ठुस्स केशव, दङ्ग सुनिता

काठमाडौँ : उम्मेदवारीको प्रचारप्रसारको आज अन्तिम दिन स्थानीय तहमा उम्मेदवारी दिएका सबै दलका नेता, कार्यकर्ता अनि उम्मेदवार अन्तिम जोड बलमा जुटे। शीर्ष नेताहरू सभामा सहभागी हुने दौडधुपमा देखिए भने स्थानीय नेताहरू स्थानीय उम्मेदवारहरूलाई रिझाउन घर-दैलो र सभामा सहभागी भए।
उकेराकर्मीको यस्तै एक सभासँग जम्काभेट भयो। सभा थियो एमालेको। यौन दुर्व्यवहारको आरोप अनि आर्यघाट पुग्दा मरुमरु लाग्ने बनाउँछु जस्ता हाउडे अभिव्यक्ति दिएर विवादमा आएका एमाले मेयर उम्मेदवार केशव स्थापित अनि पहिला आफैँ मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर घोषणा पत्र समेत जारी गरेर पछि एमालेले टिकट दिएपछि लुसुक्क एमालेमा गएर 'स्वतन्त्र उम्मेदवार काम छैन' भन्ने सुनिता डङ्गोलका लागि सभाको आयोजना गरिएको थियो।
कार्यक्रममा अष्टलक्ष्मी शाक्य लगायतका केन्द्रीय तहका नेताहरू समेत थिए। सभामा सहभागीहरू नाचगानमा रमाइरहेका थिए। केहीले पार्टीको झन्डासँगै नेपालको राष्ट्रिय झन्डा समेत बोकेका थिए।
काठमाडौँमा एमालेबाट स्थापित र डङ्गोल उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट मेयरमा सिर्जना सिंह र एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठ उप मेयरको उम्मेदवार छन्।
चहलपहल र चर्चामा स्थापित र सिंह बराबर देखिए पनि उपमेयरमा पनि श्रेष्ठभन्दा डङ्गोल अगाडि देखिएकी छिन्। सायद त्यसैले हो कि एमाले सभामा स्थापित ठुस्स परेको देखिए भने डङ्गोल हँसिली देखिइन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले समेत चुनौती दिइरहेका छन्। तर उपमेयरका स्वतन्त्र उम्मेदवारहरूले साहको जसरी चुनौती दिन सकेका छैनन्। साहको समूहबाट उनी एक्ला उम्मेदवार हुन्। अन्य उम्मेदवार छैनन्।
वैशाख २७, २०७९ मंगलबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।