार चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ बिन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दीपक कठायत घाइते भए।

कांग्रेस समर्थकमाथि आक्रमणको आरोप लागेको छ। प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन।

सर्लाहीका विभिन्न स्थानमा झडपहरू भइरहेका छन्। बलरा नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताहरूबिच झडप भएको थियो। झडपमा बलरा–४ का काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिभूषण सिंह र वडा सदस्यका उम्मेदवार हरेन्द्र सहनी घाइते भए। एमाले कार्यकर्ता राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव सहनी घाइते भएका थिए।

बसबरियामा निवर्तमान अध्यक्ष तथा काङ्ग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामअयोध्या राय घाइते भए। रायलाई एमाले कार्यकर्ताले साँझ घेरेर कुटपिट गरेको कांग्रेसको दाबी छ।

धनकौलमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भयो। गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकमा कांग्रेस र माओवादीका कार्यकर्ताबिच झडप भयो। झडपमा  माओवादी केन्द्रका कार्यकर्ता बेलबहादुर गुरुङ र विष्णु भुजेल घाइते भए।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–७ मा दुई महिलाबिच चुनावको विषयमा गिलास हानाहान भयो। सिद्धिचरण नगरपालिका–२ निशंखे र वडा ७ विगुटारमा झगडा भएको थियो। मङ्गलवार सिद्धिचरण–११ का वडाध्यक्षका उम्मेदवार कांग्रेसका विनोद ताम्राकारले मतदातासँग ५ हजारको दरले मत किन्न खोजेको अडियो सार्वजनिक भएको थियो।

रामेछापको गोकुलगंगा गाउँपालिका ३ का वडा अध्यक्षका उम्मेदवार यमबहादुर कार्कीमाथि घरमै कुटपिट भएपछि उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको छ। उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्। आक्रमणमा संलग्न कोही पक्राउ परेका छैनन्।

वैशाख २९, २०७९ बिहीबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।