गठबन्धन हारे दुर्घटना हुन्छ भन्ने प्रचण्ड कैलाली पुगेर बागीको पक्षमा भोट मागे
धनगढी : चितवनको भरतपुरमा आयोजित सभामा गठबन्धनको उम्मेदवारले हारे देश दुर्घटनामा जाने चेतावनी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलालीको कैलारी गाउँपालिकामा भने गठबन्धनको बागी उम्मेदवारको पक्षमा खुलेका छन्।
भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी आफ्नी छोरी रेनु दाहालविरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी परेपछि गठबन्धन हारे दुर्घटना देख्ने प्रचण्ड कैलालीको कैलारी गाउँपालिकामा भने गठबन्धनको सहमति विपरीत नेपाली कांग्रेसको भागमा परेको उपाध्यक्षमा बागी दिएकी उम्मेदवारको पक्षमा लागेका हुन्।
अध्यक्षका माओवादीका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षमा पनि माओवादीबाटै लक्ष्मी सत्गैया (चौधरी) ले उम्मेदवारी दिएका छन्। सहमति अनुसार अध्यक्ष माओवादी अनि उपाध्यक्षमा कांग्रेसबाट भगवती चौधरीको उम्मेदवारी परेको छ।
लक्ष्मी माओवादीको बागी उम्मेदवार हुन्। उनले बागीलाई समेत मञ्चमा राखेर उनको पक्षमा सोमबार भोट मागेका थिए। कार्यक्रममा प्रचण्डले गठबन्धन गर्नु भनेको झुक्नु नभएको भन्दै सबैलाई आफ्नो पार्टीको उम्मेदवारलाई मत हाल्न आग्रह गरे।
उनले अब मतदान गर्ने दिन पाँच दिन पनि बाँकी नभएको भन्दै भने 'गठबन्धन क्लियर भएको छैन। हाम्रो पार्टीका उम्मेदवार जसरी अगाडि आए पनि बहुमतले जिताउन अपिल गर्दछु।'
यस अगाडि माओवादी केन्द्रले नै लक्ष्मी पार्टीको निर्णयविरुद्ध गएको भन्दै कारबाही गरेको थियो। सभामा प्रचण्डले गठबन्धनमा धोका हुनसक्ने भन्दै यदि धोका भएमा सह्य नहुने चेतावनी दिएका थिए। तर कार्यक्रममा बागीको मत मागेर उनैले गठबन्धनलाई धोका दिइरहेका थिए।
उनले अहिले फरक अवस्थामा निर्वाचन हुन गइरहेको बताएका थिए। उनले कैलारीमा ६९ जनाले ज्यान गुमाएर लोकतान्त्रिक गणतन्त्र आएको भन्दै मत मागेका थिए।
वैशाख २६, २०७९ सोमबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।