खानेपानीको उपभोक्तालाई कांग्रेसमा मत माग्दै पत्राचार

खानेपानीको उपभोक्तालाई कांग्रेसमा मत माग्दै पत्राचार

बुटवल : बुटवलमा खानेपानी उपभोक्ताहरूलाई रुख चिन्हमा मतदान गर्न भन्दै आचारसंहिता विपरीत पत्राचार गरिएको पत्र फेला परेको छ। कांग्रेसबाट बुटवल ११ का अध्यक्ष जितबहादुर मल्लले उपभोक्ताहरूलाई पार्टी जुनसुकै भए पनि रुख चिन्हमा मतदान गरेर आफूलाई जिताउन अपिल गर्दै पत्राचार गरेका हुन्।

उनी प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हुन्। आफू २०६२ सालदेखि खटिरहेको बताउँदै उपभोक्ताहरूलाई मत माग्दै उनले पत्राचार गरेका हुन्। सो खानेपानी संस्थामा १ हजार ५ सय उपभोक्ता छन्।

उपभोक्ताका घरघरमा पत्र पुगेपछि स्थानीयले सोमबार निर्वाचन आयोगमा उजुरी गरेका छन्। उजुरी परेपछि निर्वाचन कार्यालय बुटवलले कांग्रेस उम्मेदवारहरूलाई गल्ती सच्चाउन मौखिक चेतावनी दिएको छ।

निर्वाचन कार्यालय बुटवलका प्रमुख लेखनाथ पौडेलले उम्मेदवारले खानेपानीको उपभोक्तालाई अध्यक्षको हैसियतमा रुख चिन्हमा मतदान गर्दै मत माग्दै पत्राचार गर्नु आचारसंहिताको उलङ्घन भएको बताए।

उनले मेयरका उम्मेदवार खेलराज पाण्डे र वडाध्यक्षका उम्मेदवार जितबहादुर मल्ललाई फोन मार्फत गल्ती सच्चाउन र आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिएको बताए।

वैशाख २६, २०७९ सोमबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।