राजीनामा दिएर वडा अध्यक्षको उम्मेदवार बनेका व्यक्तिलाई निर्वाचनको जिम्मा
बुटवल : स्थानीय तह निर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालय सिद्धार्थनर रुपन्देहीले निर्वाचनको लागि कर्मचारी खटाउँदा गम्भीर त्रृटी गरेको पाइएको छ। केही समय पहिले राजीनामा दिएर वडा अध्यक्षका उम्मेदवार बनेका व्यक्तिलाई निर्वाचनमा सहायक कर्मचारीको रूपमा खटाएको पाइएको हो।
मुख्य निर्वाचन अधिकृत धन सिंह महराद्वारा हस्ताक्षरित कर्मचारी मतदाता केन्द्रमा खटाइएको जानकारीको पत्रमा सैनामैना नगरापलिका वडा नम्बर ८ का महेश अधिकारीलाई लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गत रहेको गोलाह नरेन्द्रपुरी मसिनाबाबा मा.वि. विचौवापुर (क) केन्द्रमा सहायक कर्मचारीको रूपमा खटाइएको हो।
उनी सैनामैना नगरपालिकामा सहायक स्तर पाँचौँ तहमा करारमा कम्प्युटर अपरेटरको रूपमा कार्यरत थिए। उक्त मतदान केन्द्रमा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका अधिकृत स्तर छैठौँ तहका नरेन्द्र पौडेल मतदान अधिकृत रूपमा खटाइएको छ। निर्वाचन कार्यालयले केही महिना पहिला पठाइएको पत्रको आधारमा कर्मचारी खटाउँदा समस्या आएको हो।
रुपन्देहीको सैनामैना–८ का ३० वर्षीय युवा महेश अधिकारीले करारको कम्प्युटर अपरेटरको जागिर छाडेर राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अध्यक्षमा उम्मेदवारी दिएका छन्। रामापुर माविमा ३ वर्ष शिक्षक रहेका उनी २ वर्षदेखि नगरपालिकाको कार्यालयमा कम्प्युटर अपरेटरको जागिरमा थिए।
निर्वाचन कार्यालय भैरहवाले केही समय पहिला प्राप्त भएको लिस्टको आधारमा जिम्मेवारी दिइएको भन्दै अधिकारीको नाम हटाएर उनको ठाउँमा अर्को कर्मचारी खटाइने जानकारी दिए।
वैशाख २६, २०७९ सोमबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।