सेना र प्रहरीसँग पनि डराएनन् दल र समर्थक, मौन अवधिमा सञ्जालभरि प्रचार सामाग्री

सेना र प्रहरीसँग पनि डराएनन् दल र समर्थक, मौन अवधिमा सञ्जालभरि प्रचार सामाग्री

काठमाडौँ : स्थानीय तहको निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत हुनसक्ने प्रचारलाई रोक्न सेना अनि नेपाल प्रहरीले सूक्ष्म निगरानी गरिरहेको दाबी गर्यो निर्वाचन आयोगले। मङ्गलवार मध्यरातबाट मौन अवधि सुरु भयो। तर सामाजिक सञ्जाल बुस्ट गरेका सामाग्रीले भरिएका छन्।

सञ्जालमा पार्टीका नाममा पेजहरू पनि उत्तिकै सक्रिय देखिन्छन् भने उम्मेदवार अनि उनका समर्थकहरू पनि भोट माग्न सक्रिय देखिए बुधवार पनि। यसमा दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसम्मका समर्थक र पेजहरू सक्रिय देखिएका छन्।

सामाग्री बुस्ट गर्दा मिति र समय समेत निर्धारण गर्न सकिन्छ। तर उनीहरूले आयोगको संहिता उलङ्घन गर्दै मौन अवधिको समयमा समेत पेज बुस्ट गरिरहेको देखियो। कांग्रेसका उम्मेदवारहरूको प्रचारमा प्रयोग भइरहेको एनसि विनले समेत कांग्रेसका प्रचार सामाग्री बुस्ट गरिरहेको देखियो।

सामाजिक सञ्जाल सम्बन्धी अध्यता उज्ज्वल आचार्यले आफ्नो ट्विट गर्दै फेसबुकमा विभिन्न दलका २ सय भन्दा बढी प्रचार सामाग्रीहरू बुस्ट गरेर सक्रिय बनाइएको भन्दै निर्वाचन आयोगलाई मेन्सन गर्दै सामाग्रीका नमुना सहित ट्विट गरेका छन्।

त्यसमा नेपाली कांग्रेस र एमालेका सामाग्रीहरू धेरै देखिन्छ। पार्टीगत रूपमा नेपाली कांग्रेस, एमाले, माओवादी अनि एकीकृत समाजवादी सबै दलको चुनाव चिन्ह सहित फेसबुकमा पेजहरू पैसा तिरेर बुस्ट गरेको देखिन्छ। यसमा नेपाली कांग्रेसको आधिकारिक पेजै बुस्ट भइरहेको छ। नेपाली कांग्रेस नामक भेरिफाइड पेजबाट वैशाख ३० गते रुख चिन्हमा मतदान गरौँ भन्ने सन्देश र तस्बिर सहितको सामाग्री बुस्ट भइरहेको छ।

 

गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुकमा एमालेको पक्षमा चुनाव लक्षित भिडियो पोस्ट गरेका छन्। भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो पक्षको समाचार सहितको पोस्ट बुस्ट गराएकी छिन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गङ्गा दाहालले आफ्नी दिदी रेनुलाई भोट माग्दै फेसबुकमा पोस्ट गरेकी छिन्।

वैकल्पिक पनि कम छैनन्

पुराना दलका पुराना नेताले देश बिगारेको भन्दै राजनीतिक मैदानमा उत्रिएका वैकल्पिक दल दाबी गर्ने दलका उम्मेदवार अनि स्वतन्त्र उम्मेदवार अनि उनका समर्थक पनि सक्रिय छन् सामाजिक सञ्जालमा संहिता उलङ्घन गर्न।

विवेकशील साझाबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी समीक्षा बास्कोटाको सामाग्री समीक्षा फर बेटर काठमाडौँ पेजबाट मौन अवधिमा पोस्ट भएको छ।

राजनीतिमा परिवर्तनका लागि भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह आफैँ त सक्रिय देखिएका छैनन् तर उनका समर्थकहरू सामाजिक सञ्जालमा उनका लागि भोट माग्न सक्रिय छन्। त्यसमा स्थापित कलाकारहरु समेत छन्।

मौन अवधिको संहिता उलङ्घन गर्दै स्वस्तिमा खड्का, निर्मल शर्मा अनि वर्षा राउतले बालेनको सामाग्री फेसबुकमा सेयर गर्दै भोट मागेका छन्। आकाश खड्का लगायतका बालेनका समर्थकहरूले बालेनको चुनाव चिन्ह र भोट मागेको सन्देश सहितको तस्बिर राख्दै मौन अवधिमा यस्ता सामाग्री राख्न नपाइने हो र भन्दै संहिता उलङ्घन गरेका छन्।

नेपाल विवेकशील दलको समर्थन पाएका स्वतन्त्र उम्मेदवार सुशील थापाको नाममा समेत पेज बुस्ट गरेर भोट मागिएको छ। सुशील-रिंकु फर मेयर नामक पेजबाट दुबैको लागि भोट मागेको सामाग्री बुस्ट भइरहेका छन्।

दलका पुराना चुनाव प्रचारका सामाग्री रिट्विट गरेर टाइमलाइनमा ल्याउने, प्रतिक्रिया दिने अनि ट्विट कोट गरेर टाइमलाइनमा ल्याउनेहरू पनि उत्तिकै सक्रिय छन्। त्यसमा नेपाली कांग्रेस, एमाले अनि राप्रपाका वीरगन्जका मेयरका उम्मेदवार गिरीश गिरी समर्थकहरू बढी सक्रिय देखिन्छन् ट्विटरमा। गिरी आफैँ पनि पुराना सामाग्री रिट्विट गरेर टाइमलाइनमा ल्याउन सक्रिय देखिएका छन्।

वैशाख २८, २०७९ बुधबार १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।