आफ्नै आयुको 'प्रमाण' बोकेर हिँडेका एक भिक्षुको अनौठो प्रेम-कहानी
रातो कपडाले ढाकेको शरीर। टाउकोमा क्याक्टसको काँडा जस्तो चुस्स-चुस्स सेतो कपाल। बुढेसकाल लागेको प्रमाण दिने चाउरिएको निधार। उनी हुन्, ७७ वर्षीय लामा (भिक्षु) गुरु पेमा ग्याल्जे शेर्पा।
आजकल पूजा र त्यससँग सम्बन्धित सम्पूर्ण कामबाट फुर्सद भयो कि अहिलेसम्म आफूले गर्न नसकेको कामबारे चिन्तित भइरहन्छन् उनी।
उनले गर्न नसकेको त्यो काम भनेको ओखलढुंगामा निर्माणाधीन अवस्थामा रहेको एउटा गुम्बा हो। त्यस गुम्बासँग गुरुको यादहरु जोडिएका कारण पनि आफ्ना लागि यो विशेष बनेको शेर्पाले बताए।
सो गुम्बाको निर्माण कार्य अहिले तेस्रो पटक भइरहेको छ। २०४५ सालमा भूकम्पले क्षतिग्रस्त भएको गुम्बा पुनर्निर्माण भएपछि २०७२ सालको भूकम्पबाट पनि क्षतिग्रस्त हुन पुग्यो। त्यसपछि भने अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन।
शेर्पा लामा भएर बसेको ७ दशक कटिसकेको छ। ओखलढुंगाको देउरालीमा जन्मिएका उनले कुनै औपचारिक शिक्षा हासिल गर्न भने पाएनन्।
७ वर्षको उमेरमा गुम्बामा पढ्न जाँदा…
बौद्ध धर्म मान्ने पारिवारिक पृष्ठभूमिका कारण शेर्पाले सानैमा घरमा हुने पूजा-पाठ तथा अन्य विभिन्न कार्यमा लामाहरुको क्रियाकलाप नजिकबाट नियाल्ने मौका पाए।
एक दिन घरमा पूजा भइरहेको थियो। उनी लामाहरुको नजिक गएर उनीहरुले पढेको हेर्न थाले। तर ती लामाहरुले त्यहाँबाट धपाइदिए। त्यो व्यवहार देखेर उनलाई निकै रिस उठ्यो र कराउँदै तिमीहरुको घेवा (किरिया) मा म आफैं यो पढ्छु भनेर अगाडिको किताबतिर देखाए।
सानोमा निकै चकचके स्वभावका शेर्पालाई आफ्नो गाउँमा विद्यालय नभएको कारण सोलुमा पढ्न पठाइयो। त्यति बेला आफू जम्मा ७ वर्षको भएको भन्दै अब आफूले पनि ती लामाहरु जसरी नै पढ्न पाउँछु भन्ने सोचेर निकै उत्साहित भएको बताए।
'रहरले पढेको होइन मैले। रिसले पढेको हो,’ उनी भन्छन्, 'त्यही भएर पनि होला म त अर्को जिल्लामा गएर पढ्नु पर्दा पनि खुसी पो थिएँ।’
चिवंग गुम्बामा बस्न थालेको १० दिनपछि नै उनी त्यहाँको भान्सामा चिया पकाउने कुक भए। त्यसपछि शेर्पा कक्षामा बसेर पढ्न थाले। त्यही बेलामा उनले केही नेपाली अक्षर पनि चिने।
उनी ११ वर्षको हुँदा एक दिन अचानक गुरुले नुहाइ-धुहाइ गर भन्दै नयाँ कपडा लगाउन दिए। त्यस दिन आफूलाई कुनै पनि काम नलगाएको पनि उनी सम्झिन्छन्।
'कपडा लगाएर तयार भइसकेको थिएँ। तर अब कहाँ जाने, के गर्ने केही थाहा थिएन। त्यसपछि मलाई बाहिर बोलाइयो। बाहिर सबै जना हातमा खादा लिएर बसिरहेका रहेछन्। अगाडि एउटा पिर्का जस्तो पनि राखेको रहेछ,’ उनी भन्छन्, 'पछि पो थाहा पाएँ, म फर्स्ट भएको रहेछु। मलाई बधाई दिनको लागि सबै जना खादा बोकेर बसेका रहेछन्।’
त्यहाँ बसेर सबै गुरुको माया पाउँदा दङ्ग परेका उनलाई गुम्बामा रमाइलो लागिरहेको थियो। उनले १५ वर्षमै गुम्बाको १० कक्षा पास पनि गरे।
गाउँमा आफ्नै गुम्बा
पढ्दै पढाउँदै गर्न थालेका शेर्पा २२ वर्षपछि गुम्बाको पढाइ सकेर आफ्नै गाउँ पर्किए। गाउँ फर्किंदा आमाले एउटा केटी हेरेर राखेको उनले थाहा पाए। केही समयपछि भने उनको विवाह नै भयो। तर वैवाहिक सम्बन्ध लामो समय टिकेन र अलग्गै भएर बस्न थाले।
उनी आफ्नो सिप र पढाइका कारण गाउँकै ठूलो लामाको रुपमा परिचित हुन सके। हरेक पूजामा उनैलाई बोलाउन थालियो। ३२ सालमा भने उनले ओखलढुंगा आफ्नै गुम्बाको स्थापना समेत गरे र त्यहाँको प्रमुख भएर बसे।
आफू गुम्बाबाट निस्किँदा गुरुले एउटा सानो भए पनि शिक्षा दिने ठाउँ बनाउनु भनेको कारण आफूले गुम्बा स्थापना गरेको उनको भनाइ छ। आफूसँग भएको पैसा र ऋण लिएर बनाएको गुम्बा स्थापना भएको सालमै ३२ जना लामाहरु पढ्न आएको उनलाई अहिले पनि याद छ।
आसाम, बैंगलोर, भुटान र चीनसम्म यात्रा गरिसकेका उनलाई कोरिया र अष्ट्रेलियाको गुम्बामा बस्नको लागि प्रस्ताव पनि नाएको होइन। तर उनी आफ्नै गुम्बा 'उर्गेन छ्योलिङ’ मा बस्न चाहन्थे। त्यसैले ती सबै प्रस्ताव अस्वीकार गरे।
आफू योग्य हुनु नै सबैभन्दा ठूलो कुरा भएको बताउने शेर्पा आफूले बौद्ध धर्मावलम्बीमा हुने प्राय: सबै किसिमका पूजा गर्ने गरेको बताउँछन्। उनले शेर्पा संघ समितिको केन्द्रीय सदस्य भएर पनि काम गरिसकेका छन्। ओखलढुंगा, रामेछाप, शंखुवासभा र सोलुखुम्बुमा समेत उनी चिरपरिचित लामा हुन्।
दोस्रो विवाह
२०६३ सालदेखि परिवारका साथ काठमाडौँमै बस्दै आएका शेर्पाले दोस्रो विवाह गर्नुको कारण भने अलि अनौठो नै रहेछ।
'उनलाई अगाडिदेखि नै देखिरहेको थिएँ। तर जिरीमा बोल्ने मौका मिल्यो। जिरीमा पूजाको लागि जाँदा उनीसँग फोटो पनि खिचाइयो। र, त्यो फोटो दुवै जनाले एक-एक वटा राख्यौं,' उनी हल्का मुस्कुराए।
'फोटो चाहिँ उनकै हातमा दिनुपर्ने रहेछ। मैले त उनको आमाको हातमा छाडेको थिएँ। गाउँभरि हल्ला चलिहाल्यो नि यिनीहरुबीच केही चलिरहेको छ भनेर। त्यसपछि हामीले विवाह गर्यौं,’ विवाह गर्नुपरेको कारण खोले शेर्पाले।
दोस्रो विवाह गर्दा आफ्नो उमेर ५६ वर्षको रहेको उनले बताए। उनी अहिले पनि विभिन्न जिल्लामा पूजाको लागि पुगिरहेका हुन्छन्। जिन्दगी नै बौद्ध धर्ममा बिताएको कारण शेर्पालाई अब जसरी भए पनि सो गुम्बा बनाउनु छ।
अन्तिम चार वर्ष
आफ्नो आयुको प्रमाण नै बोकेर हिँडेका छन् भिक्षु शेर्पा। चिनामा आफ्नो आयु ८२ वर्ष रहेको बताउने उनलाई आफू बाँचुन्जेल गुम्बा नबन्ने हो कि भन्ने शंका पनि छ। स्वास्थ्यले साथ दिए ८२ वर्षसम्म पूजा-पाठ गरेर नै बस्ने उनको योजना छ।
शेर्पा भन्छन्, 'अब मेरो आयु अन्तिम चार वर्ष छ। त्योभन्दा बढी त चिनामै छैन, म कसरी भनुँ! त्यत्तिका समय मैले यसै क्षेत्रमा समय बिताएँ/रमाएँ। अब अहिले आएर के नयाँ गर्नु।’
तर, उनलाई जिन्दगीदेखि केही गुनासो छैन। मृत्यु नजिक आए पनि डर नलागेको बताउँछन्। भन्छन्, 'मर्ने भनेको त के हो र? सक्किने हैन नि। अब झन् नयाँ लोकमा प्रवेश गर्ने हो। नयाँ सुरुवात हुने हो। त्यसैले म अबको केही समय पनि एउटा साधारण व्यक्ति नै भएर बाँच्न चाहन्छु।’
मर्ने बेलामा मान्छे खाली हात जान्छ भन्ने कुरामा उनी असहमति जनाउँछन्। उनका अनुसार मान्छेले मर्ने बेलामा एउटा चिज लिएर जान्छ त्यो हो, उसको आफ्नो छाया।
शेर्पा भन्छन्, 'अहिले मलाई तपाईंले देखिरहनुभएको छ तर कुनै दिन सपनामा देख्नु भयो भने त्यो साँच्चिकै जस्तो लाग्न सक्छ। भोलि म परलोक भएपछि पनि सपनामा त्यसरी नै देखिरहन सक्छ। त्यतिखेर त्यो सपना हो जस्तो लाग्दैन। यो सब भनेको सम्झना मात्र हो। जिन्दगी भनेको याद र सम्झनाहरु हुन्। अहिले म तपाईंसँग बोलिरहेको छु। केही छिनपछि यो सम्झना भइसक्ने छ। अहिले जे भइरहेको छ र जे सम्झना हुन्छ त्यत्ति नै रहेछ जिन्दगी।’
वैशाख २६, २०७९ सोमबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।