मोदी चढ्ने गाडी लिएर भारतीय वायुसेनाको विमान आयो भैरहवा

मोदी चढ्ने गाडी लिएर भारतीय वायुसेनाको विमान आयो भैरहवा

बुटवलः आगामी जेठ २ गते नेपालको लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ। विमानमार्फत मोदीले प्रयोग गर्ने गाडी पनि भैरहवा ल्याइएको छ।

बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन्। आज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमानले एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर आएको छ।

योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान समेत बन्न पुगेको छ। विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कुटनीतिक उडान गरेको हो। दिल्लीबाट सोझै भैरहवा आएको यो विमान आजै फिर्ता हुनेछ।

यता, मोदी लुम्बिनी आउने भएपछि लुम्बिनीमा व्यापक तयारी गरिएको छ। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले अहिले हेलिप्याड निर्माणको काम भइरहेको र ५ हजार क्षमताको ध्यान केन्द्रको काम भइरहेको बताए।

बुद्धजयन्तीको दिन मोदी आउने भएपछि सुरक्षा व्यवस्थालाई समेत विशेष प्राथमिकतामा राखिएको उनले बताए।

लुम्बिनी आएर मोदी भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ। त्यसका लागि विहारसम्म पुग्ने बाटो निर्माणलाई विकास कोषले तीव्रता दिएको छ।

भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबीसी)मार्फत जर्मन स्तुपा विहार बनाउन लागेको हो। उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ।

निर्माणस्थलमा अहिले प्रहरीले सुरक्षा दिन थालेको छ। उक्त विहारको भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको अवसरमा तिलौराकोट, देवदह र लुम्बिनीमा तीन दिने कार्यक्रम गर्दैछ।

वैशाख २८, २०७९ बुधबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।