रुपन्देहीमा उम्मेदवारका एजेण्डाः सुशासनयुक्त स्थानीय तह देखि निःशुल्क शिक्षा सम्म

रुपन्देहीमा उम्मेदवारका एजेण्डाः सुशासनयुक्त स्थानीय तह देखि निःशुल्क शिक्षा सम्म

बुटवल : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले चुनावी अभियानलाई तीव्रता साथ अगाडी बढाएका छन्। स्थानीय पालिकालाई भ्रष्टाचारमुक्त गर्दै सुशासन युक्त पालिका बनाउने देखि निःशुल्क शिक्षा र आधारभूत स्वास्थ्यका विषय मुख्यतः उम्मेदवारका एजेण्डा बनेका छन्। त्यस बाहेक बढी जोडतोडले उम्मेदवारहरूले भूमिहीनलाई लालपुर्जा दिने एजेन्डालाई पनि प्राथमिकतामा राखेका छन्।

प्रतिबद्धता पत्र, घोषणा पत्र सार्वजनिक गरेका दलहरूले कतिपय मुद्दा साँझ ढंगले अघि सारेका छन्। केही अधिकार क्षेत्र भन्दा बाहिरका योजना प्रतिबद्धतामा समावेश गरेका दलहरूले कतिपय साँझ एजेण्डा पनि बनाएका छन्।

केही सुन्दा र हेर्दा अपत्यारिलो लाग्ने खालका समेत प्रतिबद्धता उम्मेदवारले बनाएका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर १५ भौतिक पूर्वाधार तर्फ मुक्तिधाम घाट व्यवस्थित र आकर्षण तवरले दाहसंस्कार मलामी गृह निर्माण गरिने एमालेले चुनावी प्रतिबद्धता जनाएको छ। नेपाली काग्रेसले पनि मुक्तिघाट मा व्यवस्थित शवदाह गृह निर्माण गरिने, मलामी गृह बनाउने, शववाहन गाडीको व्यवस्था गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

यस्तै एमालेको प्रतिबद्धता पत्रमा दानव नदीबाट भइरहेको कटान क्षेत्र व्यवस्थापन गर्नको लागि १४ को सिमा देखि १६ को सिमा सम्म तटबन्ध व्यवस्थापन गर्ने उल्लेख छ भने काग्रेसको प्रतिबद्धता पत्रमा पनि  दानव नदी कटान क्षेत्रलाई तटबन्ध गरिने उल्लेख छ। 

बुटवल उप-महानगरपालिकामा खेलमैदान निर्माण स्तर उन्नति, कृषि यान्त्रीकरण, बजारीकरण,  निःशुल्क स्वास्थ्य शिविर, वडामा नगर बस सञ्चालन लगायतका मुद्दा साझा छन्। बुटवल उपमहानगरपालिकामा नेकपा एमालेबाट जारी गरिएको प्रतिबद्धता पत्रमा ‘अव्यवस्थित तथा भूमिहिन बसोबास आयोग’ गठन गरी प्रत्येक भूमिहिन, घरवार विहिनहरुलाई व्यवस्थित घडेरी उपलब्ध गराई बसोबासको प्रबद्र्धन गर्ने उल्लेख छ। भने नेपाली कांग्रेस सहितको गठबन्धनले पनि सोही मुद्दामा सकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

बुटवलको खानेपानी समस्या समाधानको लागि स्वच्छ खानेपानी उपलब्ध गराउने, ढल निकासका एजेण्डा पनि नेपाली कांग्रेस, एमालेले साँझ मुद्दाको रूपमा अघि सारेका छन्। मुख्य दलहरू मात्र साना दलका चुनावी एजेण्डा एमाले, कांग्रेसका भन्दा कम छैनन्। राष्ट्रिय जनमोर्चाले बुटवलमा जारी गरेको प्रतिबद्धता पत्रमा स्थानीय पालिका सबै वडामा पक्की सडक, सबै वडामा स्वास्थ्य सेवा, नगरमा रहेका उपेक्षित उत्पीडित र पिछडिएको वर्ग समुदायको हितका लागि विशेष सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। 

दलले साँझ प्रतिबद्धता बाहेक अरू हेर्दा पनि नेपालमा ३० वैशाख पछि ‘कायापलट’ हुने गरी प्रतिबद्धता जनाइएका छन्। सफा, सुग्घर र जिल्ला सडक बिजुली बत्तीले झलमल्ल गाउँ, गाउँमै उद्योग र कलकारखाना, जागिरको खोजीमा बाहिर जानै नपर्ने, रासायनिक पदार्थ नहालिएका खानाले गर्दा स्वस्थ शरीर, रोगव्याधी लागि हालेमा घरमै उपचार,सन्ततिलाई निःशुल्क र स्तरीय शिक्षा भूमिहीनलाई हातहातमै लालपूर्जा, कर कम तिर्नु पर्ने आदि इत्यादि एजेण्डा उम्मेदवारका छन्।

जनतालाई घरघरमै सुविधा दिने तर कर घटाउने चुनावी एजेण्डा प्रस्तुत गरेका दलले त्यस्ता काम कुन स्रोतबाट रकम ल्याएर बाचा पुरा गर्लान? यो विषयमा भने प्रतिबद्धता पत्र मौन छ। तिलोत्तमा नगरपालिकाले वार्षिक २ अर्ब हाराहारी मात्रै स्रोत भएको नगरपालिका हो। तर त्यहाँ एमाले कांग्रेसले जारी गरेको प्रतिबद्धता कसरी पुरा गर्छन् प्रतिबद्धता पत्र नै शंका लाग्दो छ।

एमालेले करको दायरा फराकिलो बनाई योभन्दा अगाडीको तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइने प्रतिबद्धता जनाएको छ। कांग्रेस र माओवादीको प्रतिबद्धतामा त नगरपालिकालाई नै कर मुक्त बनाउने बाचा गरेको छ। तर यो काम कसरी हुन्छ भनेर उम्मेदवारहरूले प्रस्ट्याएका छैनन।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहायक प्राध्यापक बैकुण्ठ पाण्डे नगरपालिकालाई ‘करमुक्त’ बनाउने कुरा त परै जावस करमा आधा छुट दिन्छु भन्ने कुरासमेत व्यवहारिक नभएको बताउँछन्। बुटवल उप–महानगरपालिमा एमालेले तिनाउ खोलाको तट बाँधेर जल पर्यटन सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ। बर्खामा बाढी आउने, हिउँद लागेपछि पानी सुक्ने तिनाउ खोलामा जल पर्यटन विकास गर्ने कुरा अपत्यारिलो छ।

बुटवलमा पाँच दलीय गठबन्धनले निकालेको संकल्प पत्रमा सार्वजनिक सेवालाई फेसलस, पेपरलेस र क्यु फ्रि (लाइनमूक्त) बनाई होम डेलिभरी गरिने घोषणा गरेका छन्। तिलोत्तमा जनमुक्ती पार्टीले पाँच वर्षभित्र हरेक घरमा कालोपत्रे सडक पुर्याउने अपत्यारिलो प्रतिबद्धता व्यक्त गरेको छ। नगरमा ट्रली बस सञ्चालन गर्ने प्रतिबद्धता पनि उत्तिकै हास्यास्पद लाग्छ।

वैशाख २६, २०७९ सोमबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।