प्रचारमा पाँच दलीय मोर्चा विरुद्ध एक्लै हाबी भए ओली

प्रचारमा पाँच दलीय मोर्चा विरुद्ध एक्लै हाबी भए ओली

काठमाडौँ :  पाँच दलीय गठबन्धनको संयुक्त प्रचार अभियानमा एक्लै हाबी भए एमाले अध्यक्ष केपी शर्मा ओली। प्रदेशतहका कार्यक्रम हुन् या महानगरतहका उनी जताततै पुगे। एकै दिन पोखरा पुगेका उनी ललितपुर पनि भ्याए।

चुनाव प्रचारको अन्तिम दिन उनी मोरङ र झापाका  ५ सभा सकेर काठमाडौँको सभामा बोल्न आइपुगे। उनले भृकुटीमण्डपमा काठमाडौँका महानगर र नगरपालिकाका उम्मेदवारहरूको पक्षमा प्रचार गरेर प्रचार अभियान सक्काए। 

उनका अधिकांश सम्बोधन सत्ता गठबन्धन विरुद्ध नै केन्द्रित भयो। केही सभाहरूमा उडन्ते दाबीहरू समेत गरे। केही सभामा मित्थ्या आरोप पनि लगाए। तर निर्वाचन आयोगले पत्र नै काट्नुपर्ने गरी उनले बोलेनन्। उनले बोल्दा सामाजिक सञ्जालमा उडाउनु सामान्य नै भयो। निर्वाचनकोक्रममा पनि उनका अभिव्यक्ति मजाकको विषय बन्यो। 

गठबन्धनका नेताहरूले सभा चुनावी सभा गरे त्यही विवादमा आयो। भरतपुरको सभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देश दुर्घटनामा पर्ने चेतावनीले विवादमा आयो। काठमाडौँको सभा पाँच सय जना पनि कार्यकर्ता भेला पार्न नसकेर हाँसोको विषय बन्यो। पोखराको सभामा गठबन्धनभित्रकै दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई दम्भ नदेखाऊँ ओली बनौला भनेर चेतावनी दिएर चर्चामा ल्याए।

ओलीका सम्बोधन चर्चामा त आयो। उनको बोल्ने शैली र उनले चयन गर्ने शब्दका कारण नै उनका सम्बोधन सामाजिक सञ्जालका विषय बन्छन् नै। तर राष्ट्रिय विवादको रूप भने लिएन उनको सम्बोधनले।

पाँच दलका शीर्ष नेताहरू हुल बाँधेर चुनाव प्रचारमा जाँदा उनी एक्लै हाबी भए उनीहरूमाथि। उनीहरूले जहाँ-जहाँ सभा गरे ओली त्यही पुगेर उनीहरूको दाबी खण्डन गरे। बुटवल, चितवन, पोखरा, काठमाडौँ कतै छाडेनन् ओलीले। 

मोफसलमा सत्ता गठबन्धन विरुद्ध आक्रामक भएका ओली काठमाडौँमा भने अलि नरम देखिएका थिए। उनले दमकमा एमालेविरुद्ध ६ दल लागेको आरोप लगाए। मुलुकभर ५ दलीय गठबन्धन हुँदा दमकमा ६ दलीय बनाएर राजावादीलाई बोकेर हिँडेको उनको आरोप थियो।

‘एमालेलाई ५ दलले नसक्ने भएपछि ६ दल बनाइएको हो,’ ओलीले भने, ‘दमकमा ५ दलले पनि आँट गरेनन् र मेयरको उम्मेदवार विरुद्ध ६ दल लागे।’

उनले राप्रपासँग भएको तालमेललाई राजावादीसँग मिलेको भन्ने आरोप लगाएका थिए। तर भरतपुर महानगरपालिकामा उनले त्यही राप्रपासँग तालमेल गरेर उपमेयर दिएका छन्।

कांग्रेस र माओवादीप्रति नरम ओली

०७४ को चुनावमा ओली माओवादी विरुद्ध निकै आक्रामक देखिएका थिए। यो पाली त्यसको ठाउँ एकीकृत समाजवादीले लिएको छ। उनी माओवादीलाई पार्टीगत रूपमा धेरै गाली गरिरहेका छैनन् सार्वजनिक मञ्चमा। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने छाडेका छैनन्।

 ‘माओवादी विरुद्ध बढी आक्रामक भयो भने एमालेमा रहेका पूर्व माओवादीहरूको चित्त दुख्ने डर छ ओलीलाई, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले भने' त्यसैले उनी यो पटक माओवादीप्रति नरम भएका हुन्।'

ओलीको शैली हेर्दा पनि त्यस्तै देखिन्छ। उनी माओवादी भनेर सम्बोधन गर्नुभन्दा प्रचण्डलाई परिवारको मोह मात्र भएको नेता, छोरी नजिते दुर्घटना हुन्छ भन्दै तर्साउँदै हिँडेको भनेर व्यक्तिगत रूपमा आलोचना गरिरहेका छन्।

उनी कांग्रेसप्रति पनि त्यति आक्रामक देखिएका छैनन्। कांग्रेस डराएर अन्य दललाई बोकेर हिँडेको, लाचार भएको, आफ्नै दलका मतदातालाई समेत आफ्नै दलको चिन्हमा मत हाल्ने अधिकार नदिएको भन्दै कांग्रेसका मतादाताप्रति सहानुभूति देखाउने गरेका छन् मञ्चमा।

देउवालाई करुवाको तनाव

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय तह चुनाव प्रचारको अन्तिम दिन सोमबार गृह जिल्ला डडेलधुरा पुगे। उनको उद्देश्य थियो आफ्नै पार्टीका निवर्तमान जिल्ला सभापति कर्ण मल्ललाई काउन्टर दिने।

एमालेसँग चुनावी तालमेल गरेको सूचनाको आधारमा उनले 'पार्टी हित विपरीत काम गरेको' भन्दै मल्ललाई कारबाही गरेर पार्टीबाट निकाले।

मल्लले कांग्रेस (बिपी) को नामबाट एमालेसँग जिल्लामा तालमेल गरेर उम्मेदवारहरू उठाइदिए। तीन स्थानीय तहको प्रमुखमा आफ्ना उम्मेदवार ‘करुवा’ चिन्हमा उठाएका छन्। बाँकीमा एमालेलाई सघाएका छन्।

देउवाले मङ्गलवार मतदाता रिझाउन सुदूरपश्चिमको राजधानी डडेलधुरा सार्ने सम्मको आश्वासन दिए। अरू पार्टीमा गएकालाई फर्किन आव्हान गरे।

‘बाटो बिर्सिएर कोही जानुभएको छ, पार्टीमा फर्किनुहोस्, कांग्रेसको चिन्ह एउटै हो–रुख, करुवा, सरुवालाई केही चिन्दैन,’ देउवाले भने। उनले आफू डडेलधुराकै मान्छे रहेकाले झुट बोलेर कहाँ जाने भन्दै मतदाता रिझाउने प्रयास गरेका थिए।

मल्ल प्रभावबारे देउवा जानकार छन् नै। उनलाई उनकै श्रीमती तथा कांग्रेस नेतृ आरजु देउवाले साथ दिँदै आएकी थिइन्। तर स्थानीय तहमा मल्लले देउवा दम्पत्तिलाई नै तनाव दिए।

मल्लको प्रभावका कारण पार्टीका उम्मेदवार हार्ने भयले केही दिन अगाडि राणा जिल्लामा गएर मल्ल पक्षका उम्मेदवारले जिते गाउँपालिकाको बजेट नै रोकिदिने चेतावनी दिएर विवादमा आइन्।

राणाले गएको बिहीबार डडेलधुरा पुगेर बेरोजगार युवालाई मलेसिया पठाइदिने भन्दै करुवामा भोट हाल्न नजान गरेको आग्रह पनि विवादमा आयो।

‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ ?,’ उनले भनेकी थिइन्, ‘यो कुरा ध्यान दिएर करुवा–सरुवा, हरुवा पार्टीलाई भोट नहाल्नुस्’ उनले भनेकी थिइन्।

आरजुले मात्र माहौल पार्टीको पक्षमा ल्याउन नसकेको रिपोर्टिङ भएपछि देउवा आफैँ पुगे जिल्लामा। उनले आफ्नै पूर्व कार्यकर्ताको नामै लिएर फलानोमा मत नहालौँ भन्न बाध्य भए।

सोमबार देउवाले ‘मल्ललाई आफूपछिको नेता बनाउन खोजे पनि उनले नबुझेको’ भन्दै मल्ल पक्षको मत तान्न इमोशनल ब्ल्याकमेल समेत गरे।

आक्रोशित देखिएका देउवाले गृहनगर गन्यापधुरामा पुगेर ‘मल्ल ओलीको चाकडी गर्न पुगेको’ आरोप समेत लगाए।

मल्ल भने पार्टी सभापतिले नै आफूलाई बाध्य बनाएको दाबी गर्छन्।

‘मलाई दुई–दुई पटक पार्टीबाट निकालियो। नेता बनाउन खोजेको भए उहाँले किन त्यसो गर्नुहुन्थ्यो, ?’ मल्लले भने, ‘यो सबै झुट र भ्रमको खेती हो। दुई पटक पार्टी सभापति हुनबाट रोक्नुभयो। तरुण दलमा पनि रोक्नुभयो।’

प्रचण्डको धपेडी उस्तै

चितवनमा कांग्रेसी मतदाताले रेनु दाहाललाई मत नदिए देश दुर्घटना पर्न सक्ने अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्ड मङ्गलवार अन्तिम चुनावी सभाका लागि मधेस पुगे।

चितवनको भनाइको आशय गठबन्धन असफल नहोस् भन्ने रहेको भन्दै आफ्नो बचाउमा लागेका प्रचण्डले कैलालीमा गठबन्धनविरुद्ध उभिएका माओवादी उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका थिए सोमबार।

‘गठबन्धन अझै प्रस्ट भइसकेको छैन। हामी विरुद्ध धोका, बेइमानी, षड्यन्त्र हुनसक्छ, त्यो स्वीकार्य छैन। माओवादीको उम्मेदवार जो जसरी उठेको भए पनि जिताउनुहोला,’ प्रचण्डको भनाइ थियो।

गृहनगर चितवनको नतिजामा प्रचण्ड कन्फिडेन्ट देखिएका छैनन्। बरु एकीकृत समाजवादीले मेयर पाएको पोखरा महानगरपालिकामा कांग्रेसको बागी उम्मेदवार सोमबार ब्याक भइसके।

तर भरपुरमा भने कांग्रेसका बागी जगन्नाथ पौडेल थप आक्रामक प्रचारमा खटिए मङ्गलवार। त्यसैको प्रभावले उनी अन्य स्थानीय तहका पार्टीका उम्मेदवारहरूलाई मत माग्न आफैँ डुलिरहेका छन्।

माधव नेपालको दौडधुप

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडाहा पनि कम छैन। कांग्रेसको असन्तुष्टिका बिच पनि पोखरा महानगरपालिकामा मेयर आफ्नो पार्टीमा पारेर उम्मेदवार उठाएका उनी सोमबार दिउसोसम्म सशङ्कित थिए। तर बेलुका कांग्रेसको बागी बनेका उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाउँदै समर्थनको विज्ञप्ति निकालेपछि राहत पाएका छन्।

एमालेलाई देखाउने मुडमा रहेका उनले पनि मञ्चमा ओलीलाई नै टार्गेट गर्ने गरेका छन्। 

समाजवादी छाँयामा

जनता समाजवादीका नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादवमा त्यत्ति धेरै दौडधुप देखिएन। बाबुराम गोरखाको पालुङटारलाई प्रतिष्ठाको विषय बनाएर खटिएका छन्। कांग्रेससँग गठबन्धन हुन नसकेपछि मङ्गलवार मात्र पालुङटारमा उनले एमालेसँग गठबन्धन गरेका छन्।

मङ्गलवार बेलुका १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले चुनावी दौडधुपबाट शीर्ष नेताहरूले राहत पाउनेछन्। तर आन्तरिक जोडघटाउँ र चलखेलबाट भने आराम पाउने छैनन् अझैँ। 

वैशाख २७, २०७९ मंगलबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।